
काठमाडौँ – नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चारबुँदे सहमति भएको भनिए पनि दाहाल-माधवकुमार नेपाल पक्षले भने केपी ओलीमाथिको आरोपपत्र फिर्ता लिने कुनै सहमति नभएको स्पष्ट पारेको छ।
प्रधानमन्त्री ओलीले आफूमाथिको आरोपपत्र र जवाफी पत्र दुवै फिर्ता लिन प्रस्ताव गरे पनि दाहाल र नेपाललगायत त्यो पक्षका सबै सदस्यहरुले अस्वीकार गरेका थिए।
यद्यपि बालुवाटार स्रोतले भने प्रस्ताव फिर्ता लिने सहमति भएको दाबी देशसञ्चारसँग गरेको थियो। ‘प्रधानमन्त्रीज्यूले हल्लामात्र फिजाउनुभयो, आरोपपत्र फिर्ता लिने कुनै सहमति भएको छैन,’ स्थायी समिति सदस्य बेदुराम भुसालले देशसञ्चारसँग भने।
बैठकमा ओलीको प्रस्ताव अधिकांश स्थायी समिति सदस्यहरुले अस्वीकार गरेको स्रोतको दाबी छ। अध्यादेश फिर्ता लिने र संसदको अधिवेशन बोलाउने हस्ताक्षर अभियान फिर्ता लिने सहमतिमात्र स्थायी समिति बैठकमा भएको स्रोतले बतायो।
नेकपा सचिवालयमा दर्ता भएको दाहालको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता लिई संयुक्त प्रस्ताव पेश गर्ने विषय भने बहुमत सदस्यहरुले अस्वीकार गरेका थिए।
महासचिव विष्णु पौडेल र नेता घनश्याम भुसालसहित दुई अध्यक्षले गरेको प्रस्तावलाई स्थायी समितिमा सुनाउँदा सदस्यहरुले आरोपपत्र फिर्ता लिने र संयुक्त प्रस्ताव फिर्ता लिने निर्णय नमान्ने बताएका थिए।