जसले आगो र धुँवाको मुस्लोभित्र छिरेर कोठा-कोठा चहार्दै १३औँ तला पुगेर चिच्याइरहेका दिदीभाइको उद्धार गरे

जसले आगो र धुँवाको मुस्लोभित्र छिरेर कोठा-कोठा चहार्दै १३औँ तला पुगेर चिच्याइरहेका दिदीभाइको उद्धार गरे
+
-

काठमाडौँ- सोमबार अपरान्ह महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख अपिल बोहरा बेचैन देखिन्थे।

उनी नेपाल प्रहरीको मोबाइल सेटमा उद्धारका लागि नेपाल आर्मीसँग हेलिकप्टर माग्नुपर्ने बताइरहेका थिए। माइतीघरमा प्रदर्शनकारीलाई पानी छ्याप्न तयारी अवस्थामा राखिएको दुईवटा वाटर ट्याङ्कलाई तत्कालै बोलाइएको थियो।

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टअन्तर्गत १४ तलाको टावर ए ब्लकमा धुँवाको मुस्लो निस्किरहेको थियो। मानिसहरु हरेक तलाको रेलिङमा निस्किएर धुँवा हम्कँदै चिच्यारहेका थिए- बचाऊ बचाऊ।

प्रहरीले केहीबेरमा अर्को जानकारी पायो- छैटौँ तलामा दुई दिनकी सुत्केरी पनि छिन्। ‘कोही पनि मानिस ओर्लन सकिरहेका थिएनन्। सजिलै भित्र जान सक्ने अवस्था पनि थिएन। ठुलै दुर्घटना होला भन्ने डरले हेलिकप्टर चाहिन सक्ने बताएको थिएँ’, प्रहरी नायब उपरीक्षक-डीएसपी बोहरा भन्दै थिए।

उक्त ब्लकमा रहेका मानिसले दिउँसो साढे १ बजे तलबाट धुवाँ निस्किरहेको अनुभव गर्न थालेका थिए। ‘ढोका बाहिर निस्किएको, निस्सास्सिएजस्तो भयो। त्यसपछि हत्त न पत्त श्रीमती र मेरोमा काम गरिरहेका एक जनालाई तल झारेँ’, १० औँ तलामा बस्ने राज चन्द अनुहारभरि लागेको धुवाँ पुछ्दै भन्दै थिए। उनी तल ओर्लिएर ढुक्कले बसेनन्। श्रीमतीलाई माथि जान्छु भन्दै उक्लिए।

‘त्यो अवस्थामा मेरो दिमागमा मैले सकेजति सहयोग गर्नुपर्छ भन्ने लाग्यो र माथि उक्लिएँ। कोठाको ढोका र सिँढीहरुमा आगो दन्किरहेको थियो। धुवाँले सास फेर्न निकै गाह्रो भइरहेको थियो। सकेजति बाटो बनाउँदै मानिसहरुलाई निकाल्न सहयोग गरेँ’, उद्धारमा खटिएर तल ओर्लिएपछि रुँदै गरेकी श्रीमतीलाई थम्थमाउँदै चन्दले भने।

उद्धारमा खटिएका राज चन्द। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

उनका अनुसार घटनाका बेला ११ औँ तलामा ३ जना, बाह्रौँ तलामा २ जना र १३ औँ तलामा २ जना थिए। तर उनीहरु कोही पनि ओर्लन मानिरहेका थिएनन्। ‘आगो कहाँबाट सुरु भएको यकिन गर्न गाह्रो थियो’, उनले भने।

उनको हात खुट्टा सिसाले काटेका छन्। आगो सुरु भएको झण्डै एक घण्टापछि अग्नि नियन्त्रक र सुरक्षाकर्मीले छैटौँ तलाबाट सुत्केरी महिलाको उद्धार गरेका थिए। त्यतिबेला १३ औँ तलामा १३/१४ वर्ष उमेरकी बालिका र ७/८ वर्षका बालक रेलिङमा निस्किएर चिच्याइरहेका थिए। घटनास्थलमा विभिन्न सुरक्षा निकायका फायर फाइटिङ टोली पुगिसकेका थिए। अक्सिजन सामग्रीसहित सशस्त्र प्रहरीका जवान सञ्जीवकुमार मोक्तान ‘कमाण्ड’ कुरिरहेका थिए।

