
काठमाडौँ- फागुन १ गते ‘जनयुद्ध’ सुरुवात भएको दिन।पूर्व माओवादीहरुले यसलाई जनयद्ध दिवसका रुपमै मनाउँदै आएका छन्। शनिबार जनयुद्ध सुरु भएको २५ वर्ष भएको थियो।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानैदखि चटारोमा देखिन्थे, सम्बन्धित पुस्तक विमोचन, कार्यक्रम उद्घाटन र सम्बोधनका लागि।
तीमध्ये डा. बाबुराम भट्टराईको ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन कार्यक्रमको निम्तो प्रचण्डका लागि खास थियो। तर प्रचण्डलाई काठमाडौँका अन्य दुई वटा कार्यक्रम भ्याएर एक सार्वजनिक कार्यक्रमका लागि सिन्धुली पनि नगइ भएन।
हालै आफूसँग अलग भएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जम्मा गरिएका जनतालाई संवोधन गर्नु उनका लागि आफ्नो शक्ति प्रदर्शन थियो।
प्रचण्डले भट्टराईलाई फोन गरे–मलाई सिन्धुली जानैपर्ने भयो। ढिलो होला जस्तो छ। कि म नआए हुन्न? भट्टराईको जबाफ थियो–तपाईँ जसरी पनि आउनुहोस्। ढिलो भएपनि आउनुहोस्। म प्रतिक्षा गर्नेछु।
त्यसपछि प्रचण्ड हेलिकप्टरमा सिन्धुली उडे। बालुवाटारको एक प्यालेसमा दिउँसो पौने एक बजे सुरु गर्ने भनिएको कार्यक्रम एक घण्टा ढिलोगरी सुरु भयो।
भट्टराईले प्रचण्डका लागि कार्यक्रम लम्ब्याउन लगाए। कार्यक्रमको अन्तिममा प्रचण्ड हस्याङ्फस्याङ् गर्दै पुगे। उनी कार्यक्रमको हलमा छिर्नासाथ गड्गडाहड ताली बज्यो।
भट्टराईको पुस्तक विमोचन गर्नेमध्येमा प्रचण्ड पनि एक थिए। तत्कालै कार्यक्रमलाई सम्बोधन गरेका प्रचण्डले भने, ‘मलाई थोरै डर लागको थियो यो कार्यक्रममा सहभागी हुन सक्दिन कि भनेर। तर ढिलोचाँडो आइपुगे। खुसी लाग्यो।’
वास्तवमा सम्बन्ध विच्छेदपछि पहिलो पटक प्रचण्ड भट्टराईसँगै सार्वजनिकरुपमा एउटै मञ्चमा देखिँदै थिए। पछिल्लो राजनीतिक परिस्थितिमा त्यो भट्टराईका लागि भन्दा पनि प्रचण्डका लागि खास थियो।
योसँगै भट्टराईको कार्यक्रममा सामेल हुँदा आफू उत्साहित भएको सन्देश प्रचण्डले दिन भ्याए, सुरुवातमै। त्यसपछि प्रचण्डले भट्टराईलाई गरेको सम्बोधनलाई लिएर कार्यक्रमका सहभागीहरुबीच खासखुस भयो।
प्रचण्डले भट्टराईलाई ‘मेरो लामो राजनीतिक जीवन यात्राका सहयोद्धा’ भन्दै सम्बोधन गरेका थिए। अर्को प्रसंगमा उनले भट्टराईलाई घनिष्ट मित्रको संज्ञा पनि दिए। ताली उस्तै बज्यो।
भट्टराईले आफ्नो पुस्तकको २ सय २९ पुष्ठमा ‘कमरेड प्रचण्डसँग स्वीट्जरल्याण्ड’ शीर्षकको लेख पनि समावेश गरेका छन्। जहाँ प्रचण्डसँगै स्वीट्जरल्याण्ड भ्रमण गरेको र त्यो उपलब्धीपूर्ण भएको भट्टराईले उल्लेख गरेका छन्।
