पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित बाइसे चौबिसे राज्यहरुलाई सूर्य र चन्द्रमामा अंकित झण्डामुनि एक सूत्रमा बाँध्ने काम गरे। उनले नेपाल राष्ट्रको निर्माण नगरेको भए, हामीले के एक स्वाभिमानी र स्वतन्त्र नेपाली हुनुको गौरव गर्न सक्ने थियौँ र! के बुद्ध जन्मेको लुम्बिनी, जनक र सीता जन्मेको मिथिला र विश्वको ताज सगरमाथाको देशको नागरिक हुनुको गौरव गर्न पाउने थियौँ त!
करीब ३०० वर्षअगाडि हामीलाई साझा ‘नेपाली’ राष्ट्रिय पहिचान दिने श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहलाई श्रद्धाञ्जली दिन हामी यहाँ भेला भएका छौँ उहाँको जन्मदिनका अवसरमा । यहाँ हामी समस्त विवेकशील र स्वाभिमानी नेपालीहरुका प्रतिनिधिका रुपमा उपस्थित छौँ, हाम्रा राष्ट्र निर्मातालाई हामीले ससम्मान सम्झनुपर्छ भन्ने उदाहरण पेश गर्न।
पृथ्वीनारायण शाहले शासन गर्नका लागि मात्र भौगोलिक एकीकरण गरेका थिएनन्। उनले एउटा सभ्य, उन्नत, राजा र जनताबीच सहकार्यमा आधारित आधुनिक राज्यको जग पनि हालेका थिए। आज हामीलाई मुलुकमा कुन विषयले बढी पिरोलिरहेका छन् त! इतिहासमै पराधीन नरहेको हाम्रो यो मुलुकले स्वतन्त्रता गुमाउला कि! हामीले टाढा र नजिकका मुलुकहरुप्रति समानताका आधारमा हैन, समर्पणको व्यवहार त अपनाएनौँ?
आज शासक भष्ट बनेका छन्। पृथ्वीनारायण शाहले भनेको जस्तो ‘जनता मोटा भया दरबार बलियो हुन्छ’ भन्ने मान्यताको ठीक विपरीत दरबारमात्र मोटाएका छन्। जनता दरिद्र र गरिब भएका छन्, यस्तो अवस्था किन आयो?
आज मुलुकलाई ‘एक हैन खण्डित’ बनाउने षड्यन्त्रमा हामी किन छौँ? छोटकरीमा पृथ्वीनारायण शाहले जे भने र जे गर्न चाहन्थे, त्यसको ठीक उल्टो हामीले गरिरहेका छौँ, भोगिरहेका छौँ।
२०६३ वैशाखको परिवर्तन लगत्तै राष्ट्र निर्माताको ‘हिरो’ हैसियत खोसेर उनलाई खलनायक बनाउने प्रयास नै राष्ट्रविरुद्ध षड्यन्त्रको शुरुवात थियो। आउनुस् आजको दिन हामी प्रण गरौँ, त्यो षड्यन्त्रलाई समूल नष्ट गर्न, उनी र उनका सिद्धान्तलाई सदा सम्मान गर्न र नेपाललाई एक स्वतन्त्र समृद्ध र एकतावद्ध राष्ट्रका रुपमा अगाडि लैजान।
(पृथ्वीनारायण शाहको २९९ ओँ जयन्तीका अवसरमा सिंहदरबारमा मनीषाले सम्बोधन गर्न तयारी गरेको यो अभिव्यक्ति। आफूलाई सम्बोधन गर्न नदिइएपछि आफू बाध्य भएर घर फर्केको उनले देशसञ्चारसँग जानकारी दिइन्।)

भर्खरै
लोकप्रिय






































































































































































































