प्रधानमन्त्री पद जोगाउन अध्यक्षबाट राजीनामा गर्न ओलीमाथि आफ्नै समूहको चर्को दबाब, त्यसमा उनी लचक

प्रधानमन्त्री पद जोगाउन अध्यक्षबाट राजीनामा गर्न ओलीमाथि आफ्नै समूहको चर्को दबाब, त्यसमा उनी लचक
+
-

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत असन्तुष्ट नेताहरु आफ्नो अडानमा चट्टान जस्तै उभिन थालेपछि केपी शर्मा ओलीमाथि प्रधानमन्त्री पद जोगाउने शर्तमा पार्टी अध्यक्षबाट राजीनामा दिन आफ्नै समूहबाट चर्को दबाब परेको छ।

र, त्यो अहिलेको परिस्थितिमा उत्तम विकल्प हुन सक्ने निष्कर्षमा ओली पनि पुगेको ओली निकट एक प्रभावशाली नेताले देशसञ्चारलाई जानकारी दिए।

तर अध्यक्ष पद छोड्दा प्रचण्ड पक्षले प्रधानमन्त्रीबाट पनि ओलीलाई हटाउन खोजेको खण्डमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा टुक्राउने अर्को तयारी ओली पक्षमा भएको छ।

ओलीले बुधबार बालुवाटारमा आफ्नो गुटको मात्रै बैठक आव्हान गरेका थिए। र, लामो समय चलेको उक्त बैठकका नेताहरुले यी दुई विकल्पमा दरिलो गरि उभिन ओलीलाई दबाब दिएका हुन्।

प्रचण्डलाई मनाउने प्रयास विफल हुनथालेपछि ओलीले आफू निकट नेताहरुलाई बोलाएर अन्तिम विकल्पबारे छलफल गरेका हुन्।

‘सरकारबाट कुनै पनि हालतमा नहट्ने, लचकता अपनाउनु पर्ने अवस्था आएको खण्डमा पार्टी अध्यक्षबाट हट्नुपर्ने दबाब हामीले दिएका छौँ। तर प्रधानमन्त्रीबाट पनि ओलीलाई हटाउने कोशिस भएमा अध्यादेश ल्याउनु पर्ने भनेका छौँ। प्रधानमन्त्री ओली यसमा सकारात्मक हुनुहुन्छ। तर यो बीचमा सहमतिको प्रयास भने रोकिन्न,’ बैठकमा सामेल ती नेताले भने।

ती नेताका अनुसार प्रचण्डले व्यवस्थित पार्टी पूर्वएमालेलाई तहसनहस बनाउने ‘मिसन’मा लागेका छन् र उनको पक्षमा रहेका चार जना उच्च नेता स्थायी कमिटी बैठकको एजेण्डा ‘पार्टीको आन्तरिक समस्या’ भनेर त्यसअन्तर्गत ओली र प्रचण्ड दुवैका प्रस्ताव माथिको छलफल पनि गर्न पर्ने भन्दै बैठकबाटै ओलीलाई दुवै पदबाट हटाउने तयारीमा छन्।

प्रचण्ड पक्षका एक सचिवालय सदस्यले बिहीबार देशसञ्चारसँग भने,‘हाललाई हामीले स्थायी कमिटी बैठकको एजेण्डा दुवै अध्यक्षको प्रस्तावमाथि मात्रै छलफल भनेर राखेनौँ। बरु त्यो पनि समावेश हुनेगरी साझा एजेण्डाका रुपमा ‘पार्टीको आन्तरिक समस्यामाथि छलफल’ भनेका हौँ। त्यसमा दुवै अध्यक्षका दस्तावेज, पत्रहरु, एमसीसी, पार्टी एकतालगायत सबै विषय पर्छन्। ती सबै विषयमाथि छलफल हुन्छ। त्यसमा कुनै सम्झौता हुन्न। पार्टीले उपयुक्त निर्णय गर्छ। निर्णय सबैले मान्नुपर्छ।’

ती सदस्यका अनुसार पार्टी बैठकले बहुमतका साथ ओलीलाई हटाउने निर्णय पनि गर्न सक्छ या ओलीले लचकता प्रदर्शन गरेमा बैठक पनि लचिलो बन्न सक्छ। पार्टी कमिटी निर्णय सर्वदलीय निर्णय भएको ती नेताको भनाई छ।

तर ओली पक्षले ओलीलाई अप्रमाणित फौजदारी किसिमको आरोप लगाइएको प्रचण्डको प्रस्तावमाथि स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने र त्यो प्रस्तावमाथि छलफल गर्ने अवस्था आएमा ओली सहभागी नहुने अडान यसअघि नै स्पष्ट पारिसकेको छ।

