काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मीठो मीठो कुरा गरेर छुरा रोप्ने संस्कृतिबाट हुर्किएको र अन्तमा आफू पनि त्यो संस्कृति र प्रवृतिबाट पीडित भएको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘केपी ओलीको मीठो मीठो कुरा गरेर छुरा रोप्ने प्रवृति रहेछ। त्यसबाट म पनि सिकार भएँ। मैले सुरुमै उहाँले जेजे आग्रह गर्नु भयो त्यो नमानेको भए हुने रहेछ। तर मैले छोड्दा उहाँमा अझै दम्भ भरियो। र, संसद विघटनदेखि पार्टी विभाजनको कदमसम्म उहाँ उत्रिनु भयो।’
प्रचण्डले ओलीले म भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न भन्दै भित्रभित्रै भ्रष्टाचारीको संरक्षण गरेको आरोपसमेत लगाए। यस्तै उनले आफू गल्ती सच्याउने तर ओलीलाई गल्ती दोहोर्याउने नेताका रुपमा पनि चिनाएका छन्।
उनले भने, ‘मैले पार्टीको हितका लागि आलोपालो सहमति त्यागेँ। पाँच वर्ष नै प्रधानमन्त्री उहाँलाई छोडिदिए। त्यसरी सहमति त्याग गर्नु मेरो गल्ती थियो। मेरो कमजोरी समातेर ओलीजीले मलाई र पार्टीलाई अपमान गर्नुभयो।’