
काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्दा हतार नगरेको दाबी गरेका छन्।
उनी पक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गरिरहेका दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको दाबी गरेका छन्।
नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अनुसरण गर्दै अघि बढेको र आफूहरु नै पार्टीको मूल धार, विधि र संस्थागत भएको उनले दाबी गरे।
उनले भने, ‘पार्टी एकताका बेला हामीले गरेका सबै प्रतिवद्धताअनुसार अघि बढेका छौँ। यसमा विश्वास गर्न सबैलाई अपिल गर्छु।’
तर ओली समूहलाई लक्षित गर्दै बाहिर नौटंकी प्रस्तुत भइरहेको दाहालले आरोप लगाएका छन्।
उनले भने, ‘यहाँ यथार्थ भन्दा बाहिर गएर नौटंकी भइरहेका छ। कहिलेकाहीँ विछिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ। उनीहरुको तर्क सुन्दा साथीहरु जोकर भएको जस्तो लाग्छ? त्यो सोध्न मन लाग्छ– चार सय ४१ जना सदस्य भएको केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ पुर्याउन विधानले दिन्न।’
यो पनि पढ्नुहोस्ः हामीले प्रहसन, उखानटुक्का र उत्तेजित भाषण गर्न भेलाहरु गरेका छैनौँः प्रचण्ड
उनले निर्वाचन आयोगबाट आफूहरु आधिकारिक प्रमाणित हुने विश्वास दिलाए। उनले भने, ‘निर्वाचन आयोगले संविधान, विधान र राजनीतिक दल ऐनमै टेकेर काम गर्ने भरोसा दिलाएको छ।’
दाहालले आयोगबाट आफूहरुले सूर्य र नेकपा नपाए आँधिहुरी आउने चेतावनी दिए। यस्तै ओली भगौडा भएको दाबी गरे।
उनले भने, ‘बैठकमा नआउने ओली भगौडा हो। हामी भगौडा होइन। हामी नियम अनुसार बैठकमा बस्ने कसरी भगौडा?’
यस्तै ओलीको काम लाजमर्दो रहेको दाहालको आरोप छ।