प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य र सुरक्षासम्बन्धी सुझावको अवज्ञा

प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य र सुरक्षासम्बन्धी सुझावको अवज्ञा
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको देश दौडाहा र भीडमा संलग्नतालाई उनका निजी चिकित्सक र सुरक्षा निकायले सहजरुपमा लिएका छैनन्।

आफ्नो सुझावविपरीत प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमा राजनीतिक गतिविधिहरु बढाएपछि चिकित्सक र सुरक्षा निकायका पदाधिकारीहरु दुवैमा चिन्ता थपिएको छ।

करिव एक वर्षअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको र हाल कोरोना महामारी समाप्त नभएकै अवस्थामा चिकित्सकले ओलीलाई भिडभाडमा नहिँड्न तथा सार्वजनिक कार्यक्रममा भाग नलिन पटकपटक सुझाव दिएका छन्।

ओलीको सक्रियता बढेपछि एक साता अघि मात्रै उनलाई सुरक्षा निकायका अधिकारीहरुले भेटेर यस्तो सुझाव दिएका थिए।

यता संसद विघटनको उनको विवादास्पद कदमका कारण विप्लवलगायत विरोधी समूहबाट उनीमाथि सुरक्षा ‘थ्रेट’ बढेको निष्कर्ष निकाल्दै सुरक्षा निकायका पदाधिकारीहरुले प्रधानमन्त्री ओलीलाई उपत्यका बाहिर ननिस्कन सुझाव दिएका छन्।

तर ओलीले यी दुवै तहबाट आएका सुझावको बेवास्ता गर्दै योजनावद्ध तरिकाले पार्टीका भेला, प्रशिक्षण र आगामी चुनाव लक्षित कार्यक्रममा भाग लिन थालेपछि उनीहरुलाई चिन्ता बढेको हो।

प्रधानमन्त्री ओलीको स्वास्थ्य निगरानी गरिरहेका एक चिकित्सकका अनुसार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि उनमा अझै पनि संक्रमणको सम्भावना कायमै छ। त्यसमा पनि कोरोना महामारी समाप्त नभएका बेला भिडभाडमा जाँदा उनमा कोरोनाको संक्रमण हुने सम्भावना पनि बलियो छ।

आफूमाथि सुरक्षाको ‘थ्रेट’ भएको भन्दै निवास नजिकै रहेको पार्टी मुख्यालय धुम्बाराहीमा निर्धारित बैठक अन्तिम समयमा बालुवाटार सारेका ओली जथाभावी हिँड्नुलाई सुरक्षा निकायका पदाधिकारीले अस्वाभाविक ठानेका छन्।

उक्त ‘थ्रेट’ कायमै छँदा आफ्नो सुझावबिपरीत ओली दौडधूप गर्न थालेपछि देशको कार्यकारी हैसियतका आधारमा उनको सुरक्षा व्यवस्था अझ कडा पार्न बाध्य भएको उनीहरुले बताएका छन्।

स्वास्थ्य जोखिमसँगै सुरक्षाको ‘थ्रेट’ भएको भन्दै बालुवाटारमा सीमित ओलीको यस किसिमको सक्रियता अनुचित भएको गृहमन्त्रीलयका एक उच्च अधिकारी बताए।  उनले भने, ‘प्रधानमन्त्रीमाथि हामीले गम्भीर थ्रेट देखेका छौँ। त्यसलै हामीले सुरक्षा व्यवस्था कडा पारेका हौँ। हामीले यसो गर्नु स्वाभाविक पनि हो। प्रधामन्त्रीलाई सुरक्षा दिने हाम्रो दायित्व हो। तर सुरक्षाको प्रक्रिया पुरानै छ। हामीले सुरक्षाकर्मीहरुको संख्या भने बढाएका छौँ।’

उनका अनुसार यसअघि जस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर प्रधामन्त्री ओलीको सुरक्षार्थ ‘इन्टेलिजेन्स’ समूह परिचालन गरिएको छ।

शुक्रबार ओली धनगढी पुग्नुअगावै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। ओलीको सुरक्षार्थ हाल कम्तिमा पनि ९० जना सुरक्षाकर्मी खटाइएको उनले बताए। यस्तै ओली सहभागि हुने कार्यक्रममा कालो चस्मा, कालो मास्क लगाउनेहरुलाई विरोधका प्रतीक मान्दै प्रवेश निषेध गरिएको छ।

यस्तै कालो झण्डा देखाउने, टाउकोमा कात्रो बेरेर प्रर्दशन गर्नेहरुमाथि पनि सुरक्षा निकायले निगरानी बढाएको छ। शुक्रबार धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिर्सट लगाउनेहरुलाई ‘अस्वाभाविक’ भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

यद्यपि राति प्रतिपक्षका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसको विरोध गरेपछि उनीहरुलाई रिहा गरिएको थियो।

