लालबाबु पण्डितसँग भिडियो अन्तर्वार्ता

‘वामदेव पार्टी फुटाउने मुख्य कारक’

+
-

काठमाडौँ – एकता भएको ३० महिनामै नेकपामा फाटो आएपछि अधिकांश नेताहरुले आफ्नो कित्ता स्पष्ट पारे पनि केही नेताहरु अझै एकताकै पक्षमा उभिएका छन्। उनीहरुको दाबी पत्याउने हो भने नेकपा एकताको सम्भावना अझै छ।

यस्तो दाबी नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितको पनि छ। उनले नेकपा एकताका लागि प्रयास गरिरहेको र एकता सम्भव भएको भन्दै आफू कुनै पनि समूहतिर नगएको बताएका छन्।

योसँगै देशसञ्चारसँगको भिडियो अन्तर्वार्तामा उनले नेकपामा यो तहको संकट आउनुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओलीसँगै उपाध्यक्ष वामदेव गौतम पनि मुख्य दोषी रहेको विश्लेषण गरेका छन्। यी नेताहरुको बोली र व्यवहारबारे पनि नेता पण्डितले खुलेरै टिप्पणी गरेका छन्। प्रस्तुत छ उनीसँग लिइएको भिडियो अन्तर्वार्ताको सम्पादित अंशः

देशको पछिल्लो राजनीतिक अवस्थालाई कसरी नियाल्नु भएको छ?

संसद विघटन भएको छ। केही राजनीतिक दलहरु सडकमा छन्। सरकार पनि सडकमा छ। चुनावको घोषणा पनि भएको छ। चुनाव हुन्छ भन्नेमा जनतालाई विश्वास पनि छैन। राजनीतिक दलहरुले चुनावी वातावरण बनाउने भन्दा संसद पुनर्स्थापनाका लागि सडकबाट दबाब दिइरहेका छन्।

अब संसद पुनर्स्थापना होला या चुनाव ?

यो विषयको मुद्दामाथि सर्वोच्च अदालतमा बहस भइरहेको छ। संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई छ।

सर्वोच्च अदातलले सही फैसला गर्नेमा म र अन्य राजनीतिक दलका नेताहरु आशावादी छन्। सर्वोच्चमा पुगेको मुद्दामा मैले आफ्नो बुझाई सार्वजनिक गर्न हुन्न।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु ठिक थियो?

संसद विघटन गर्ने व्यवस्था अहिलेको संविधानले गरेको छैन। तर प्रधानमन्त्रीज्यूले एकैपटक आफ्नो परीक्षा नलिकन संसद विघटन गर्नु भएको छ। यो गलत छ। यसको मैले पनि विरोध गरिरहेको छु। प्रधानमन्त्रीले संसद विघटन हतारमा गर्नुभयो।

नेपालको इतिहासमा कुनै पनि सरकारले पूर्णअवधिभरी काम गर्न नसकेको अवस्थामा मैले यो सरकार पाँच वर्ष टिक्नुपर्छ भन्ने मान्यता राखेको थिएँ। देखिएका हरेक किसिमका समस्या समाधान गर्दै सरकार पाँच वर्ष टिक्नुपर्छ भनेको थिएँ।

त्यो विश्वासमा अहिले पनि म अडिग छु। तर यो बीचमा जसरी प्रधानमन्त्रीज्यूले संसद विघटन गर्नुभयो त्यसले गर्दा मेरो मान्यतामा परिवर्तन आएको छ। संसद विघटन संविधानसँग जोडिएको छ। तर पार्टी विभाजन भइनसकेको अवस्थामा केही सम्भावनाहरु पनि बाँकी नै छन्।

तपाईँले अहिलेको अवस्थालाई पार्टी विभाजन मान्नुहुन्न?

अहिले वैधानिक रुपमा पार्टी विभाजन भएको होइन। चिरा परेको हो। आ–आफ्नो पक्षबाट म वैधानिक हुँ भनेको अवस्था थियो। निर्वाचन आयोगले अहिले नेकपा नफुटेको भनिसकेको छ। म पार्टी एकताकै पक्षमा छु।

तपाईँ एक्लैले पार्टी एकता गर्न सक्नुहुन्छ?

