
काठमाडौँ- भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आएर फर्केको दुई हप्ता बित्न नपाउँदै भारतीय जनता पार्टीका विदेश विभागका प्रमुख विजय नेपाल आएका हुन्।
भेटका क्रममा प्रधानमन्त्री ओली, विजय चौथाइवाले र नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सँगै खिचेको फोटोसमेत सार्वजनिक भएको छ। चौथाइवालेलाई दुई साताअघि महासचिव पौडेलले फोनमार्फत नेपाल भ्रमणको निम्तो दिएका थिए।
प्रधामन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टाईका अनुसार प्रधानमन्त्री ओली र विजय चौथाइवालेबीच शिष्टाचार भेट भएको पुष्टि गरे।
उनले देशसञ्चारसँग भने,‘यो शिष्टाचार भेट हो। दुई देशको जनस्तरको सम्बन्ध विस्तार गर्ने बारेमा सामान्य कुराकानी भएको छ।’ विजयलाई नेकपाले नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको बुझिएको छ।
यसअघि यही मंसिर ११ र १२ गते भारतीय विदेश सचिव विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आएका थिए।
पछिल्लो पटक सीमालगायत विवादका कारण नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएका बेला भारतीय उच्च अधिकारीहरुको नेपाल आगमन बाक्लिएको छ।
गत जेठमा नेपालले लिम्पियाधुरसहितको नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको अवस्थामा पछिल्लो समय भारतका तर्फबाट उच्चस्तरको राजनीतिक भ्रमणले तीव्रता पाएको छ।
अघिल्लो हप्ता भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले दुई दिने नेपालको औपचारिक भ्रमण गरेका थिए। त्यस्तै कात्तिक १९ गते पनि भारतीय सेनाअध्यक्ष मनोज मुकुण्ड नरवाणे र रअ प्रमुख सामन्तकुमार गोयलले पनि नेपालको भ्रमण गरेका थिए।
चिसिएको सम्बन्धलाई सुर्धानका लागि भारतीय पक्षले एकपछि अर्को उच्च तहको भ्रमण भइरहेकाे छ। नेपालका तर्फबाट पनि यही डिसेम्बर महिनाको अन्तिममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भ्रमण गर्दै छन्।