
काठमाडौँ- अघिपछि सुनसान रहने पूर्वमाओवादीको मुख्यालय पेरिसडाँडा शुक्रबार एकाएक सत्ताधारी नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताको भिडले भरियो।
प्रदेश नम्बर एकका नेताहरुसँग आफ्नो गुटको भेला सकिएलगत्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हतारमा बाहिरिए। पत्रकारको भिडलाई छल्न उनी दौडिनुपर्ने स्थिति आयो।
प्रचण्डलाई पत्रकार छल्न अहिले जति कठिन भएको छ, त्यति नै कठिन आफ्नो पार्टीमा उत्पन्न विवाद अन्त्य गर्न भएको देखिन्छ। त्यसैले प्रतिद्वन्द्वी केपी शर्मा ओलीसँग वारपारको लडाईँ मैदानमा उत्रिएका प्रचण्डसँग हाल तीन विकल्प देखिन्छन्।
आफ्नो राजनीतिक अस्तित्व बचाउन आफू खुम्चिएर भएपनि ओलीलाई नै शक्तिशाली बन्ने मौका दिइरहने या ओलीलाई दुवै पदबाट हटाउने अथवा पार्टी फुटाएर उनीसँग अलगिने प्रचण्डका विकल्प हुन्।
आफ्नो पक्षद्वारा हाल देशव्यापी रुपमा आयोजित भेलाहरुमा सामेल नेता तथा कार्यकर्ताले कुनै पनि हालतमा पार्टी नफुटाउन बरु ओलीलाई दुवै पदबाट हटाउन दिएको दबाब प्रचण्डका लागि बोझिलो बनेको छ।
आफ्नो कार्यशैली सच्याउन या त्यसलाई लिएर आत्मलोचना गर्न तयार नदेखिएका र थप विवादपस्पद गतिविधिहरु बढाएका ओलीलाई दुवै पदबाट हटाउनु पर्ने चर्को दबाब प्रचण्डले खेप्न थालेका हुन्।
प्रचण्डसँगको विवाद समाधान गर्न आयोजित बैठकहरु छल्ने कसरत गरिरहेका ओलीले उनलाई तर्साउन मगंलबार संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश ल्याए।
आफ्नो मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीकोसमेत साख गिर्ने गरी ल्याएको अध्यादेश चर्को दबाबपछि फिर्ता गर्ने सहमति ओलीले कार्यान्वयन नगरेपछि प्रचण्ड उनीप्रति अझै कठोर बन्न थालेको बुझिन्छ।

पुष्पकमल दाहाल
त्यसैले ओलीको बर्हिगमनको माग बढेको हो। शुक्रबार पेरिसडाँडामा आफ्नो गुट भेलालाई संवोधन गरेको केहीबेरपछि बालुवाटार पुगेका प्रचण्डले ओलीलाई पूर्वसहमति अनुसार अध्यादेश फिर्ता गरेपछि मात्रै पार्टीमा यथावत रहेका विवादबारे छलफल गर्न सकिने शर्त अघि सारेका छन्।
उनले ओलीलाई भनेका छन्, ‘तपाईँ पहिले आफूले गरेको सहमति अनुसार अध्यादेश फिर्ता लिनुहोस् अनि मात्रै पार्टी विवादबारे छलफल गरौँला। तर तपाई अब कमिटी बैठक छल्ने कोशिस नगर्नुहोस्।’
ओलीले भने आफूले अध्यादेश फिर्ता गर्ने तर प्रचण्डले आफूविरुद्ध पेश गरेको ‘अभियोगपत्र’ माथि छलफल हुन नसक्ने भएकाले त्यो फिर्ता हुनुपर्ने अडान प्रचण्डपक्षसँग दोेहोर्याएका थिए। त्यसपछि ओली र दाहालको भेट यसअघि झै तिक्ततामा सिमित भएको थियो।
यसोत ओलीले अध्यादेश फिर्ता नलिएपछि उनको विश्वासनीयतामाथि उनी पक्षकै नेताहरुले प्रश्न उठाएको बुझिएको छ।
