
बुटवल – नेकपा (ओली खेमा) का स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वजनमुक्ति सेनाका शिविरहरूमा भएका घोटालाको खोजी गर्न आग्रह गरेका छन् ।
शिविरमा घोटाला गर्नेहरुको खोजी गरि कारवाहीका लागि तयार हुनुपर्ने उनले बताएका छन् । ‘जति पैसा त्यसबेला घोटाला भएको थियो, त्यही बराबरको पैसा तपाईँहरूको कल्याणकारी कोषमा जम्मा गर्ने जिम्मा लिन म तयार छु’ उनले भने।
उनले ‘जनयुद्ध’ को नेतृत्व कुहिएको आरोप लगाए । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात ‘प्रचण्ड’ कुहिएको आरोप उनले लगाए ।
प्रचण्डले जनमुक्ति सेनाको सपनालाई धोका दिएको भन्दै पोखरेलले इतिहासको लिगेसीका आधारमा जनमुक्ति सेनालाई बन्धक बनाउन खोजेको बताए।
उनले पूर्वजनमुक्ति सेनाका सपनालाई साथ दिन सरकार तयार रहेको पनि बताए ।
‘जनयुद्धका कमाण्डरले तपाईँहरूको बारेमा सोच्नुभएन, आफ्नाबारेमा सोच्नुभयो, आफू शक्तिमा गएपछि तपाईँहरूलाई बिर्सिनुभयो । हामी त्यसो गर्ने छैनौँ’ उनले भने।