
काठमाडौँ- धुलाम्मे र पट्पटी फुटेका खाली खुट्टा। ठेस लागेका घाउ आलै छन्। धोती असरल्ल छ। ठाउँठाउँमा च्यातिएको। आफ्नै कपडा सम्हाल्न मुस्किल परेको छ महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर ४ की ७० वर्षीया मनमाया विश्वकर्मालाई।
अनुहार चाउरी परेका छन्। बुढ्यौली शरीर कापेको छ। शुक्रबार नारायणहिटी संग्रहालयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शनमा उपस्थित गराइएकी एक पात्र थिइन् विश्वकर्मा।
तर उनी आफू उभिएको ठाउँबारे अनविज्ञ थिइन्। न त उनी नेताहरुको भाषण बुझ्न सक्थिन्।
‘तपाईँ यहाँ किन आउनु भएको?’
उनको जवाफ थियो, ‘शहर हेर्न जाम भनेकोले यहाँ आएको। तर कहाँ पो आइयो थाहा छैन!’
मनमायाले न प्रधानमन्त्री ओलीलाई चिन्छिन् न उनी पक्षका नेताहरुलाई। त्यसैले ओलीले भाषण सुरु गर्नुभन्दा पहिल्यै नै उनी घर फर्कने हतारोमा थिइन्।
खाली खुट्टा बिझाइरहेको थियो उनको।
‘किन तपाईँ खाली खुट्टा?’
मनमायाको जवाफ थियो, ‘चप्पल छैन। चिनेजानेकाले किन्देनन्। गाउँका नेतालाई पनि किन्देउ भनेँ किन्देनन्।’
मनमायाले आफ्नो वास्तविकता बताइरहँदा उनीसँगै रहेका र उनलाई काठमाडौँ लिएर आएका उनका छिमेकी एक पुरुषले झर्किँदै भने, ‘यी दिदी के भन्छिन् के?’
ती वृद्धाले झुट बोलुन् भन्ने अपेक्षा ती पुरुषमा भएको सहजै बुझ्न सकिन्थो, उनको व्यवहारबाट।
ती पुरुषले भने, ‘यी दिदीले सरकारको वृद्ध भत्ता खान्छिन्। सरकारको कार्यक्रममा आउनुपर्छ भनेर उनलाई हामीले ल्याएको हो।’
विश्वकर्मासँगै उनको गाउँबाट आएका २५ जना वृद्धवृद्धाहरु नारायणहिटी संग्रहालयअघि एकै ठाउँमा उपस्थित थिए। तर उनीहरु पनि विश्वकर्माजस्तै ओलीको बृहत् सभाबारे अनविज्ञ थिए। सांस्कृतिक कार्यक्रम हुँदा बेलाबेला उनीहरुले ताली बजाए। तर नेताहरुले भाषण सुरु गरेपछि आफ्नै सुखदुःखका गफमा भुले।
सरकारको कुनै कार्यक्रम थिएन यो। ओलीले आफूबाट अलग भएका विरोधी समूहलाई शक्ति देखाउने कोशिस गरेको स्पष्ट देखिन्थ्यो। त्यसको नकारात्मक प्रचार नहोस् भन्नेमा आयोजक चनाखो देखिन्थे। देशसञ्चारलाई ती वृद्धवृद्धाहरुसँग थप कुराकानी गर्न ओली पक्षका स्वयंसेवक युवाहरुले रोक्ने कोशिस गरे।
तर मनमायासँग यी सबै दाउपेचको कुनै ज्ञान थिएन। मनमायाले हात जोड्दै यथार्थ बाहिर ल्याउने कोशिस गरिन्, ‘मलाई केही थाहा छैन बाबु। रमाइलो हेर्न जाम् भनेकोले आएको हुँ। अब घर कसरी जाने भन्ने चिन्ता मात्रै हो।’
०००
केहीबेरमा मनमायाहरु जस्ता मानिसको भीड हेरेर मञ्चबाट प्रधानमन्त्री ओलीले घोषणा गरे, ‘सडकमा हाम्रो समर्थनमा उभिनु भएका जनताबाट नै हामी आधिकारिक पार्टी हौँ भन्ने पुष्टि हुन्छ। हाम्रो पार्टी नै मूल पार्टी हो।’
