
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलित नेकपाका नेता रामकुमारी झाँक्रीको अभिव्यक्तिबाट राष्ट्रपति विद्यादेवी भण्डारी अपमानित भएको विषयलाई प्रमाण मान्दै प्रहरीले उनलाई गिरफ्तार गरेपछि त्यसको सर्वत्र आलोचना सुरु भएको छ।
प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले आफूलाई राज्यविरुद्धको कसुर अन्तर्गत मुलुकी अपराध संहिता २०७४ दफा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको पुष्टि गरेकी छन्। र, उनले अन्तिम लडाईँ भएको र आफ्नो ठाउँमा डटौँ भन्ने अभिव्यक्ति पनि दिएकी छन्, प्रहरीकै घेराभित्रबाट।
दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।
उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन नहुने’ व्यवस्था गरिएको छ।’
यस्तै सोही दफाको उपदफा २ मा ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भन्ने उल्लेख छ।
दोषी प्रमाणित भए झाँक्रीले ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय भोग्नुपर्नेछ।
प्रचण्ड–प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा गिरफ्तार
झाँक्रीको गिरफ्तारीलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतन्त्र, संविधानबाट अधिकार पाएका जनतामाथि सर्वसत्ताबादीको दृष्टिकोणबाट गरिएको आक्रमण र अपहरण भएको प्रतिक्रिया दिएको छ।
झाँक्रीको गिरफ्तारीलाई लिएर गम्भीर आपत्ति जनाएको यो पक्षले उनलाई तत्काल रिहा नगरे जुनसुकै कदम चाल्ने चेतावनी दिएको छ। यो पक्षले नेता झाँक्रीको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेको छ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेता झाँक्रीलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसमा गम्भीर आपत्ति जनाएका छन्।लोकतन्त्रको पक्षम विचार राखेको भरमा प्रहरीले झाँक्रीलाई पक्राउ गर्नुको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको नियती लुकेको दाहालले आरोप लगाएका छन्। यो घटना आफ्नो पार्टीका लागि चुनौति पनि भएको दाहालको प्रतिक्रिया छ।
अष्टलक्ष्मी –गलत काम गरेकाले राष्ट्रपतिविरुद्ध बोल्न पाइन्छ
यो पक्षकी नेता अष्टलक्ष्मी शाख्यले गलत गरिरहेकी राष्ट्रपतिविरुद्ध बोल्न पाउने अधिकार संविधानले सुरक्षित गरेको भन्दै आत्तिनु पर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएकी छिन्। झाँक्रीको गिरफतारीलाई लिएर नेता नेपालले सरकारले अराजकताको सीमा नाघेको भन्दै अब यो धेरै समय नटिक्ने प्रतिक्रिया दिएका छन्।
गगन-प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?
झाँक्रीको गिरफ्तारीलाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरु पनि आक्रोशित भएका छन्। नेपाली काँग्रेसका नेता गगन थापाले भनेका छन्–कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’
यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र झाले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको प्रतिक्रिया दिएका छन्। संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको उनको टिप्पणी छ। रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भत्सर्ना गर्दछु विना शर्त रिहा गर्न उनले आग्रह गरेका छन्।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष कमल थापाले नेकपा नेत्री रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस् । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।’
सञ्चारकर्मी रवि लामिछानेले भनेका छन्–सरकारले आलोचकलाई थुन्ने नीति लिएछ। गलत भयो। यो अशुभ संकेत हुन सक्छ है। राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो। राम कुमारी झाक्रीलाई तुरुन्त रिहा गरियोस् ।