
झापा – ध्वनी प्रदुषणको एउटा कारण हो सवारी साधनमा लगाइने प्रेसर हर्न। त्यस्ता हर्नबाट निस्किने चर्को आवाजले मानिसको श्रवण क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन्।
तर त्यही प्रेसर हर्न सवारी साधनका कर्मचारीले लगाइरहन्छन्, ट्राफिक प्रहरीले झिकिरहन्छन्।
सोमबार पुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको टोली सवारी साधनबाट प्रेसर हर्न निकाल्न सडकमा खटियो।
चेकजाँचका क्रममा ठूला सवारी साधन प्रायः सबैमा प्रेसर हर्न जडान गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए।
प्रदेश नं १ मा हर्न बजाउन निषेध छ। तर सवारी साधन हर्न नबजाइ सडकमा गुड्दैनन्।
अब ठूलो आवाज निस्किने प्रेसर हर्न लगाउने सवारी साधनका मालिक तथा कर्मचारीमाथि खरो उत्रने प्रहरी निरीक्षक जबेगुले बताए।
उनले भने, ‘जुन कुरा पाइँदैन भनिएको छ त्यही कुरा नगरि हुँदैन सवारी साधनका कर्मचारीलाई। प्रेसर हर्नले यति धेरै हानी गर्छ भन्दा नसुनेपछि त्यस्ता हर्न निकाल्न हामी खटिएका हौं।’