त्यतिञ्जेल खाली खुट्टा खोच्याउँदै मनमाया केही अघि बढ्दै थिइन्। मनमायासँगै आएका वृद्धवृद्धा छट्पटिँदै थिए। ओलीले शुक्रबारको जनसभा ‘कास्टिङ’ मात्रै भएको घोषणा गरे।
उनले भने, ‘जनतालाई दुःख दिने मनशाय होइन। यो कास्टिङको रुप मात्रै हो। आगामी दिनमा काठमाडौँका विभिन्न सडकमा स्क्रिन राखेर सभा गर्नुपर्ने हुनसक्छ। १ गते बुटवलमा देखाउने छौँ। ८ गते विराटनगरमा।’
ओलीले इतिहासकै सबैभन्दा ठूलो आमसभाका रुपमा नारायणहिटी संग्रहालयअघिको शुक्रबारको आफ्नो सभालाई दर्जसमेत गराए।
ओलीको शुक्रबारको शक्ति प्रदर्शनमा मानिस आ–आफ्नो बुझाइसहित सामेल भएका थिए। कोही मनमाया जस्तै शहर हेर्न आएका थिए। कोही नेकपाको विवादबारे स्पष्ट हुन।
कोही पार्टी एकताका लागि कुरा उठाउन पाइन्छ भन्ने सुनेर आए। कोही शिक्षकको निर्देशनमा स्कूल र कलेजबाट सोझै आए। दर्जनौँ बढी भारतीय नागरिक भेटिए। उनीहरुलाई प्रधानमन्त्री ओलीले राम्रो काम गरेकाले हेर्न जाऔँ भन्दै ल्याइएको थियो।
भारतबाट आइ काठमाडौँमा काम गर्दै आएका मोहम्मद सराया तीमध्येका एक थिए। उनले भने, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले खुब राम्रो काम गरेको भनिन्छ। उहाँ कस्तो हुनुहुँदोरहेछ भनेर हेर्न आएको हो।’
कोही भने ओलीले हिन्दुराष्ट्र घोषणा गर्दैछन् भनेको सुनेर आएका थिए। बीच सडकमै गोलवद्ध भएर बसेका सर्लाही गडौता नगरपालिका–२ बाट आएका मोदनारायण महतो, बिक्रम मण्डल, धनञ्जयकुमार साह, नागेश्वर महतो, शिवशंकर ठाकुरले एकै स्वरमा भने, ‘प्रधानमन्त्रीले आज हिन्दुराष्ट्र घोषणा गर्दै हुनुहुन्छ रे। त्यो सुन्न हामी आएको। प्रधानमन्त्रीले जसरी पनि हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ। हामी त्यसको समर्थन गर्छौँ।’
उनीहरुले आफूले सुनेको र बुझेको कुरा भने। पशुपति विकास विकास कोषकी कर्मचारी गोमा बन निकै उत्साहित देखिन्थन्। उनले भनिन, ‘आज प्रधानमन्त्रीले हिन्दुराष्ट्र घोषणा गर्दै हुनुहुन्छ रे। उहाँले हिन्दुराष्ट्र घोषणा गर्नुहुन्छ भन्ने विश्वास छ।’
गोमा नेकपाको साधारण सदस्यसमेत हुन्।
त्यही भीडमा थानकोटका गणेश अधिकारी भेटिए। उनको अपेक्षा पनि बनको भन्दा फरक थिएन। फरक यति थियो अधिकारी नेकपाको सदस्य थिएनन्।
उनले भने, ‘म कम्युनिष्ट होइन। मैले पार्टीको सदस्यता लिएको पनि छैन। आज प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र घोषणा गर्दै हुनुहुन्छ भनेर यहाँ आएको हो। उहाँले यो गर्नुहुन्छ भन्ने विश्वास छ।’
अधिकारीसँगै गौशालाबाट आएका गोविन्दप्रसाद पराजुली ओलीले हिन्दु राष्ट्र घोषणा गर्नेमा विश्वस्त देखिएका थिए। प्रधानमन्त्री ओलीले माघ १२ गते पशुपतिनाथको दर्शन गरेपछि उनले हिन्दुराष्ट्र घोषणा गर्ने अड्कलबाजी बढ्न थालेको छ।
