
काठमाडौँ – दुई तिहाइ बहुमतका साथ तीन वर्ष अघि निर्वाचित २०७२ को संविधान अन्तर्गतको पहिलो प्रतिनिधिसभा अकालमा मृत्युवरण गर्ने भएको छ।
सत्ताधारी नेकपाभित्रको असन्तुष्टि र स्पष्ट ध्रुवीकरण चुलिएपछि आफ्नो हैसियत गुमाउँदै गएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः आइतबार संसद विघटन गर्ने निर्णय गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारबाट एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली केहीबेरमै संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष अनुमोदनका लागि पठाउँदै छन्।
त्यसअघि बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको वार्तामा केही सहमति बन्न नसकेपछि आकश्मिक मन्त्रिपरिषद् बैठक बोलाई त्यसबाट संसद विघटनको औपचारिक निर्णयको अनुमोदन लिने कसरतमा ओली रहेको ती मन्त्रीले बताए।
आइतबार र शनिबार १२ घण्टाको अन्तरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी आफ्नो विकल्पबारे परामर्श गरेको बुझिएको छ।
नेकपा स्थायी कमिटि बैठकको आइतबार निर्धारित बैठकमा आफू अल्पमत र घेराबन्दीमा पर्ने निश्चित भएपछि ओलीले यो कठोर र विवादास्पद कदम उठाउने निर्णयमा पुगेका हुन्।
संविधानविज्ञहरुले बैकल्पिक सरकार गठनको सम्भावना रहेसम्म संसद विघटन गर्न नमिल्ने सुझाव दिए पनि ओली त्यसबाट आश्वस्त हुन नसकेका हुन्।