
बुटवल– अंग्रेजलाई पराजय गरेको जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा आयोजित भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिव बहादुर रायमाझीले जितेका छन्।
बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्यपश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी उनले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए।
बिन्दवासिनी बाहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे।
यसैगरि महिलातर्फ नेपाली सेनाकी निर्मला केसी प्रथम भइन्। उनले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गरेकी हुन्।
सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भइन् भने गोरख दल गण पाल्पाकी मिनिसा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन्। विजेता प्रथम, द्धितिय र तृतियहरुले क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लिला गिरी र नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सन्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।
‘जितगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए।