समाचार टिप्पणी

बोलीको लगाम र संयमले नबाँधिएका ओली

बोलीको लगाम र संयमले नबाँधिएका ओली
+
-

काठमाडौँ- खचाखच थियो बबरमहलस्थित कार्की ब्यांक्वेटको हल। पुस १५ गते, कार्यक्रम थियो– नेकपा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला। प्रमुख अतिथि थिए केपी शर्मा ओली। झण्डै तीन घण्टाको प्रतीक्षापछि हलमा उनको प्रवेश भयो।

लगत्तै सम्बोधन सुरु गरेका ओलीले एकाएक सहभागीलाई हँसाउन थाले। तालीको गड्गडाहट सुरु भयो। युवाहरु उठी–उठी चिच्याउन थाले।

आफ्नो सम्पूर्ण भाषणको तीर आफ्ना विरोधी समूहका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमा सोझ्याएका ओली हाँसो र ताली लिइरहने ‘मुड’मा देखिन्थे।

ओलीले जति गैरराजनीतिक र कटुवचनको ओइरो लगाउँथे, त्यति नै सन्तुष्टि युवाहरुले अभिव्यक्त गर्थे। तर हलमा उपस्थित केही नेताहरु प्रतिक्रियाविहीन थिए, ओलीका उत्तेजक अभिव्यक्ति सुन्नैपर्ने बाध्यता उनीहरुको अनुहारको भावबाट झल्किन्थ्यो।

भाषणका क्रममा ओलीले १५ वर्षसम्म पार्टी नेतृत्वमा रहेका माधवकुमार नेपाललाई तारो बनाए। भने, ‘माधव नेपालका बारेमा मलाई खासै टिप्पणी गर्नु छैन। उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो।’

अनि नेपालकै भाषण शैलीको नक्कल गर्दै उनले भने, ‘मलाई मान गरेनन्, अपमान गरे।’

त्यतिमा उनी रोकिएनन्। उनले नेपाललाई खिसिट्युरी गर्दै उनकै लवजमा भने, ‘मलाई पदको लोभ छैन, तर मलाई उधारो होइन, नगद नै चाहिन्छ। नगद भनेको द्वितीय अध्यक्ष।’

असहज लाग्ने आरोपहरुको धाराप्रवाहमा उनी रमाइरहे। उनले आफूमाथि नेताहरुले भविष्यवाणी गरेको नमिलेको भन्दै खुसी मनाउ गरेको पनि देखियो।

उनको आरोप थियो, ‘पोहोर म बिरामी परेँ अब मरिहाल्छ भन्नुभयो, उपचार गर्न बैंकक जाँदा काठको बाकसमा फर्किन्छ भन्नुभयो। म त प्लेनकै सिटमा बसेर आएँ। अस्ति म आकस्मिक शल्यक्रिया गर्न अस्पताल भर्ना हुँदा अब गयो भन्नुभयो। म मर्दा उहाँहरुको आकांक्षा पूरा हुन्छ। मलाई मरोस् भन्ने कामना गरिएको छ। मान्छे मरोस् भन्ने कामना विरोधी र शत्रुलाई पनि गर्न हुन्न। यो सभ्यताहीन कुरा हो।’

ओलीका यी सबै अभिव्यक्तिले समर्पित कार्यकर्ताहरुको ताली र हाँसो पाइरहे।

ओलीका यस्ता आरोपको नेताहरुले पटक–पटक खण्डन गरेका छन्। नेकपा सचिवालय बैठकमै भनाभन भएको छ। तर पनि ओलीको बोलीमा लगाम देखिएको छैन।

पार्टीमा विवाद कायमै रहेका बेला गत वर्ष भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि नेता नेपालसँग यही विषयमा भनाभन भयो। नेपालले पार्टी विवादका आफ्ना विचार थाँती राखेर उपचारको सफलताको शुभकामना दिँदा ओलीले ‘मरिहालोस् भन्नेको शुभकामना चाहिँदैन’ भन्ने रुखो जवाफ फर्काएका थिए।

नेपालले चिन्तित हुँदै ‘यस्तो पाप पनि चिताउने?’ भनेर ओलीलाई प्रश्न गरे। नेपालले आफूलाई लगाएको आरोपको छानबिन गर्न चुनौती पनि दिए। त्यसको भोलिपल्ट नेपालले खुमलटार पुगेर प्रचण्डसँग ओलीको आरोपबाट आफू निकै दुःखी भएको गुनासो गरेका थिए।

पर्सिपल्ट देशसञ्चारसँगको भेटमा नेपालले भनेका थिए, ‘पार्टीमा विवाद छन्, असहमति छन्। त्यो स्वाभाविक हो। तर यति तल्लोस्तरमा गएर मलाई आरोप लगाउने ओलीले? मैले ओलीलाई कहिले र कहाँ मरिहालोस् भनेँ? त्यसबारे छानबिन होस् भनेको छु।’

तर आफैले के बोलिरहेको छु र त्यसले के प्रभाव पार्छ? आफ्नो पदबारे हेक्का नराख्ने ओलीले अरुलाई लगाइएको आरोपबारे छानबिन गर्ने रुचि देखाउलान्? आफ्नै विरोधाभासपूर्ण कार्यशैलीका कारण पार्टीमा एक्लिए उनी। त्यसैले त पद जोगाउन संसद भत्काउनु उनको बाध्यता बन्यो।