त्यसै प्रसंगमा प्रचण्डले भने, ‘किताब हेर्दै जाँदा म र उहाँ स्वीट्जरल्याण्ड भ्रमणमा गएको प्रसंग चाहीँ कोट्याउनु भएको रहेछ। हुन त बाबुरामजी र मेरो धेरै प्रसंग छन्।’
हुन पनि हो, प्रचण्ड र भट्टराईबीचको सम्बन्धमा अनेक आयमहरु छन्। २०५२ फाुगन १ अर्थात आजकै दिनदेखि औपचारिक रुपमा सुरु भएको उनीहरुको सहयात्रामा अनेक उत्तारचढाव आए। कुनै दिन त मारामारको स्थितिसम्म पुग्यो उनीहरुको सम्बन्ध।
‘जनयुद्ध’का बेला प्रचण्ड भन्दा भट्टराई बढी चर्चित थिए। भट्टराईले सुरुवातदेखिनै आफ्नो विचार स्वतन्त्रपूर्वक राख्नु पर्छ भन्ने मान्यता राख्थे। प्रचण्ड भने त्यसमा सहमत थिएनन्। उनलाई पार्टी नेतृत्वले बोलेको कुरा सबैलाई मान्नुपर्छ भन्ने लाग्थ्यो।
उत्तारचढाबकाबीच २०६१ मा रुकुमको लावाङमा भएको बैठकमा प्रचण्डले भट्टराई कारवाही समेत गरेका थिए। तर त्यसको एक वर्षपछि २०६२ मा भएको चुनबाङ बैठकमा लामो रस्साकस्सीपछि प्रचण्ड र भट्टराई पुनः एकै ठाउँमा उभिएका थिए, संसदीय अभ्यास गरिरहेका दलहरुसँग सहकार्य गरेर शान्ति प्रक्रियामा जाने सवालमा।
र शान्ति प्रक्रियामा आएपछि उनीहरुको सम्बन्धमा अझै धेरै खटपट आएको थियो।र पनि राजनीतिक सहयात्रा टुटेको थिएन। तर संविधानप्रति असन्तुष्टि लगायत कारण देखाउँदै २०७२ असोज ९ गतेबाट भट्टराईले प्रचण्डसँग सम्बन्ध विच्छेद्को घोषणा गरे। भट्टराई त्यो बेला प्रचण्डसँग टाढा हुनुमा पार्टीकै अन्तरसंघर्ष महत्वपूर्ण कारण थियो।
भट्टराईले विकास, समावेशी, संघीयता जस्ता विषयमा ठूल्ठूला नारा दिएर नयाँ शक्ति पार्टी खोले। आम चुनावमा भट्टराईले गोरखा- २ बाट राम्रै मत ल्याएपनि उनको पार्टीको अन्तको नतिजा निराजनक बन्यो। त्यसको असर उनको नयाँ शक्तिमा पर्नु स्वाभाविक थियो।
त्यसपछि भट्टराईले संघीय समाजवादी पार्टीसँग एकता गरेर समाजवादी पार्टी नेपाल जन्माए। समाजवादी पार्टी नेपालले राष्ट्रिय जनतापार्टी नेपालसँग आपतकालिन एकता गर्यो गत वैशाखमा १० गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि यी दुई पार्टी रातारात एक भएको घोषणा गरेका थिए। हाल जनता समाजजादी पार्टीका नेता भट्टराई पार्टीका अर्का नेता उपेन्द्र यादवसँग असन्तुष्ट रहेको बुझिन्छ।
प्रधामन्त्री केपी शर्मा ओलीले प्रचण्डसँगको विवाद उत्कर्षमा पुगेपछि विघटन गरेको संसद ब्यूँताउनुपर्ने भन्दै प्रचण्डले सडक आन्दोलनको साहारा लिएका छन्। संसदको पुनःस्थापनाको पक्षमा भट्टराई देखिन्छन्।
उनको पार्टीले पनि ओलीविरुद्ध पटक–पटक सडक आन्दोलन रोजेको छ। ओलीविरुद्ध अलग–अलग अन्दोलन गरिरहेका प्रचण्ड र भट्टराईबीच एकता हुने अड्कलबाजी र त्यसका लागि केही गोप्य प्रयाससमेत भइरहेका बेला उनीहरु एउटै मञ्चमा देखिएका हुन्। प्रचण्डको भनाईलाई आधार मान्ने हो भने उनलाई भट्टराईले निकै कर गरेर आफ्नो पुस्तक विमोचन कार्यक्रममा बोलाएका थिए।