‘तलबाटै आगो सल्किरहेको थियो। यस्तो अवस्थामा निकै डर लागिरहेको थियो। अर्कोतर्फ माथिबाट चिच्याइरहेका मानिसको आवाजले पीडा पनि दिइरहेको थियो’, २६ वर्षीय सञ्जीवले भने। उनले फायर फाइटिङ सुट पनि लगाइसकेका थिए। बीए सेट भएका उनी एक्ला थिए। उनलाई सशस्त्रले माथि जान संकेत गर्‍यो। ‘मेरो दिमागमा एउटा कुरा थियो- मरे मरौँला, बाँचे सबैलाई लिएर तल झरौँला’, सञ्जीव भन्दै थिए।

उनीसँग महानगरपालिकाको अग्नि नियन्त्रक टोलीका एक जना सदस्य पनि थिए जसले फायर फाइटिङ सुट मात्र लगाएका थिए। भवन भित्र छिरिसकेपछि उनी हरेक तलाका कोठा-कोठामा पुगे। धुँवाले भरिएकाले अगाडि देख्न सजिलो थिएन। उनी कराउँदै मानिसहरुलाई बोलाउन थाले। उनले देखिसकेका थिए- १३ औँ तलामा दुई जना उद्धारको पर्खाइमा छन्। उनी हरेक तलामा यता उता गर्दै सहयोगीसहित १३ औँ तलामा पुगे।

‘कहिँ पनि छुन सक्ने अवस्था थिएन। १३ औँ तलामा पुगेपछि अगाडि देखेको दृश्यले मेरो मन साह्रै दुख्यो। दिदीभाइको अनुहार चिनिन सक्ने अवस्था थिएन। उनीहरु निकै कठिन तरिकाले त्यहाँ बसिरहेका थिए’, उद्धार गरेर तल झारेपछि सञ्जीवको अनुहारमा खुसी देखिन्थ्यो। उनलाई सशस्त्रसहित अन्य सुरक्षा निकायका अधिकारीहरु बधाई दिइरहेका थिए।

दोलखा स्थायी घर भएका सञ्जीव ८ वर्षयता शसस्त्र प्रहरीमा छन्। यी अविवाहितले दुई वर्ष भयो शसस्त्रको विपद् उद्धार गणमा रहेर काम गर्न थालेको। ‘यस्तो कामले निकै खुसी प्राप्त हुने रहेछ। परि आउँदा आगामी दिनमा यो भन्दा कठिन अवस्थामा पनि सफलता प्राप्त होस् भन्ने कामना छ’, उनले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपार्टमेन्टको लिफ्टबाहिर रहेको विद्युतीय तार ‘सर्ट’ भएपछि तलदेखि माथिसम्म आगो सल्किएको थियो। भवनमा रहेको आपतकालिन अग्नि नियन्त्रक  ‘फायर हाइड्रेन्ट’ले पनि काम नगरेको प्रहरीले जनाएको छ।

यता अपार्टमेन्टका सीईओ सुबास चौधरीले पाँचौँ वा छैटौँ तलामा लिफ्ट बाहिर रहेको  इलेक्ट्रिक सर्किट सर्ट हुँदा घटना भएको हुन सक्ने बताए। ‘अनुसन्धान प्रहरीले गरिरहेको छ। प्रारम्भिक जानकारीमा पाँचौँ वा छैटौँ तलामा इलेक्ट्रिक सर्ट भएको थाहा पाएका छौँ’, नेपाल प्रहरीका पूर्व एसएसपीसमेत रहेका चौधरीले भने।

उनले घटनाका बेला आफ्ना कर्मचारीले भवनमा जडान रहेको फायर फाइटर चलाउन नसकेको बताए। ‘हाम्रा दुई जना ओभर सियरले पाँचौँ तलामा पुगेर फायर इक्स्टिनगुइसर चलाएपनि फायर फाइटर मेसिन भने चलाउन सकेनछन्। इन्जिनियर पनि त्यहाँ थिएनन्। आगो बढेपछि हाम्रा कर्मचारी त्यहाँबाट फर्किए’, उनले भने। अपार्टमेन्ट प्रशासनले उक्त टावरमा १६/१७ परिवार बस्दै आएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?