
काठमाडौँ- राष्ट्रियसभा अन्त्यका लागि मन्त्रिपरिषद्बाट सिफारिस राष्ट्रपतिसक्ष पठाउन निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभामा संवोधन गर्न पुगे, आइतबार एक बजे।
तर, त्यहाँ उनको पार्टीको प्रचण्ड–नेपाल पक्षका कुनै पनि सदस्य देखिएनन्। लामो आफ्नो सम्बोधन सकिएपछि आफूलाई प्रश्न गर्ने सदस्यहरुलाई आफ्नो दलको सम्मान गर्न त पर्यो भन्ने व्यंग्य पनि गर्न भ्याए ओलीले।
तर ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दै गर्दा प्रचण्ड–नेपाल पक्षका २३ जना सदस्यले बैठक बहिस्कार गरेका थिए। उनीहरु हाजिर गरेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने समयमा बैठक बहिस्कार गरेका थिए।
यो पक्षका राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले प्रधानमन्त्रीको ओलीको भाषण सुन्नुको अब कुनै औचित्य नभएकोले आफूहरु बैठकबाट बाहिरिएको बताए।
सचिवालय स्रोतका अनुसार प्रचण्ड–नेपाल पक्षको पूर्वयोजना अनुसार नै सदस्यहरुले प्रधानमन्त्री ओलीको बहिस्कार गरेका हुन्। ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाका ४७ सदस्य छन्।
त्यसमध्ये प्रचण्ड–नेपाल पक्षका २३ जना सदस्यले प्रधानमन्त्री ओलीको संम्बोधन बहिस्कार गरेका हुन्।