यसअघि प्रधानमन्त्री ओली सहभागी हुने भनिएपछि नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा मंसिर २१ गते स्थायी कमिटी बैठकका दिन सुरक्षा व्यवस्था कडा पारिएको थियो।  प्रधानमन्त्री ओलीको नयाँ ‘थ्रेट परसेप्सन’ का आधारमा बालुवाटारपछिको उनको गन्तव्य पार्टी मुख्यालय वरपरका भवनका छतहरुमा हतियारसहित सुरक्षाकर्मी परिचालित थिए। धुम्बाराहीसँगै बालुवाटारमा पनि पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको थियो,विगतका केही बैठकहरुमा।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी राजधानीको एक कार्यक्रममा पहरा दिँदै सुरक्षाकर्मी। तस्बिर: बर्षा शाह

नेकपाको आन्तरिक विवादकै क्रममा सुरक्षा ‘थ्रेट’ बढ्यो भन्नुलाई ओलीसँग असन्तुष्ट नेताहरुले राजनीतिक चाल मानेका छन्।

मंसिर १६ गते धुम्बाराहीमा निर्धारित नेकपा सचिवालय बैठक अन्तिम समयमा आएर आफूमाथि सुरक्षाको ‘थ्रेट’ रहेको भन्दै ओलीले बालुवाटार सारेका थिए। त्यतिबेला आफ्नै पार्टी कार्यालय जान नमिल्ने गरी प्रधानमन्त्री ओलीलाई कस्तो सुरक्षा ‘थ्रेट’ भयो भन्ने जिज्ञासामा नेकपाका नेताहरु केन्द्रीत भएका थिए।

तर पार्टीको आन्तरिक विवाद थेग्न नसकेपछि यही पुस पाँच गते संसद विघटन र त्यसपछि पार्टी विभाजन यता ओली आफ्ना कदमको बचाउ गर्दै भेला र सभामा जान थालेका छन्।

गृहमन्त्रालयका ती अधिकारीका अनुसार प्रधानमन्त्री ओलीको संसद विघटनको कदमलाई ‘असंवैधानिक’ भन्दै विरोध जनाएको विप्लव समूहबाट सबैभन्दा धेरै सुरक्षा ‘थ्रेट’ आएको छ।  आगामी दिनमा प्रधानमन्त्री ओलीले आउजाउ गर्दा या सार्वजनिक कार्यक्रममा भाग लिँदा उनीमाथि दुर्व्यवहार र आक्रमण बढ्ने सक्ने आंकलन पनि सुरक्षा निकायका पदाधिकारीले गरेका छन्।

स्वास्थ्यको जोखिम देखाउँदै प्रधामन्त्री ओलीले गत चैत्र २९ यता आफ्नो सरकारी कार्यालय सिंहदरमा पाइला टेकेका छैनन्। त्यसअघि चैत २ गते उनले कोरोना महामारीकै सम्बन्धमा छलफल गर्न र संयुक्त प्रतिवद्धता जनाउन भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा सार्क राष्ट्रहरुको भिडियो कन्फेरेन्समा भाग लिएका थिए।

फागुन २१ गते उनले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकले उनलाई स्वास्थ्यमा उच्च सर्तकता अपनाउन सुझाव दिएपछि उनको सिंहदरबार आउजाउ बन्द भएको थियो।  ओलीको स्वास्थ्यका कारण सबै काम गर्न नभ्याएको भन्दै प्रभावकारी कामका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गरी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ल्याइएको थियो।

कार्यकर्ताहरुबाट आइतबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सुन्तलाको माला लिँदै प्रधानमन्त्री ओली।

पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएकै दिन भनेका थिए,‘ प्रधानमन्त्रीको स्वास्थ्यका कारण आउजाउ गर्न समस्या छ। सबै कामको भार लिने अवस्थामा उहाँ हुनुुहुन्न। उहाँलाई सहयोग गर्न म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएको हो।’

चैत्र २९ गते ओलीले सिंहदरबार पुगेर कोरोना महामारी नियन्त्रणका सम्बन्धमा सातै वटा मुख्यमन्त्रीहरुसँग ‘भिडियो कन्फेरेन्स’ गरेका थिए। त्यसयता उनले सरकारी कामकारवाही मात्रै नभई पार्टीगत भेटघाट र बैठकहरुको थलो बालुवाटारलाई नै बनाउँदै आएका थिए।  पार्टीभित्रको विवादकै बीच प्रधानमन्त्री ओली कार्तिक २६ गते संखुवासभा र मंसिर ८ गते इमाल पुगेर ठूलो भिडलाई संवोधन गरेका थिए।

यता संसद विघटन र पार्टी विभाजनपछि उनीको सक्रियता एकाएक बढेको छ। यो बीचमा आफ्नो गुटको भेलामा बबरमहलस्थित कार्की बैंकेट र प्रज्ञा प्रतिष्ठानमा दुईदुई पटक गएका ओली शुक्रबार पार्टी भेलालाई सम्वोधन गर्न धनगढी पुगेका थिए।

भेलाहरुलाई नियाल्दा उनले एकातिर सामाजिक दुरी कायम गरेको देखिन्न भने अर्कोतिर पटकपटक मास्क लगाउँदै र झिक्दै गरेको देखिन्छ। उनको वरिपरी झुम्मिने र स्वागत गर्नेहरुको भिड पनि त्यतिकै देखिन्छ।  आगामी दिनमा सुरक्षा ‘थ्रेट’ को समीक्षासँगै सुरक्षा निकायका सुझाव मान्न उच्चस्तरबाटै प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने संकेत पनि गृहका अधिकारीले दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?