ओली पक्षका ती नेताले भने ,‘प्रधानमन्त्रीबाट मिल्काउने प्रयास भयो भने ओली पनि चुप लागेर बस्नु हुन्न। निर्वाचित प्रधामन्त्रीबाट हट्नुपर्ने अवस्था आयो भने उहाँले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनै पर्छ। हामीले पनि दिएको सुझाव त्यही हो। ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनासाथ नेपाल विदेशीको खेलमैदान हुन्छ। त्यसो हुनु दिनुहुन्न भन्ने हाम्रो मान्यता हो।’

उनका अनुसार अहिलेसम्मको स्थिति हेर्दा प्रचण्ड पक्षले मुलुकभर नेकपा र नेताहरुको प्रतिष्ठा नष्ट गरिसकेको र अब जेसुकै होस् भनेर अघि बढ्ने सम्भावना प्रवल छ। त्यस्तो अवस्थामा अध्यादेशको विकल्प आफूहरुले नदेखेको उनको दाबी छ।

संवैधानिक व्यवस्था अनुसार ६ महिना भन्दा बढी संसदको बैठकमा ‘ग्याप’ हुनुहुन्न। संसद बैठक सुरु गर्नुपर्ने दबाब प्रतिपक्ष दलले दिन थालिसकेको छ। संसद बैठक सुरु भएमा अध्यादेश आउने सम्भावना कम हुने भएकाले त्यसअघि नै ओलीले आफ्नो प्रधानमन्त्री पद सुरक्षाका लागि अध्यादेश ल्याउने तयारी गरेका छन्।

तर, प्रधानमन्त्री पद जोगाउने शर्तमा सकेसम्म अन्तिम विकल्पका रुपमा पार्टी अध्यक्षको पद त्याग्ने मनस्थिति ओलीले बनाएका हुन्। आफ्नो अनुरोध अनुसार बुधबार प्रचण्डले स्थायी कमिटी बैठकमा पुगिसकेको आफ्नो प्रस्ताव फिर्ता नगर्ने अडान लिएपछि ओली झन चिन्तित बनेको र अन्तिम विकल्पमा प्रधानमन्त्री पद जोगाउने शर्तमा पार्टी अध्यक्ष पद त्याग गर्नुपर्ने दबाब उनी माथि परेको हो।

बुधबारको बैठकमा ओलीले प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन र पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँगको समिकरण तोड्न आग्रह गरेका थिए।

तर प्रचण्डले ओलीलाई नेपालसँगको आफ्नो सहकार्य ओलीसँग भन्दा पुरानो भएको, नेपालले आफूलाई धोका नदिने भन्दै जवाफ फर्काएका थिए। त्यसक्रममा ओली र प्रचण्डबीच एकछिन भनाभनसमेत भएको थियो।

त्यसअघि नेकपाका ओली निकट प्रदेश नम्बर एकका पार्टी अध्यक्षसहित पाँच जना नेताहरु प्रचण्ड पक्षका पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेका थिए।

उनीहरुले करिव डेढ घण्टा खनाललसँग विताएका थिए। खनाललाई भेट्न जाने टोलीमा सामेल नेकपा केन्द्रीय सदस्य नेता विजय सुब्बाका अनुसार स्थायी कमिटी बैठकमा पार्टीका अन्य समस्यासहित दुवै अध्यक्षको प्रस्तावमाथिको छलफल नरोकिने र बैठकको निर्णय मान्नुपर्ने एक मात्र विकल्प आफूहरुसँग भएको भन्दै खनालले अडान लिएका थिए।

तर प्रचण्ड पक्षले त्यसो गर्दा पार्टी एकता गर्दा भएको सहमति खण्डित हुने र मुलुक संकटमा पर्दैन? भन्ने प्रश्न नेताहरुले खनालतर्फ सोझाएका थिए।

‘पार्टी एकताको सहमति ओलीको आफ्नै व्यवहारले मेटिसकेको छ। अब विधि र पद्धतिमा जानुको विकल्प छैन। पार्टी कमिटी बैठकको निर्णय ओलीले मान्नुपर्छ,’ खनालको मत उद्धृत गर्दै सुब्बाले देशसञ्चारसँग भने।

सुब्बाले प्रचण्ड पक्षको यो अडानलाई विध्वङ्सकारीका रुपमा चिनाएका छन्। सुब्बाले प्रचण्ड जस्तो अस्थिर, दोस्रो नेता हुन नचाहने र आफ्ना प्रतिश्पर्धीलाई गल्त्याउँदै आएका नेतालाई साथ दिएर ओलीलाई संकटमा पार्न नमिल्ने आफ्नो धारणासमेत राखेको बताए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?