
हल्दीबारी- सामुदायिक विद्यालयमा पठन पाठन राम्रो नहुने गुनासोका माझ झापाको हल्दीबारी गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने शिक्षकको निगरानी सुरु गरेको छ।
गाउँपालिकाको १७ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरेर सामुदायिक विद्यालयका शिक्षकको निगरानी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले जानकारी दिए।
लिङदेनले भने, ‘अभिभावकहरुको विश्वास गुमाउँदै गरेका सामुदायिक विद्यालयको स्तर बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो।’
गाउँपालिकाका सामुदायिक विद्यालयको स्तर बढाउनका लागि विद्युतीय हाजिरी एउटा सूचक भएको प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए। उनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मार्फत शिक्षक कतिबेला विद्यालय आउँछन् र कतिबेला जान्छन् भन्ने निगरानी हुनेछ। उक्त विद्युतीय हाजिरीको सर्भर गाउँपालिका कार्यालयमा रहने उनले जानकारी दिए।
कर्मचारीको विद्युतीय हाजिरी प्रत्येक वडा कार्यालयहरुमा जडान गरिएको छ।जसका कारण सर्वसाधारणलाई सेवा दिने कर्मचारी कार्यालय समय आउने र जाने समय प्रत्येक दिन हेरिने प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए।
सोही प्रकारको विद्युतीय हाजिरी गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा समेत जडान गरिएको छ।उक्त हाजिरीको आइतबार गाउँपालिकाको वडा नं ५ मा रहेको धुनषा आधारभूत विद्यालयमा झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले उदघाटन गरेका हुन्।
गाउँपालिका क्षेत्रमा रहेका तीनवटा प्रहरी चौकीलाई तीनवटा मोटरसाइकल खरिद गरेर आइतबार नै हस्तान्तरण गरिएको छ।