काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपले विभाजन भएसँगै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल पक्षले प्रभावशाली नेता तथा केन्द्रीय सदस्यहरु तानातानलाई तीव्रता दिएका छन्।
यसमा हाललाई पदीय लोभ देखाएर प्रचण्ड पक्षका नेताहरुलाई आफूतिर तानेको आरोप सबैभन्दा बढी ओलीमाथि लागेको छ। ओलीले प्रचण्डलाई छोडेबापत शुक्रबार टोपबहादुर रायमाझी, मणी थापा, प्रभु शाह, गौरी शंकर चौधरी, दावा लामा तामाङलाई मन्त्री पद दिएका छन्।
यता मन्त्री पद पाउन बालुवाटार धाइरहेको आरोप खेपेका नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल अन्तिममा प्रचण्डतिरै उभिएको आरोप लागेको थियो।
गजुरेलले भने आफू पार्टी एकताका लागि ओली निवास बालुवाटार र दाहाल निवास खुमलटार धाएको तर बाहिर आफू पदका लागि दौडधूप गरेको आरोप लागेको भन्दै गुनासो गरेका छन्।
योसँगै उनले पार्टी विभाजनमा प्रधानमन्त्री ओली सबैभन्दा बढी दोषी रहेको र त्यसमा विदेशी चलखेलको पनि बाढी आउँदा आफूहरुले त्यसलाई रोक्न नसकेको बताएका छन्।
कस्तो विदेशी चलखेल भन्नेबारे स्पष्ट नपारेका गजुरेलले समय आएपछि त्यसबारे सार्वजनिक गर्ने बताएका छन्। पार्टी विवाद र अबको राजनीतिक संकटमा केन्द्रीत उनीसँगको भिडियो अन्तर्वार्ता।