प्रचण्डले भट्टराईलाई लक्षित गर्दै भने, ‘बाबुरामजी र मेरो २५ वर्षको सहयात्रामा, १० वर्षको युद्धमा, १० वर्ष शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा हाम्रा सम्बन्धका धेरै आयामहरु छन्। ती पनि समयक्रममा उद्घाटित हुँदै पनि जाला। तीनको व्याख्या विश्लेषण हुँदै जाला भन्ने लाग्छ।’
भट्टरासँगको एकताको प्रयासमा प्रचण्डले यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनलाई माध्यम बनाएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी खुलेर ओलीको पक्षमा उभिएपछि पुनले पनि राजनीतिक सक्रियता देखाएका थिए। उपराष्ट्रपति पुनकै निवासमा उनलाई साक्षी राखेर भट्टराई र प्रचण्डले एकतालाई लिएर छलफल गरेका थिए।
त्यसपछि पहिलो पटक सार्वजनिक रुपमा भट्टराई र प्रचण्ड एकै ठाउँमा उभिएका हुन्। प्रचण्डको व्याख्या थियो, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ। तर मुद्दाको हिसाबले हामी एउटै मोर्चामा छौँ।र, इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि हामीलाई फेरि चुम्बकले तानेजस्तो एकै ठाउँमा झुन्डाएको छ। हामीलाई अलग हुन दिँदैन।’
प्रचण्ड भट्टराईसँगको सम्बन्धबारे आफू भावुक भएको सन्देश पनि दिने कोशिसमा देखिन्थे। उनले भने, ‘हजारौँ शहीद, हजारौँ घाइते, हजारौँ बेपत्ता योद्धाहरुले हामीलाई अलग हुन दिन्नन्। त्यतिबेला मानवीय संवेदनाका हिसाबमा उच्च रहेको हाम्रो सम्बन्धका कारण हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेको छ।’
प्रचण्डले आफूलाई कर गरेर आफ्नो कार्यक्रमा आउन भनेकोमा पनि पटक–पटक भट्टराईलाई धन्यवाद दिइरहे। साथै यो बेला भट्टराईको ‘गुमनाम आमाहरुको कथा’ आउनुलाई आफूले सामान्य प्राविधिक घटनाको रुपमा मात्रै नलिएको भन्दै घुमाउरो रुपमा आफूहरुको एकताको आवश्यकता औंल्याउने कसरतमा देखिन्थे प्रचण्ड।
उनले भने, ‘गुमनाम आमाहरुको कथाभित्रका संस्मरणहरु र त्यसका पात्रहरुमाथि बाबुरामजीले गरेका विश्लेषणले हामीलाई फेरि एकचोटी गम्भीर आत्मासमिक्षा र विश्लेषण गर्नुपर्ने दिशातिर पुर्याएको छ।’
उनले ओली कदमले मुलुकमा उत्पन्न भएको संकट निरुपणका लागि यो पुस्तकले भूमिका खेल्ने बताए। उनले भने, ‘यो एउटा पुस्तक विमोचनको कार्यक्रम मात्रै ठानेको छैन मैले। फेरि इतिहासलाई समिक्षा गरेर अग्रगमनका लागि या सकारात्मक परिवर्तनका लागि एकचोटी फेरि मोर्चा कसेर अघि बढ्ने संकल्प जस्तो ठानेको छु यो कार्यक्रमलाई।’
कुनै बेला भट्टराईलाई तिखो प्रहार गरेर नथाक्ने प्रचण्ड आज उनको प्रशंसा मात्रै गर्ने मुडमा देखिन्थे। प्रचण्डले भट्टराईलाई लक्षित गर्दै भने, ‘उहाँको लेखन शैली राम्रो छ। उहाँको विश्लेषणात्मक क्षमता जहिले पनि माथि छ। उहाँको बौद्धिकता र भावनात्मक प्रस्तुतीको बारेमा म पहिलेदेखि नै जानकार छु।’
‘जनयुद्ध’का क्रममा भट्टराईसँग मिलेर शहीदको चिहान उत्खनन् गर्ने काम गरेको प्रसंगसमेत निकाले प्रचण्डले। उनको भट्टराईलाई आग्रह थियो–’अब एउटै मोर्चामा संलग्न भएर ओलीविरुद्ध लड्नुपर्छ। उपलब्धीमाथि हमला भएको छ। हामी सबै एक भएर त्यसको प्रतिवाद गर्ने ठाउँमा छौँ। मोर्चा खोलिनै सकिएका छौँ।’
त्यसको सुरुवात यस्ता पुस्तक प्रकाशन, विमोचन र अन्तरक्रियाबाट भएको प्रचण्डको दाबी थियो।
भट्टराईले विद्यामान संविधान समावेशी नभएकाले संशोधनको माग गर्दै आएका छन्। प्रचण्डले यो मामिलामा पनि भट्टराईको मन जित्ने प्रयास गरे। प्रचण्डले वर्तमान संविधान पूर्ण नभएको अर्थात आफूहरुले सोचेजस्तो नभएको बताए।
उनले भने,‘हो यो संविधान पूर्ण छ भनेर हामीले दाबी गरेका छैनौँ। हामीले जस्तो सोचेका थियौँ त्यस्तो भएन। तर पनि यो संविधानमा समावेशी लोकतन्त्र राम्रो प्रस्तुति छ। समानुपातिकको जग बसाउने काम गरेको छ। संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षहरुलाई पनि समावेश गरिएको छ। यद्यपि त्यहाँ केही सम्झौताहरु पनि भएका छन्।’
प्रचण्डले आफू दोस्रो पटक प्रधामन्त्री भएका बेला संविधानका दुई वटा संशोधन प्रस्ताव नै संसदमा दर्ता गराएको भएपनि त्यो सफल हुन नसकेको प्रसंग सुनाए।
अन्तिममा पनि भट्टराईलाई आफूसँगै उभिन आग्रह गरेर प्रचण्डले आफ्नो सम्बोधन टुंग्याए। उनले भने,‘यही संविधानको मूल मर्ममाथि प्रहार भएको छ। त्यसको रक्षा गर्ने र परिमार्जन गर्ने दायित्व हामी सबैको हो। ठिक यसै परिस्थितिमा यो किताव आयो। संकल्पको दिन हो। यो कार्यक्रमले नयाँ आधार, विचार, भावनाको बन्ने। यसको विशिष्ट महत्व छ।’
प्रचण्डले आफ्नो पुरै सम्बोधन भट्टराईसँगको एकताका लागि जोड दिँदा भट्टराईले भने त्यसमा प्रवेश गर्न चाहेनन्। युद्धको अनुभवबारे बताउँदा बेलाबेलामा प्रचण्डको नाम लिएपनि एकै ठाउँमा उभिन प्रचण्डले गरेको आग्रहलाई उनले बेवास्ता गरे।
‘जनयुद्ध’को महत्वमा उनी बढी केन्द्रीत भए। प्रधानमन्त्री ओलीको संसद विघटन असंवैधानिक कदम भएकोमा पनि उनले बढी समय खर्च गरे। ओली कदमविरुद्ध पछिल्लो पटक नयाँ पुस्ता सडकमा आएको र उनीहरुलाई ‘जनयुद्ध’को महत्व बुझाउन आवश्यक भएको भट्टराईले बताए। र, अन्तमा प्रचण्डलाई इंगित गर्दै भट्टराईले भने, ‘म प्रचण्डलाई पनि भन्न चाहन्छु। हाम्रो पुस्ताले लोभलाच देखाउनु हुन्न अब।’