संविधानले नदिएको अधिकार मेरो भन्दै उनले दम्भ प्रस्तुत गरिरहेका छन्। सुरुवातमा आफूविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी भएकाले संसद विघटन गरेको भन्दै आफ्नो बचाउ गर्दै हिँडे। अहिले त्यसलाई उनले केही बदलेका छन्।

६४ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको प्रधानमन्त्रीले संसद विघटनको अधिकार राख्छ भन्ने उनको तर्क छ। आलोचनाको घेरामा जति परेपनि उनले आफ्ना गाली र आलोचनाको सीमा अझै फराकिलो बनाएका छन्।

विरोधीप्रति अझ आक्रामक र उत्तेजक अभिव्यक्ति दिने रणनीति ओलीले अपनाएका छन्। तर शक्तिको उन्माद र कुण्ठा मिश्रित उनका अभिव्यक्तिहरुले उनको पद र जिम्मेवारीलाई गिज्याइरहेका छन्।

मुलुक गम्भीर अनिश्चिततातर्फ धकेलिएका बेला उनले विपक्षीलाई आरोप लगाउने नाममा अपनाउने ठट्यौली शैलीले उनी निकट नेताहरु पनि आजित छन्।

‘हामीले ओलीलाई पटक–पटक सम्झायौँ, जे मुखमा आउँछ त्यही नबोल्नुहोस् भनेर तर उहाँको शैली फेरिएन। हामीलाई लाज लाग्न थालेको छ अहिले,’ उनी निकट एक उच्च तहका नेता भन्छन्।

ती नेताले ओलीले आफ्ना अभिव्यक्तिका कारण भयानक क्षति भोग्नु पर्नेबारे नसोचेको गुनासो गरेका छन्। पार्टी विवाद र विभाजनको भागीदार ओली मात्रै पक्कै छैनन्। किनकि यी अचानक विकसित भएका घटना होइनन्। प्रचण्ड र नेपाल पक्ष पनि त्यसको हिस्सेदार छ।

तर सार्वजनिक स्थलमा विपक्षीलाई व्यत्तिगत रुपमा प्रहार गरिने ओलीको वाक विस्फोटनले उनी आसिन उच्च पदको प्रतिष्ठामा धक्का लागिरहेको छ।

विरोधी केन्द्रित पुस १८ गतेको नेकपा काठमाडौँ जिल्ला कमिटीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भेलामा कार्यकर्ताको भिड थियो। लामो समय सहभागीलाई कुराएर ओली झुल्किए। तर ‘आफू माथि, अरु सबै तल’ उनको भाषण शैलीले निरन्तरता पायो। भाषणका क्रममा उनले एक दर्जनभन्दा बढी व्यक्तिगत आरोप लगाए प्रचण्ड र नेपाललाई।

उनले प्रचण्ड र नेपाललाई भेट्नो कुहिएर झरेको फल र खिया लागेर फुत्किएका दुई नटबोल्टका रुपमा चिनाए। ओली त्यतिमा रोकिएनन्। उनले आफ्ना पक्षमा असंख्य कार्यकर्ता रहेको तर प्रचण्ड–नेपाल पक्षसँग रत्नपार्कमा सिसीमा औषधि बिक्री गर्नेले जम्मा गर्ने भीड जति पनि नभएको भन्दै होच्याए।

प्रचण्ड–नेपाल पक्षलाई कार्की ब्यांक्वेटमा अलिअलि खानपिन गरेर आफूलाई अध्यक्षबाट निकालेको, घरघरमा बिरालो बन्दै छिर्ने चोर भएको, प्रचण्डको छाती देख्दा ठूलै तर चित्त सानो भएको आरोप लगाए।

अदालतमा विचाराधीन संसद विघटनको नतिजाबारे उनी टिप्पणी गर्न हिच्किचाएनन्। जुँगा, जेल लगाएको कपाल र कुम हल्लाएको भरमा सर्वोच्चले मुद्दाको फैसला नदिने उनको ठहर थियो।

यता भारतका सबै मानिसले आफूलाई नेपालको प्रधानमन्त्रीका रुपमा चिनेको भन्दै आफ्नो प्रसिद्धिको व्याख्या गरे। तीन दिनअघि बबरमहलमै आयोजित भेलामा ओलीको अभिव्यक्ति त्योभन्दा तल्लोस्तरको देखिन्थ्यो।

उनले आफ्ना पार्टीका विरोधी नेताहरुलाई लक्षित गर्दै ‘सहिद’ भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो, त्यसो गर्न पनि नमिल्ने’ भन्ने अभिव्यक्ति दिए।

ओलीको यो अभिव्यक्तिलाई लिएर तत्कालै सामाजिक सञ्जालमा चर्को विरोध भयो। ओलीका बेलगाम अभिव्यक्ति देशभित्रका आफ्ना विरोधीमा मात्रै सिमित छैनन्।

यसअघि उनले छिमेकी मुलुक भारतलाई पटक–पटक अभिव्यक्तिबाट चिढ्याएका छन्। कहिले कडा भाइरसको, कहिले ‘सिंहमेव जयते’ तथा कहिले आफूलाई पदबाट विस्थापित गर्ने षडयन्त्रकारी मुलुकका रुपममा संसदबाटै आरोप लगाइरहे।

यता आएर उनको वाक आन्तरिक शक्ति र खासगरी प्रतिस्पर्धी नेकपा नेताहरुविरुद्ध सीमित छ। त्यसमा अर्जुनदृष्टि छ कि छैन, हेर्न बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?