
झापा – भारतको पश्चिम राज्यको पानीट्यांकीसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टा नाकामा अहिले पहिलाको जस्तो बस्तु तस्करी भन्दा पनि अहिले लागुपदार्थ र मानव तस्करीका घटना जस्ता आपराधिक क्रियाकलाप बढेको प्रहरीले उपलब्ध गराएको तथ्यांकले पुष्टि गरेको छ।
केही वर्ष अघिसम्म काँकडभिट्टा नाका ‘सुपारी तस्करी हुने स्थान’का रुपमा मानिसहरूले चित्रित गर्थे। अहिले पनि छिटपुट रुपमा त्यस्ता घटना हुने गरेका छन्। तर प्रहरी अधिकारीहरूका अनुसार नेपाली समाजलाई नै ध्वस्त बनाउने किसिमका घटना बढिरहेकाले त्यस्को निराकरणका लागि सबै सरोकारवाला लाग्नको विकल्प छैन।
भारतबाट ६ लेनको एसियन हाइवे काँकडभिट्टा आइपुगेको छ। अब त झन भारत पस्नका लागि सवारी साधनका लागि सजिलो भएको छ। तर सुरक्षामा खटिएका प्रहरीको अभाव भने जहिले पनि हुने गरेकै छ।
लागू पदार्थ ओसारपसार गर्नेहरू पक्राउ पर्ने क्रम बर्षेनि बढ्दो क्रममा छ। प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार बरामद गरिएका लागू पदार्थको मात्रा पनि बर्षेनि बढ्ने क्रममा छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ६ महिनामा करिब ४ सय ग्राम लागू पदार्थ ब्राउन सुगर उक्त कार्यालयले मात्र बरामद गरेको छ।
गत आर्थिक वर्ष २०७६/७७ मा १७४ ग्राम ५०० मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो।
चालु आर्थिक वर्षको ६ महिना र गत आर्थिक वर्षको तथ्यांक हेर्दा ब्राउन सुगरको कोरोबार ह्वात्तै बढेको देखिन्छ। गत आर्थिक वर्षमा ५८ जना लागुपदार्थ सेवन तथा कारोबारमा पक्राउ परेका थिए भने १४ जना अझै फरार रहेका छन्।
चालु आर्थिक बर्षको ६ महिनामा २५ जना पुरुष र ३ जना महिला पक्राउ परेका छन्।
जटिल समस्याःलागुपदार्थ कारोबार र मानव तस्करी – डिएसपी पोखरेल
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले पूर्वी नाका काँकरभिट्टामा सबभन्दा जटिल अपराध लागुपदार्थको कोरबार र मानव तस्करी नै भएको बताएका छन्।
कोरोना भाइरस संक्रमणको महामारीका कारण सीमा नाका बन्द भएपछि मानव ओसारपसारका घटना कमी आए पनि अब आवात जावत खुकुलो भएसँगै काँकडभिट्टा नाका हुँदै भारततिर मानव तस्करी हुने जोखिम बढेको पोखरेल बताउँछन्।
उनले भने, ‘यी समस्याले मानव समाजलाई भयावह बनाउँदैछ। प्रहरीमा आइपुग्नु भन्दा अगावै यस्को निराकरणका उपाय खोज्नुपर्छ। अभिभावक सचेत हुनुपर्छ। समाज तथा विद्यालयहरू महत्वपूर्ण भूमिका हुन्छ।’
डिएसपी पोखरेलका अनुसार कलिला दम्पतीको पनि लागू पदार्थ कारोबारमा संलग्नता देखिन थालेको छ। उनले भने, ‘यो जालो तोड्न सबै लाग्नु पर्यो।’