काठमाडौँ – पार्टीभित्रको द्वन्द्व समाधानमा असफल भइरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल ‘प्रचण्ड’ तथा उनलाई साथ दिइरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आआफ्ना शक्ति परीक्षणका निम्ति देशव्यापी रुपमा गुटगत भेला बढाएका छन्।
पार्टी एकताका बेला ओली पक्षले महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद (जबज) लाई थाँती राख्ने भन्दै गरेको सहमति उल्लंघन गर्दै त्यसबारे प्रशिक्षण गर्न ‘जुम’ भेला गरेपछि ब्यूँतिएको गुट भेला अहिले दुवै पक्षबाट देशव्यापी बनेको हो।
दुवै पक्षका भेलाका आयोजकहरुले यस्ता भेलाहरु पार्टी एकताको पक्षमा भएको दाबी गरे पनि अब एकअर्कालाई कसरी परास्त गर्ने भन्नेमा उनीहरु केन्द्रीत भएको बुझिन्छ।
प्रचण्ड–नेपाल पक्षले शुक्रबार पूर्वमाओवादीको मुख्यालय र हाल नेकपाको जनसंगठनहरुको केन्द्रीय कार्यालयमा प्रदेश १ अन्तर्गत १४ जिल्लाका पदाधिकारी र केही केन्द्रीय सदस्यहरुको भेला गर्यो। ६५ जना सामेल भेलामा प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल सम्बाेधन गरेका थिए।
भेलामा सहभागि नेकपा केन्द्रीय कमिटि सदस्य जगन्नाथ खतिवडाले पार्टी एकतालाई बचाउँदै ओलीको एकाधिकारवादी र सर्वसत्तावादी कार्यशैलीविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेको बताएका छन्। देश सञ्चारले लिएको अन्तर्वार्तामा योसँगै उनले अब ओलीले दुवै पदबाट राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्।
गत भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा खासगरी ओली चुकेपछि अहिले नेकपामा विवाद उत्कर्ष पुगेको छ।
प्रस्तुत छ नेकपा केन्द्रीय कमिटि सदस्य जगन्नाथ खतिवडासँगको भिडियो अन्तर्वार्ताः