मलाई अझै पनि पार्टी एकता हुन्छ भन्ने विश्वास छ। म त्यसका लागि लागि रहेको छु। कति सफल कति असफल भविष्यले बताउला। तर मुलुकको आवश्यकता र कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन पार्टी एकता गर्न आवश्यक छ।

सानासाना पार्टी जुटेर नेकपा भएकाले यसलाई बचाउनुपर्छ। कसलाई के नाफा कसलाई के बेफाइदा भनेर नेताहरुले हेर्न छोडेको दिन पार्टी एकता सम्भव छ।

तपाईँ माधव नेपाल पक्षको नेता भनेर चिनिनुहुन्छ? अहिले म कतै पनि छैन भन्दै हुनुहुन्छ किन?

मैले तत्कालिन नेकपामा माधव नेपाल प्यानलबाट उपाध्यक्ष पदमा चुनाव लडेको हो। महाधिवेशन सकियो। मैले यो प्यानल पनि सकियो भन्ने ठानेँ। त्यसपछि पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भयो। नेकपा बनेपछि पुरानो धङधङी बोकेर बस्न आवश्यक छैन।

मैले मन्त्रिमण्डलमा हुँदा खेरी पनि वा पार्टीको अन्य जिम्मेवारीमा हुँदा खेरी पनि सबै धङधङी बिर्सिसकेको छु। तर कहीँकतै धङधङी छ भने त्यसमा मेरो सरोकार रहेन भन्ने कुराको विश्वास दिलाउन चाहन्छु।

के कारणले पार्टी दुई चिरा भयो?

पार्टी दुई चिरामा विभक्त हुनुमा सिद्धान्तको कुरा कहीँ पनि छैन। कार्यशैलीको कुरा छ। कार्यपद्दतिको कुरा छ। पद भागबण्डाका क्रममा मेरो र तेरो भाग भन्ने हिसावमा विवाद भएको थियो। मेरो मान्छेले नपाउने ? तेरो मान्छेले पाउने भन्नेमा पार्टी अल्झियो।

कुनै पनि अवसरलाई अन्तिम अवसर मानियो भने अवसर खोसाखोस हुन्छ। झगडा त्यहीँबाट सुरु हुन्छ। तर भविष्य सुदृढ गर्ने हो, अवसर आउँछ भन्ने सोचेको भए या मेरो पालो फेरि आउँछ भन्ने विश्वास राखेको भए पार्टीमा यस्तो अवस्था आउने थिएन।

एकताका बेला नै जहाजका दुई पाइलट हुन्छन्। एउटा मुख्य, एउटा कोपाइलट हुन्छन्। दुवै पाइलटले बराबरी स्थानमा जान कोशिस गरेपछि यो के हुन्छ? एउटालाई प्रथम अध्यक्ष अर्कोलाई दोस्रो भनिएका बेला दुवै बराबरी भन्न थालिएपछि नेकपामा असहज परिस्थिति सिर्जना भएको छ।

ठूलाठूला पार्टी कमिटी व्यक्तिलाई खुसी बनाउन गठन गरियो। यो पनि विवादका कारक हुन्। अस्वाभाविक संगठनात्मक रुपले गर्दा पनि पार्टी विभाजन भएको हो। केही बाह्य प्रभाव पनि छ पार्टी दुई चिरा हुनुमा।

ओली र प्रचण्डमध्ये कसलाई बढी दोषी देख्नुहुन्छ?

पार्टीले प्रधानमन्त्रीको चयन गरेपछि आधा/आधा प्रधानमन्त्रीको कार्यकाल माग्नु प्रचण्डको गल्ती थियो। त्यसपछि आधा/आधा सरकार चलाउने भनेर गरिएको गोप्य सम्झौता नै पार्टी फुटको मुख्य कारण हो। अर्थात जुन दिन प्रचण्डले मलाई पनि प्रधानमन्त्री आधा समय चाहिन्छ भनेर माग्नु भयो त्यतिबेला देखिनै पार्टीमा समस्या सुरुवात भएको हो।

यो अस्थिरताको जडको रुपमा देखा परेको थियो। पार्टीले स्थायित्व दिने भनेर एजेण्डा बनाएर चुनाव जित्ने भनिसकेपछि सरकारलाई अघि बढ्न असहज हुने आधा/आधा प्रधानमन्त्री चाहियो भन्न मिल्छ? त्यसपछि फेरि मैले पाँचै वर्षका लागि प्रधानमन्त्री पद छोडिदिएँ भन्न मिल्छ? अनि फेरि पनि सरकार सञ्चालनमा अवरोधक बन्न मिल्छ?

