
झापा – नेपाल सरकारले नेपालको पूर्वी नाका काँकरभिट्टा खुल्ला गर्ने भने पनि उक्त नाका पूर्ण रुपमा खुल्ला भएको छैन।
तर, झापाको अर्को खजुरगाछी नाकाबाट काँकरभिट्टा नाकाको जस्तो नेपाल-भारत आवतजावत गर्ने मानिसहरूको रेकर्ड राखेर आवतजावत गर्ने दिइने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।
उनले भने, ‘पहिलाकै जस्तै पूर्ण रुपमा खुल्ला गर्ने भनिएको छैन। नेपाल आउने मानिसहरूको रेकर्ड राखेर आउन दिइने भनिएको हो। मानिस बोकेर सवारी साधन आउने जाने भन्ने होइन।’
उनले भारतीय नागरिक नेपाल आउँदा ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य ल्याउनु पर्ने बताए।
भारतीय नागरिकले सिसिएमसीको वेभसाइटमा राखिएको एउटा फर्म भरेर त्यस्को प्रिन्ट बोकेर ७२ घण्टाको पिसिआर रिपोर्ट ल्याउनु पर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।
कोरोना महामारीका कारण नेपाल-भारतबीचका बन्द भएको काँकरभिट्टा नाका खुलाउन दबाब दिन विगत लामो समयदेखि नाका क्षेत्रमा रहेका व्यवसायीले प्रदर्शन गर्दै आएका थिए।
खासगरि भारत जाने र नेपाल आउने मानिसहरूमा केन्द्रित नाकाको व्यवसाय चौपट्ट भएको भन्दै उनी आन्दोलिन बन्दै आएका हुन्।
झापाको मेचीनगर नगरपालिका ६ का वडाध्यक्ष ललित तामाङका अनुसार नाकाबारे शुक्रबार जनप्रतिनिधिको बैठक बसेको थियो।
उनले भने, ‘नाका पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ। नाका खुलाउनेबारे भारतको पश्चिम बंगाल राज्य सरकार सकारात्मक भइनसकेको हामीले बुझ्यौं।’
लामो समय व्यवसाय गर्न नपाएका व्यवासायीले भने नाकालाई सहज भन्दा अझै असहज बनाएको बताएका छन्।
भारतीय नागरिकका लागि सिसिएमसीको रेकर्ड फर्मको प्रिन्टप्रति र ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिनु नाकालाई अझ असहज बनाउने काम भएको काँकरभिट्टाका एकजना व्यवसायी नेत्र कार्कीले बताए।
उनले भने, ‘खुल्ला भन्ने आश थियो अझै कडा पो भयो।’