अध्यादेश र प्रचण्ड पक्षद्धारा संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ८३ जना सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन ठिक्क परेको आवेदनपत्र फिर्ता गर्न ओली र दाहाल दुवैलाई सहमत बनाउन सफल भएका ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र उनका राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै ओलीसँग हाल आएर असन्तुष्ट बनेको बुझिएको छ।
ओलीले पूर्वसहमति अनुसार अध्यादेश फिर्ता लिएमा राष्ट्रपति भण्डारीलाई बुझाउन ठिक्क पारिएको संसदको विशेष अधिवेशनसम्बन्धी आवेदनपत्र शितल निवास पुर्याउन आफूहरु तयारी अवस्थामा रहेको असन्तुष्ट पक्षका नेताहरुले बताएका छन्।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पूर्वसहमति अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिएमा आफूहरु संसदको विशेष अधिवेशन माग गर्दै ठिक्क पारिएको आवेदनपत्र लिएर शितलनिवास जाने र त्यो तयारी अवस्थामै रहेको देशसञ्चारलाई बताए।
उनले भने, ‘हामीलाई पत्रबारे तयारी गर्नुपर्ने अब केही छैन। अध्यादेश फिर्ता नभए आवेदनपत्र शितल निवास पुग्छ। र, त्यो दर्ता गरिनुपर्छ।’ ओली निकट एक नेताका अनुसार यसपटक ओलीलाई अध्यादेश फिर्ता लिन कठिनाइ समेत भएको छ।
आफू आलोचनाको पात्र बनेर भएपनि ओलीलाई बचाउन अन्तिम कसरत स्वरुप तत्काल अध्यादेशमा हस्ताक्षर गरेकी राष्ट्रपति भण्डारीलाईसमेत अध्यादेश फिर्ता लिन नैतिक संकट परेको बुझिएको छ।
संवैधानिक परिषद् बैठक रोक्न बिहीबार दिउँसो बालुवाटार पुगेका प्रचण्डले ओलीलाई अध्यादेश फिर्ता गर्न किन ढिलो गरेको भन्ने प्रश्न गर्दा ओलीले राष्ट्रपतिसँग सल्लाह गरेर अध्यादेश फिर्ता गर्छु भनेका थिए।
तर योबीचमा ओली र राष्ट्रपति भण्डारीबीच यसबारे छलफल नभएको ओली निकट एक स्थायी कमिटी सदस्यले बताए।
उनले भने, ‘यसपटक राष्ट्रपति भण्डारीको अध्यादेश ल्याउने चाहना थिएन। यसअघि अध्यादेश ल्याउँदा उहाँ विवादमा पर्नु भएको थियो। त्यो अवस्था आउँछ भन्नेमा राष्ट्रपति भण्डारी जानकार हुनुहुन्थ्यो। तर पनि प्रधानमन्त्रीलाई संकटबाट बचाउन उहाँले अन्तिम प्रयास गर्नु भएको बुझिन्छ। अब अध्यादेश फिर्ता गर्नुपर्दा उहाँलाई असहज त पक्कै हुन्छ।’
यता संवैधानिक ज्ञाताहरुले वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म ओलीले संसद विघटन गर्न नमिल्ने सुझाव दिएपछि ओली थप संकटमा परेका छन्।
यता पेरिसडाँडा भेलामा सामेल नेकपा केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले पार्टी एकता बचाउने पहिलो दायित्वबाट पछि नहट्ने तर ओलीलाई दुवै पदबाट हटाउनुपर्ने साझा निष्कर्षमा आफूहरु पुगेको बताएका छन्।
भेलापछि देशसञ्चारले लिएको अन्तवार्तामा उनले भने, ‘हामीले पार्टी एकतालाई कुनै पनि हालतमा बचाउने छौँ। तर ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृतिलाई परास्त गर्न उहाँलाई दुवै पदबाट हटाउन जुट्नुपर्ने साझा निष्कर्षमा हामी पुगेका छौँ।’