तर उनीहरुको शुक्रबार विश्वास दुई घण्टामै टुट्यो। ओलीले भाषणका क्रममा हिन्दु राष्ट्रको नाम लिएनन्। बरु अहिले उनी समर्थक नेता तथा कार्यकर्ता विभिन्न बहनामा जिल्लाबाट उठाएर ल्याएका मनमाया जस्तै निराश अनुहारको भीडलाई तस्बीरमा कैद गरेर त्यो सार्वजनिक गर्न व्यस्त छन्।
शुक्रबारको ओली पक्षको बृहत जनसभा बाग्मती प्रदेशले आयोजना गरेको थियो। तर सहभागीहरु अधिकांश जिल्ला बाहिरका थिए। कोही मुगुबाट आएका थिए, कोही डोल्पाबाट। कोही ओलीकै गृह जिल्ला झापा र अन्य तराईका जिल्लाहरुबाट।
ओली मञ्चमा देखिनु पहिले उनी पक्षधर शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सभामा उपस्थित सबै जनता सक्कली भएको, पार्टीको अर्को पक्षले देखाउने भीड नक्कली भएको दाबी गरे।
ओली पक्षधर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अर्को पक्षले आह्वान गरेको आम हड्तालकाबीच यो सभामा सहभागी हुन आउनेलाई ‘स्कर्टिङ’ गरेर काठमाडौँ ल्याउन बुधबार नै मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका थिए। त्यसैले उनीहरुको काठमाडौँ यात्रामा कुनै अवरोध आएन।
सुदूरपश्चिमबाट आएका युवाहरुले आफ्नो यात्रामा अवरोध नआएकोमा खुशी मनाउ गरे।
‘देशमा पटक–पटक स्थायी सरकार दिन्छु भन्थे नेताहरुले। तर हाम्रो विश्वासमाथि उनीहरुले घात गरे। स्थायी सरकारका लागि हामी जुनसुकै आन्दोलन गर्न तयार छौँ,’ कैलाली टिकापुरबाट आएका ललित ताम्राकारले भने,‘आज पनि हामी स्थायी सरकारका लागि यहाँ आएका हौँ। पदका कारण पार्टी फुटाइएको हो। हामी त्यसको विरुद्धमा छौँ। त्यसैले यहाँ आएको हो।’
सभामा सहभागि हुन आउनेलाई सहज वातावरण बनाउन निर्देशन दिएका बादल मञ्चमा विराधीहरुप्रति आक्रामक देखिए।
उनले भने, ‘मांसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधान र कानुनले अपराध घोषित गरेको छ। मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिन्छ।’
त्यो अभिव्यक्ति ‘जनयुद्ध’ताका बादलका नेता रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित थियो। पछि ओलीले पनि बादलको अभिव्यक्तिलाई समर्थन जनाए।
ओलीको प्रश्न थियो, ‘मांसाहारी आन्दोलन भनेको नरभक्षी हो?’
केहीदिन अघि ओलीबाट अलग भएका ‘प्रचण्ड’ले एक सार्वजनिक कार्यक्रममा ओलीविरुद्धको आन्दोलन शाकाहारी मात्रै भएर नहुने बताएका थिए। तर त्यसको तीब्र आलोचना भएपछि उनले आफ्नो अभिव्यक्ति सच्याएका थिए।
‘राष्ट्रवाद’को मुद्दा उठाउन सिपालु ओलीले शुक्रबार पनि त्यसको प्रयोग गरे। उनले पहिले चीनसँग पारवहन सम्झौता गर्दा आफूलाई प्रधामन्त्रीबाट हटाइएको र अहिले नयाँ नक्सा छाप्दा फेरि हटाउन खोजेको दाबी गरे।
तर समानान्तर नेकपाका नेता भीम रावलले ट्वीटरमार्फत शुक्रबार ओलीले गरेको भाषणलाई लक्षित गर्दै उनलाई ‘चटके’को संज्ञा दिएका छन्।