भनेपछि प्रचण्डले सरकार सञ्चालनमा अवरोध गरेका थिए?

सरकार सञ्चालनमा अवरोध पहिले पनि भएकै हो। तर त्यो अवरोधलाई पन्छाउँदै गइरहेका बेला ठूलो अवरोधको रुपमा अविश्वासको प्रस्ताव आएको हो।

अविश्वासको प्रस्ताव सरकार सञ्चालनमा महाअवरोध बनेको हो। तर त्यसको संसदभित्र सामना गर्नुको सट्टा संसदबाहिरबाटै संसद विघटन गर्नु पनि प्रधानमन्त्रीको भुल हो।

प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तपाईँको पनि हस्ताक्षर छ। अहिले आएर तपाईँ बदलिएको भन्ने आरोप पनि छ नि?

मैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छैन। तर विभिन्न प्रयोजनका लागि गरेको मेरो हस्ताक्षरको नक्कल राखिएको छ अविश्वासको प्रस्तावमा। त्यसमा मैले आपत्ति जनाइसकेको छु।

पार्टी विभाजन हुनुमा वामदेवको पनि मुख्य हात छ भनिन्छ?

मैले चुनाव जितेपछि वामदेवलाई भेट्न उहाँकै निवासमा गएको थिएँ। त्यो बेला उहाँले म चुनाव हारेकै हो भन्नु भएको थियो। म अब प्रधानमन्त्री बन्नका लागि मात्रै संसदमा जाने हो भन्ने उहाँको भनाई थियो। सांसद बन्नका लागि मात्रै म संसद जान्न भनेर उहाँले भन्नु भएको थियो।

पछिल्लो समयमा आएर विभिन्न ठाउँमा कहिले डोल्पा, कहिले काठमाडौँबाट चुनाव लड्ने भन्नुभयो। ठाउँ खाली गराएर भए पनि चुनाव लड्ने अडानमा उहाँ हुनुहुन्थ्यो। पोखरामा ठाउँ खाली भएपछि उम्मेद्वार बन्नुहोस् भन्दा उहाँले विज्ञप्ति निकालेर म उम्मेद्वार बन्दिन भन्नुभयो।

त्यसपछि उहाँ विचलित भइरहनु भयो। नेकपा सचिवालयमा वामदेव यता र उता निरन्तर नगरेको भए पार्टी फुट्ने थिएन। वामदेव प्रधानमन्त्रीविरुद्ध बहुमत तयार पार्ने काममा लागेकै हो। ओलीविरुद्ध म दृढतापूर्वक उभिन्छु भन्दै ठूला नेताहरुको समिकरण बनाएकै हो। र अविश्वासको प्रस्ताव निर्माणको वातावरण तयार पार्ने काम वामदेवबाट भएकै हो।

ओलीविरुद्ध गुट भेला निरन्तर हुनुमा पनि वामदेवकै हात छ। कहिले प्रचण्ड निवास, कहिले होटल र कहिले आफ्नै निवासमा वामदेवले ओलीविरुद्ध गुटको भेला गर्नु भएको हो। ती भेलाहरुमा उहाँले म अब ओलीविरुद्ध चट्टान जस्तै उभिन्छु पनि भन्नु भएको हो। वामदेवले सबैभन्दा पहिले दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने भन्दै माग गर्नु भएको हो।

अहिले वामदेवले म तठस्थ भन्दै आउनु भएको छ। यसलाई कसरी लिनु भएको छ?

पहिले पार्टी फुटाउन सबैभन्दा ठूलो भूमिका निभाउने अनि तठस्थ छु भन्न मिल्छ? यस्तो गर्न नैतिकताले दिन्छ? उहाँका आफ्ना महत्वकाँक्षा पुरा हुने स्थिति देखिएन। त्यसपछि उहाँ फेरि पार्टी एकताको अभियानमा जुट्नु भएको हो।

उहाँले एकता अभियान आफ्ना लागि गर्नु भएको हो। उहाँ प्रधानमन्त्री या पार्टी अध्यक्ष बन्ने स्थिति आयो भने एकता अभियान सफल बनाउनुहोला। नत्र भने उहाँ आफ्नै पार्टी बनाउने योजनामा हुनुहुन्छ। त्यसपछि नेकपा तीन वटा धारमा विभक्त हुनेछ। त्यसैले वामदेवको अभियानमा मेरो समर्थन छैन।

वामदेवले आफ्नो अभियानमा तपाईँलाई बोलाउनु भएन?

