सर्‍यो नेकपा स्थायी कमिटी बैठक तर टर्ला सकंट?

सर्‍यो नेकपा स्थायी कमिटी बैठक तर टर्ला सकंट?
+
-

काठमाडौँ- युद्धमय बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक तीन दिन पर धकेलिएको छ। तर यसले विद्यमान संकट समाधानमा सहयोग पुर्‍याउने संकेत कमै देखापरेको छ।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनको कारण उनीप्रति श्रद्धाञ्जली दिएपछि आइतबारको स्थायी कमिटी बैठक पुस १ गते बस्ने गरी स्थगित गरिएको हो।

पछिल्लो पटक सहमतिको खोजीका लागि एक साता समय छुट्याइए पनि त्यसमा विफल भएका नेताहरुले अब सहमतिको स्पष्ट सुत्र निर्माण गर्लान् त? यसबारे नेताहरु स्पष्ट देखिएका छैनन्।

तर अझै आरोप-प्रत्यारोप र अविश्वासको सिलसिला लम्बिने सम्भावना छ, यो साता विकसित भएका केही घटनाक्रमलाई हेर्दा।

पार्टीलाई विभाजनको डिलमा पुर्‍याएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का पक्ष/विपक्षमा तल्लो तहसम्म भेला र प्रशिक्षण कार्यक्रमहरु बढ्दै जानुले अब नेकपामा सहमतिको सम्भावना कम रहेको भन्ने अड्कलले स्थान पाएको छ।

शनिबार बेलुका ओली निकट स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र आइतबार बिहान संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रचण्डलाई भेटेर स्थायी कमिटी बैठक सार्न र त्यसमा विचार गर्न भनेका थिए।

यस्तै प्रचण्डद्वारा पेश गरिएको प्रस्तावलाई पुनः केन्द्रीय सचिवालय बैठकमा लैजान उनीहरुले गरेको आग्रह कार्यान्वयन अब आफ्नो हातमा नरहेको प्रचण्डले स्पष्ट पारेको उनी निकट एक स्थायी कमिटी सदस्य बताउँछन्।

पार्टी एकतालाई केन्द्रमा राखेर सहमति गर्नुपर्ने भन्दै दौढधूप जारी राखेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी अथक प्रयासका बाबजुत पनि सहमतिको सम्भावना निकै कम भएको विश्लेषण गर्छन्।

उनी भन्छन्, ‘हामीले सहमतिका लागि कुनै कसर बाँकी राखेका छैनौँ। तर पनि दुवै अध्यक्ष आआफ्नो अडानमा कायमै रहँदा सहमति कठिन बनेको छ। तर पनि हामीले बैठक पर धकलेर भएपनि सहमति गर्नुपर्छ भन्नेमा जोड दिएका छौँ।’

आइतबारको स्थायी कमिटी बैठक पनि सहमतिका लागि भन्दै स्थगित गरिएको हो।

शोकपत्र पारितमा बैठक


नेकपाको विवाद यति जटिल बनेको छ कि सकेसम्म बैठक नगर्ने, बैठक भइहाल्यो भने पनि त्यसलाई कसरी पर सार्ने भन्नेमा कसरत बढी गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

एजेण्डामा लिखित असहमति जनाएर अघिल्लो स्थायी कमिटी बैठकमा अनुपस्थित भएका ओली आइतबारको बैठकमा सामेल भए। तर उनले विवाद समाधानलाई लिएर बैठकमा एक शब्द पनि खर्च गर्न चाहेनन्।

उनीसँग आक्रोशित प्रचण्डले पनि जारी विवादवारे केही बोलेनन् तर आफ्ना पक्षका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हालै निधन भएका केन्द्रीय कमिटी सदस्य कमानसिंह लामाले हाइड्रोपावर सेयर विवादमा ‘अनावश्यक’ मुछेको भन्दै त्यसबाट सिर्जित भ्रममा नपर्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरे। ओली त्यसमा पनि मौन रहे।

यसबाट ओली र प्रचण्डबीचको विवाद कुन तहमा पुगेको छ भन्ने स्पष्ट हुन्छ। आफ्ना पार्टीका केन्द्रीय सदस्यको निधनको शोक प्रस्ताव पारित गर्नु स्वाभाविक भएपनि त्यसमा मात्रै बैठक सिमित हुँदा नेकपा विवादको गाँठो बलियो बन्दै गएको छ भन्ने स्पष्ट हुन्छ।

तर बैठकमा पार्टीलाई विभाजनको बिन्दुमा पुर्‍याएको संकटबारे किन बहस भएन? भन्दै स्थायी कमिटी सदस्यहरुले प्रश्न गरेका छन्।

नेकपा स्थायी कमिटी सदस्य देव गुरुङ प्रश्न गर्छन्, ‘हामीले छलफल नै गर्न चाहन्नौँ भने विवाद कसरी समाधान हुन्छ? हामी पार्टीभित्रको बहुमत सदस्यले दिएको सुझाव लागू गर्दैनौँ भने समस्या समाधान कसरी हुन्छ? बैठकको सामना गर्न डराएर समस्याको समाधान हुन्न।’

०००

ओली गत कार्तिक २८ गते आफूलाई भ्रष्टाचार, गुटबन्दी, एकाधिकारवाद जस्ता विषयलाई प्रोत्साहन गरेको आरोप लगाउँदै पेश गरेको १९ पृष्ठ लामो ‘आरोपपत्र’ फिर्ता हुनुपर्ने अडानबाट पछि हटेका छैनन्।

अघिल्लो पटकको बैठकमा ओलीले आफ्नो अडान कायमै राखेपछि ‘पार्टीको आन्तरिक समस्यामाथि छलफल’ भन्ने साझा एजेण्डा राखिए पनि त्यसअन्तर्गत प्रचण्डको प्रस्ताव, एमसीसी, पार्टी एकताका बाँकी काम लगायत सबै समस्याबारे छलफल हुने अडान प्रचण्ड पक्षले लिएको छ।

प्रचण्ड पक्षका नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्छन्, ‘आजको बैठक सरेर संकट टरेको छैन। पार्टीमा संकट जीवितै छ। तर त्यो पार्टी बैठकबाटै समाधान हुन्छ। त्यसको विकल्प हामीसँग छैन।’

नेता खनाल पार्टी बैठकका एजेण्डामा कुनै विवाद नभएको पनि स्पष्ट पार्छन्।

उनी भन्छ्न, ‘हाम्रा एजेण्डा स्पष्ट छन्। पार्टीको आन्तरिक समस्यामाथि छलफल भनेको अध्यक्ष प्रचण्डको प्रस्तावमाथिको पनि छलफल हो। हालसम्म सचिवालय बैठकमा पेश भएका अन्य पत्रहरुमाथिको पनि छलफल हो। एमसीसीबारे पनि छलफल हो। पार्टी एकताबारे पनि छलफल हो।’

तर यसमा ओली पक्षको विमति छ। स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने अडान कायमै रहे पार्टी संकटमा पर्ने बताउँछन्।

उनी भन्छन्, ‘हामीले आरोप पत्रलाई स्थायी कमिटीको बैठकको एजेण्डा बनाउन थाल्यौँ भने पार्टी नै संकटमा पर्छ। पार्टी संकटमा पर्नु भनेको अहिलेको व्यवस्था नै धरापमा पर्नु हो। यसमा नेताहरु गम्भीर हुनुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?