पेरिसडाँडा भेलामा प्रचण्ड मुख्यतया ओलीले पार्टी चलाउन नसक्ने निष्कर्षमा आफू पुगेको सुनाएका थिए। प्रचण्डले भनेका थिए, ‘ पार्टी फुटाउन, अर्को पार्टी बनाउन केपी लाग्नु भएको छ। उहाँका गतिविधि सँधैभरी एक भएर जाने खालका भन्दा पनि आफ्नै पार्टीका पुरानालाई पनि निषेध गर्ने र हामी नयाँलाई पनि निषेध गर्ने खालका भए। यसले मलाई गम्भीर बनाएको छ।’
भेलामा संवोधनका क्रममा प्रचण्डलाई साथ दिइरहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले बढी समय लिएका थिए।
त्यसपछि करिव २० मिनेट मात्रै संवोधन गर्न पाएका प्रचण्डले ओलीसँगको विवाद कसरी झाँगियो भन्ने प्रसंगमा भनेका थिए, ‘ओलीले अचानक आफूसागै रहेको मेरो कुर्सी हटाउनु भयो। माधवजीले कुर्सी हटाइयो भन्दैमा किन चिन्ता गरेको, कुर्सी सँगै राखेर बस्नुन किन डराएको भन्नु भएको थियो। त्यही पनि मैले त्यसो गरिन।’
प्रचण्डले ओलीले आफूसँगै रहेको कुर्सी हटाएर दुई जनाबाट अलग गरेर सात जनाका बीचमा पुर्याएको प्रसंग निकालेका थिए।
उनले भनेका थिए,‘अपमानको हद हुन्छ। हिजोसम्म सँगै बसेको अध्यक्षलाई अव तल जा भन्नु चिन्तनको कुरा हो। उहाँको सोच्ने कुरा हो।’ योसँगै भेलामा प्रचण्डले ओलीले जर्बजस्त धकेलेर पार्टी एकतालाई बिखण्डनतर्फ लगेको निष्कर्ष पनि सुनाएका थिए।
प्रचण्डले अवको दुई साता पार्टी आफूहरुका लागि थप चुनौतिपूर्ण रहेको भन्दै त्यतिञ्जेल पार्टी फुट्ने संकेतसमेत गरेका थिए।
नेता खतिवडाले अब ओलीलाई दुवै पदबाट हटाएमा मात्रै मुलुक र पार्टीको अवस्थामा सुधार आउने बताए।
उनले भने, ‘समयले उहाँलाई अध्यादेश फिर्ता लिन बाध्य बनायो। समयले नै उहाँलाई दुवै पदबाट हटाउन बाध्य बनाउने छ। हामी पनि ओली दुवै पदमा रहन अयोग्य भइसक्नु भयो भन्ने बुझेका छौँ।’
खतिवडाको विस्तृत अन्तर्वार्ता:
भेलामा बामदेव र नारायणकाजी अनुपस्थित
प्रचण्ड–नेपाल पक्षको यो भेलामा उनीहरुलाई साथ दिइरहेका पार्टी उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ देखिएनन्।
गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले उपाध्यक्ष गौतम अबदेखि गुटभेलामा सामेल नहुने, पार्टी बैठकमै छलफल गर्ने निर्णयमा पुगेका देशसञ्चारलाई बताए।
सुवेदीले भने,‘ गुट भेला गर्यो भनेर आरोप आइरहेको छ। त्यसैले उपाध्यक्ष गौतमले अबदेखि गुट भेलामा नजाने भन्नु भएको छ। पार्टीमा उत्पन्न विवादबारे बैठकमै छलफल गर्नुपर्ने उहाँको धारणा छ।’
नेता गौतमलाई बुधबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आफूपछिको प्रधानमन्त्रीको रुपमा उभ्याएका थिए। ओलीले बैठकको अन्त्यतिर गौतमलाई इंगित गर्दै भनेका थिए,‘यहाँ सबै प्रधानमन्त्री भइसक्नु भएको छ। एउटै व्यक्ति घरीघरी प्रधानमन्त्री बन्नु राम्रो नहुने भएकाले अब पालो गौतम जीकै हो। उहाँ म पछि प्रधानमन्त्री बन्नुहुन्छ।’
प्रधानमन्त्री ओलीले गौतमलाई पटकपटक यस्तो आश्वासन र ‘कार्ड’ फाल्ने गरेका छन्। बुधबार पनि ओलीको यस्तो आश्वासनप्रति कुनै प्रतिक्रिया नदिएको स्थायी कमिटीका एक सदस्यले बताए। यता श्रेष्ठले आफ्नो स्वास्थ्य प्रतिकूल भएकाले भेलामा सामेल नभएको बताएका छन्।