उहाँले बोलाउनु भएको हो। तर उहाँको आफ्नो स्वार्थका लागि सुरु गरेको अभियानमा म कसरी सामेल हुने? म आफ्नै अभियानमा छु।

तपाईँ एक्लैले सुरु गरेको अभियान सफल हुन्छ त?

मेरो अभियान सफल हुनेमा मलाई विश्वास छ। सफल भएन भने कुनै एक पक्षमा मलाई पनि जानु पर्ने हुन्छ। त्यो कुन पक्ष भन्ने मैले अहिले छिनोफानो गर्दिनँ। म एकताको पक्षमा छु। मैले दुवै पक्षका नेताहरुसँग छलफल चलाइरहेको छु।

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालसँग तपाईँ किन असन्तुष्ट?

मैले मेरो जीवनमा पहिलो पटक प्रचण्ड कमरेडलाई भेटेका बेला उहाँलाई कसरी निर्णय गर्दै आउनु भएको छ भनेर सोधेको थिएँ? उहाँ भूमिगत भएर बाहिर आएपछि मेरो छेउमा सुरेन्द्र पाण्डे कमरेड पनि हुनुहुन्थ्यो।

प्रचण्डले त्यतिबेला भन्नु भएको थियो,‘मैले मेरो दिमागमा चाहे कुरा होस् चाहे काम होस् ड्याङ्ग गरिहाल्छु। त्यसपछि मात्रै त्यसको सकारात्मक या नकारात्मक नतिजा बुझ्नतिर लाग्छु। सकारात्मक या नकारात्मक नतिजाबारे मेरो सोच्ने चलन छैन।’ र, राजनीतिक नेताका लागि त्यो बाटो दुःखदायी बाटो हो भन्ने मलाई लागेको थियो।

अहिले उहाँ  पार्टीको अध्यक्ष भएका बेला पनि सम्हालिन सक्नुभएन। म एकताका लागि सम्हालिन आग्रह गर्छु।

तपाईँले प्रचण्डको कार्यशैली गलत केपी शर्मा ओलीको सही भन्न खोज्नु भएको हो?

मैले त्यसो भनेको होइन। त्यसो भन्न खोजेको पनि होइन? प्रधानमन्त्री जेलमा भएको बेला म पनि सोही जेलमा परेको थिए। उहाँले जेलमा मलाई स्वागत गर्नु भएको थियो। ४२ वर्ष भयो। प्रधानमन्त्रीलाई राम्रो लाग्यो भने दृढतापूर्वक उभिनुहुन्छ। तर संकुचित घेरामा उहाँ पनि बस्दै आउनु भएको छ।

अति विश्वास भएका मानिसले जे भने पनि जायज, थोरै विश्वास नभएका मानिसले जे भने पनि नाजायज भन्ने उहाँको चलन छ। यस्तो संकुचित घेरामा नबस्न म उहाँलाई पनि आग्रह गर्छु।

संकुचित घेरा भन्दा देश र अभियान ठूलो कुरा हो। पार्टीलाई एक बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो। प्रधानमन्त्री ओलीले आक्रोश, आवेक र अपरिपक्क रुपमा संसद विघटन गर्नु भएको हो। उहाँको यो कदमले मुलुक संकटमा फसेकै हो।

माधव नेपालको साथ किन छोडेको तपाईँले?

माधव कमरेड एक असल नेता हुनुहुन्छ। बेलाबेलामा कोहीकोहीले उहाँलाई भड्काउने काम गर्छन् त्यता पनि लाग्ने उहाँको बानी छ। यस्तो बानी हटाउनुहोस् भन्ने मेरो सुझाव छ उहाँलाई। म एकताको पक्षमा छु, सबै नेता मेरा लागि बराबर हुन्।

चुनाव होला भन्नेमा विश्वास छ कि छैन?

जनतालाई चुनाव हुनेमा विश्वास छैन। मलाई चुनाव हुन्छ जस्तो लाग्दैन। सर्वोच्च अदालतको निर्णय यसमा निर्भर गर्छ। सर्वोच्चले चुनाव गर्ने ढोका खोल्यो भने हामी जंगलमा लुक्न जाने स्थिति रहन्न। हामी त्यस किसिमको पार्टी पनि होइन।

भिडियो हेर्नुहोस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?