
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा नेता किरण गुरुङले अहिलेको सबै भन्दा उत्तम विकल्प प्रधानमन्त्रीको राजीनामा नै रहेको बताएका छन्।
देश सञ्चारसँगको कुराकानीको क्रममा नेकपाको ओली खेमाका स्थायी कमिटि सदस्य गुरुङले सर्वोच्च अदालतको फैसला मान्नु पर्ने र सो आधारमा ओलीले पदबाट राजीनामा दिँदा सबैका लागि हित हुने बताएका हुन्।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका उनले भने, ‘संसद विघटनका सम्बन्धमा सर्वोच्चको फैसला आएको छ । त्यसलाई मान्नुको विकल्प छैन। अहिलेका लागि सबैभन्दा राम्रो भनेको प्रधानमन्त्री ज्यूले नैतिकताका आधारमा राजीनामा दिनु नै हो । त्यसपछि बरु संसद फेस गर्न पनि सजिलो होला।’
उनले नेकपा अहिले वैधानिक रुपमा विभाजित नभएकाले अबको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कसरी गर्ने छन् भन्ने हेर्न बाँकी रहेको र उनीहरुको नेतृत्व शैलीकै आधारमा पार्टीको भविष्य निर्धारण हुने बताए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै १३ दिन भित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो ।