
काठमाडौँ- संसद विघटनको दुई महिनासम्म मौन रहेका उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विपक्षमा उभिएका छन्।
अक्सर सार्वजनिक कार्यक्रममा भाग नलिने र भाग लिइहालेको खण्डमा राजनीतिक अभिव्यक्ति नदिने उपराष्ट्रपति पुनले संसद विघटनप्रति हाल आएर असन्तुष्टी व्यक्त गरेका हुन्।
नेपाल पत्रकार महासंघको २६ औं साधारणसभाको उद्घाटन समारोहमा उनले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गरेका छन् ।
त्यसक्रममा पुनले राष्ट्रपतिको नाम उल्लेख नगरेपनि संसद विघटनको खुलेर विरोध गरेका हुन्। यसबाट मुलुकमा राजनीतिक र संवैधानिक संकट निम्तिएको उनको भनाइ थियो।
उनले भने, ‘संविधान कार्यान्वयनको सुरुवाति चरणमै संसद भंग हुनु गलत छ। यसले मुलुकको राजनीतिलाई सही दिशामा लग्दैन।’
संसद विघटनको विरुद्धमा सडकमा भइरहेको आन्दोलनलाई उपराष्ट्रपति पुनले समर्थन गरेका छन्।उनले मुलुकमा राजनीतिक संकट उत्पन्न हुन जनताका लागि राम्रो संकेत नभएको स्पष्ट पारेका छन्।
पूर्वमाओवादी पृष्ठभूमिका उपपराष्ट्रपति पुनले संसद विघटनको विपक्षमा पूर्वप्रधानन्यायाधीशहरु समेत उभिएको भन्दै संसद पुनःस्थापना हुनुपर्ने माग गरे।
यसअघि पुनले डा. बाबुराम भट्टराई र ओलीबाट अलग भएका पुष्पकमल दाहालबीच एकता गर्ने गोप्य रुपमा सक्रियता जनाएका थिए।
राष्ट्रपति भण्डारी ओलीको पक्षमा उत्रिएको विषयलाई पुन असन्तुष्ट थिए। त्यसक्रममा संवैधानिक आयोगहरुका पदाधिकारीहरुको शपथग्रहण समारोहमा पुन अनुपस्थित भएका थिए
उनले आफू बिरामी भएकाले उक्त कार्यक्रममा भाग लिन नसकेको जानकारी गराएपनि कारण भने राजनीतिक थियो। ।