
तेल्लोक (ताप्लेजुङ) – ताप्लेजुङ जिल्लाको पूर्वोत्तर स्थानीय तह सिरीजङ्घा गाउँपालिकाले आयोजना गरेको टोल विकास संस्थाका महिला पदाधिकारी तथा सदस्यका लागि नेतृत्व विकास तालिमको कक्षामा देखापरेका सोही गाउँपालिकाको वार्ड नं ६ मामांखेका वडाध्यक्ष सुखराज माबो लिम्बुले सहभागीलाई भने, ‘तपाईंले ज्ञान लिने कुरामा कन्जुस्याईं नगर्नु होला। बरु भत्ता चाहिन्छ भने सिजनमा म मेरा वार्डका सहभागीलाई पाँच केजी अलैँची दिन्छु। तर, तालिम लिएर ज्ञान बाड्ने कुरामा पछि नपर्नु होला।’
सुखराज उमेरले ६१ वर्षका भए। २०३९ सालदेखि उनी अहिलेसम्म पनि जनप्रतिनिधि छन्। पञ्चायत कालमा पनि जनताकै प्रतिनिधि भएर काम गरे। अहिले गणतन्त्रमा पनि जनप्रतिनिधि भएर नै जनताको काम गरिरहेका छन्। उनको घर मामांखेबाट गाउँपालिका कार्यालय आइपुग्न करिब तीन घण्टा हिँड्नुपर्छ।
गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेसँग उनी भन्दै थिए, ‘अलिअलि भएको पैसा पहिरो जाने बाटोमा नछरौँ। बरु प्रत्येक विद्यालयमा विद्युतीय हाजिरी राखौँ। जसले गर्दा कुनै पनि शिक्षक विदामा बसेको कुरा गाउँपालिकालाई थाहा होस्।’
उनलाई गाउँमा शिक्षक बिना सूचना बिदा बस्ने र विद्यार्थी नपढाउने विषयले निकै पिरोलेको रहेछ। उनले फेरि भने, ‘शिक्षामा कन्जुस्याईं नगरौँ, पहिरोमा पैसा नफालौँ।’
उनी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। तर, धेरै ‘परम्परागत कांग्रेसी’ उनलाई मन पर्दैन। उनी भन्छन्, ‘व्यवस्था परिवर्तन भएपछि मानसिकता पनि परिवर्तन हुन जरुरी छ। तर बिडम्बना, हाम्रो देशमा त्यो भएन। म त भन्छु, मै परिवर्तन हुन सकिनँ।’
उनले औपचारिक शिक्षा नलिइ बाँसको खपटामा लेख्ने अभ्यास गरेर लेखपढ गर्न थालेको अनुभव सुनाए। लाहुर जानका लागि शरीरको नापतौल सबै पुगेको तर लडाईंको फिल्म हेरेपछि ‘मरिने रहेछ’ भनेर त्यो अवसरबाट आफू भागेको लिम्बुले सुनाए।
२०३९ सालमै उनी आफ्नो वडामा वडाध्यक्ष भएका थिए। पछि उपप्रधानपञ्च भए। कार्यवाहक प्रधानपञ्च पनि चलाए। उनी २०३६ सालदेखि नेपाली कांग्रेसको सिद्धान्तप्रति आस्थावान थिए।
अहिले र पञ्चायतकालमा गाउँमा योजना पुर्याउँदा उनले पाएको अनुभव गज्जबको छ। पञ्चायतकालमा ३ हजार रुपैयाँ बराबरको योजना गाउँमा पुर्याउँदा जनता खुशी भएर खसी काटेर ख्वाउँथे।
उनी भन्छन्, ‘अहिले त करोडौँको योजना लैजाँदा पनि जनताको अनुहारमा खुसी देखिन्न। यो केले गर्दा भएको हो मलाई थाहा छैन।’
माओवादी सशस्त्र संघर्षका बेला भूमिगत अवस्थामा रहेको उक्त पार्टीलाई सात लाख रुपैयाँ चन्दा दिएको विगत उनले सुनाए।
‘मेरा परिवारका सदस्यका बारेमा होइन, मेरो ज्यान बाँचे हुन्थ्यो भन्ने हुन्थ्यो,’ उनले भने।
आफ्ना सन्तान सबै विदेशमा रहेका तर, आफू कतै जान मन नगरेको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सुखराज एक असल जनप्रतिनिधि भएको प्रतिक्रिया दिए। उनले भने, ‘उहाँमा कुनै लालच छैन। साँचो जनप्रतिनिधिको एक असल उदाहरण हो उहाँ।’