
बुटवल–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकामा शंका व्यक्त गरेका छन्।
नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको विरोध सभामा बोल्दै सभापति देउवाले निर्वाचन घोषणा भएपछि पनि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु नगरेकाले आयोगको भूमिकामा शंका गर्ने ठाउँ रहेको बताए।
‘निर्वाचन आयोगले बदमासी गर्न सक्छ, अहिलेसम्म किन चुनाबको तालिका किन बाहिर निकाल्दैन, उनले भने–चुनाब गराउने हो भने निर्वाचनको प्रक्रिया शुरु गर्नुप-यो, जेठको अन्तिमसम्म चुनाब गराउनैपर्छ, निर्वाचन आयोगको काम यही हो।’
उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना नगरे चुनाबमा जाने गरी कांग्रेस तयार रहेको बताए। ‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ६ महिनाभित्र चुनाब गराइसक्नुपर्छ, चुनाब गराउने काममा ओली पटक पटक भनिरहन पर्छ–उनले भने-‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भएको छ, किन यसले कार्यतालिका किन अघि बढाउँदैन, चुनाबको कार्यक्रम अहिलेसम्म दिइसक्नुपर्ने हो, अदालतको निर्णय पर्खिने काम हैन आयोगको, अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्यो भने स्थगित गरे भैहाल्यो नि।’
उनले नेकपाका अध्यक्षहरु केपी ओली र प्रचण्ड राजाभन्दा पनि बढी भइरहेको भन्दै सडकमा अदालतलाई प्रभावित गर्न सडकमा प्रदर्शन गर्न थालेको बताए।
‘नेकपामा कुर्सीका लागि मारामार भयो, झगडा भयो, यो झगडामा हाम्रो हात छैन, उनले भने–सर्वोच्च अदालतमा मुद्धा छ, अदालतमा विचाराधीन भएको मुद्धामा पक्ष विपक्ष हुन्छ नै, तर अदालतको विरोधमा कसले कति ठूलो जुलुस गर्ने भनेर प्रतिस्पर्धा गर्ने, त्यो हेरेर अदालतले निर्णय गर्छ ? अदालतलाई हामी विश्वास गरौं, संसद पुनस्थापना गरे पनि ठीक छ, चुनाब गराउनेछ भने पनि ठीक छ।’
उनले अदालतलाई यो गर, ऊ गर भन्न नमिल्ने बताउँदै अदालतप्रति विश्वास गर्नुपर्ने बताए। ‘अदालतको निर्णय पर्खिउँ, त्यसपछाडि निर्णय गरौंला, हाम्रो पार्टीमा पनि कसले के भन्छ, कसले के भन्छ, हाम्रो पार्टी स्वतन्त्र न्यायपालिका मान्ने पार्टी हो, न्यायालयले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास छ,–उनले भने–अहिले मुलुकमाथि समस्या आएको छ, त्यसकारण पनि हामीमाथि ठूलो जिम्मेवारी आएको छ, प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि कांग्रेसले नेतृत्व गर्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट नांगिएको र कम्युनिष्टका रुने दिन शुरु भएको बताएका छन्।‘यतिन्जेल केपी ओली सरकार र कम्युनिष्टले जनतालाई रुवाए, उनले भने–अब जनताका रुने दिन सकिए, अब कम्युनिष्ट र केपी ओलीका रुने दिन शुरु भएका छन्।’
उनले प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा विधेयक, मिडिया विधेयकजस्ता विवादास्पद विधेयकहरु ल्याएर मुलुकलाई आफ्नो तजबीजमा चलाउने प्रयास गरेको बताए।
‘यस्ता धेरै विधेयकहरु ल्याएर र संवैधानिक परिषदलाई समेत आफुअनुकुल चलाउने गरी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी ओलीले संविधानको प्रतिकुल काम गर्नुभएको छ, यो अधिनायकवादको यात्रा हो, असंवैधानिक कदम हो।’
उनले नेपालमा ओलीले कम्युनिष्ट अधिनायकवाद ल्याउने प्रयास गरेको भन्दै त्यसको भण्डाफोर गर्ने बताए।
‘राणा, पञ्चायतकालमा जनतालाई मालिक मानिएन, जनताका कुरा सुनिएन, राजतन्त्रकालमा विधिको शासनविरुद्ध कदम चालियो, प्रजातन्त्र खोस्ने प्रयास भयो, जनता सिद्धिएनन्, राजा खोसिए, उनले भने–अहिले ओलीले प्रजातन्त्र, लोकतन्त्र खोस्ने प्रयास गरेका छन्, यसमा पनि जनताले जित्नेछन्, संविधान खोसिनेछैन, लोकतन्त्र खोसिनेछैन, ओली खोसिनेछन्, ओलीतन्त्र समाप्त हुनेछ।’
उनले ओलीलाई एकदिनपनि सरकारमा बस्ने अधिकार नरहेको भन्दै आफ्ना झिटीगुन्टा तयार पार्न आग्रह गरे।
‘जनता ओलीलाई अरु धेरै दिन सरकारमा देख्न चाहेका छैनन्, उनले भने-म भन्न चाहन्छु ओलीजी अब तपाइँ झिटीगुन्टा तयार राख्नुस्, तपाइँलाई यसरी बालुवाटारमा बस्ने अधिकार छैन।’
नेताहरु भरतकुमार शाह, अब्दुल रज्जाक, प्रमोद यादव, रमा अर्याल, रामकृष्ण खाँण, मुक्ति पौडेललगायतले बोल्दै प्रधानमन्त्रीको असंवैधानिक कदमको खुलेर विरोध गर्न र गाउँटोलसम्म भण्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरे।