
झापा – औषधीय गुणले भरिपूर्ण मह उत्पादन गर्ने मौरीकै अस्तित्व संकटमा पर्ने थालेको मौरीपालक किसानहरूले बताएका छन्।
रासायनिक विषादीको प्रयोग र मौरीलाई चरन अभावका कारण मौरी मर्ने र महको उत्पादन बर्सेनि घट्दै गएको मौरी पालक किसानहरू बताउँछन्।
फूल फुल्ने बालीमा फूल फुलेकै बेला रासायनिक विषादी हाल्ने गरिएकाले त्यही विषादी खाएर मौरी मर्ने क्रम बढेको किसानहरूको भनाइ छ।
मौरी चाहिने फूलको रस पाइने प्रकारका फूल फुल्ने बाली लगाउने क्रम पनि घटेकाले मौरी पालक किसानले मौरी चरनका लागि सास्ती भोग्नुपरिरहेको उनीहरू बताउँछन्।
झापाको सुरुंगा बजार दक्षिण बेनुबाजामा मह काढ्दै गर्दा भेटिएकी एक जना अगुवा किसान देवी दाहालले रसायनिक विषादीको प्रयोग गर्न बन्द नगर्ने हो भने मह उत्पादन संकटमा पर्ने बताइन्।
उनका अनुसार बालीमा फूल फुल्ने बेलामा रसायनिक विषादीको प्रयोगले मौरी मर्ने क्रम बढिरहेको छ।
उनले भनिन्, ‘जताततै अनियन्त्रित रसायनिक विषादी प्रयोग भइरहेको छ। खासगरि स्थानीय तह यसमा गम्भीर हुनुपर्ने हो। फूल फुल्ने बालीमा फूल फुलेका रासायनिक विषादी प्रयोग गर्दा मैले बार्षिक करिब ५० घार मौरी गुमाउनु परिरहेको छ।’
मौरी पालक किसान दाहाल मौरी पालन व्यवसायमा लाग्न चाहने किसानका लागि अगुवा किसान पनि हुन्। उनी मौरी पालन गर्न इच्छुकका लागि अगुवाको रुपमा काम गर्ने किसानका रुपमा परिचित छिन्।
उनले करिब २५० घार मौरीलाई चरणका लागि दाङ, चितवन तथा मोरङका विभिन्न स्थानमा लगिन्। तर जहाँ लग्यो किसानले बालीमा विभिन्न प्रकारका विषादी प्रयोग गर्ने गरेकाले उनका धेरै घार मौरी मरे।
अर्का किसान तीर्थराज दाहालका अनुसार उनले बर्षमा ४०/५० घार मौरी विषादीका कारण गुमाउनु परिरहेको छ।
झापा बुद्धशान्तिका मौरी पालक किसान मोहन तिम्सिनाका अनुसार स्थानीय तहको कृषि शाखाले नै रासायनिक विषादी प्रयोग गर्न कडाई गर्नुपर्छ।
उनले भने, ‘धेरै मौरी पालक किसान मारमा परेका छन्। विषादी हाल्दा स्वास्थ्यलाई पनि असर गर्छ भन्ने कुरा बुझेर पनि मान्छेले टेर्दैनन्।’
मौरी मर्नु र महको उत्पादन घट्नुमा अर्को मुख्य कारण मौरीलाई चरन अभाव पनि भएको किसानहरूको भनाइ छ। खासगरि फूल फुल्ने प्रजातिका बाली लगाउने क्रम घटेकाले मौरीलाई चर्ने स्थानको अभाव हुन थालेको किसान देवी दाहाल बताउँछिन्।
उनले भनिन्, ‘तोरी, फापरजस्ता बाली लगाउन मान्छेले छोडिसके। बरु खेत बाँझो राख्छन्। अनि मौरीले रस कहाँबाट पाउनु?’
तीन तहका सरकारले मौरी संरक्षणका लागि कार्यक्रम नै बनाएर कार्यान्वयन गर्नुपर्ने अवस्था आएको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताए।
तिमल्सेनाले भने, ‘बालीमा मौरी चर्दा बाली बिग्रिन्छ भन्ने मानिसमा गलत मानसिकता छ। तर त्यो होइन। मौरी चर्दा बालीलाई केही हुँदैन। मौरी संरक्षणका विषयमा तीन वटै तहका सरकारले कार्यक्रम ल्याउनु पर्छ।’
अघिल्लो वर्ष देशभर करिब ६५ टन मह उत्पादन भएको र गत वर्ष त्यस्को मात्रा घटेर ३५ टनमा झरेको नेपाल मौरीपालक महासंघका पदाधिकारी बताउँछन्। यस वर्षको उत्पादन भने भर्खर आउन थालेको किसानहरुले बताएका छन्।