करिब दुई वर्षअगाडि अर्थात २०७६ जेठ १८ गते त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण भएको थियो। त्यसपछि अस्पतालमा चारवटा प्रत्यारोपण भइसकेका भए। कलेजो प्रत्यारोपणले एकपछि अर्को सफलता पाइरहेको थियो। पाँचौँ व्यक्तिमा प्रत्यारोपणको तयारी भइरहेको थियो। कोरोना भाइरसको संक्रमण फैलिएपछि देश लकडाउन भयो। सेवा बीचमै रोकियो।
तर गएको शनिबार कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ महिनाको शिशुमा सफल कलेजो प्रत्यारोपण गरियो। नेपालमा पहिलोपटक १ वर्षमुनिको बच्चामा कलेजो प्रत्यारोपण गरिएको हो। जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले शिशुलाई उनका ३५ वर्षका बाबुले कलेजो दिएका थिए।
प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यमा सुधार आइरहेको छ। के हो कलेजो प्रत्यारोपण? कसरी गरिन्छ? किन गरिन्छ? यही विषयमा केन्द्रित भएर हामीले त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीसँग गरिएको कुराकानीः
कलेजो प्रत्यारोपण भनेको के हो?
कलेजो प्रत्यारोपण भनेको विभिन्न कारणले कलेजो बिग्रिएर पछि गएर काम नै नलाग्ने हुन्छ। कलेजोले गर्नुपर्ने कार्य गर्न छोड्छ। त्यही बिग्रेको कलेजोले राम्रोसँग काम गर्न नसकेपछि फेर्नुपर्ने अवस्था आउँछ। खराब भएको कलेजोलाई निकाल्ने र त्यसको ठाउँमा राम्रो काम गरिरहेको कलेजोलाई राख्ने हो। जुन जीवित व्यक्तिको आधा कलेजो पनि लिन सकिन्छ। यसलाई हामी ‘लिभिङ डोनर’ भन्छौँ। अर्को भनेको पुरै कलेजो लिन्छौँ। तर यसमा भने मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिन्छौँ। जसलाई ‘क्याडाभरी किलिभर ट्रान्सपलान्ट’ भन्छौँ। यो प्रत्यारोपणमा व्यक्तिलाई राखेर पित्तथैलीका नसा र रगतका नसाहरु जोडिदिन्छौँ। यही प्रक्रियालाई हामी कलेजो प्रत्यारोपण भन्छौँ।
के कारणले कलेजो प्रत्यारोपण गर्नु अवस्था आउँछ?
कलेजो फेर्नुपर्ने धेरैजस्ता अवस्था भने मानिसहरुमा पछि गएर कलेजोमा हुने रोगहरुका कारण हुन सक्छ। यस्ता ‘क्रोनिक लिभर डिजिज’ मा यही कारणले भन्ने हुँदैन। जुनसुकै कारणले पनि कलेजो खराब हुन सक्छ, जस्तो कलेजो खराब भएर लिभिर सिरोसिस हुन्छ। यो भइसकेपछि कलेजोले जुन गर्नुपर्ने कामहरु गर्न छोड्छ। शरीरमा भएका विभिन्न अङ्गहरु मध्ये कलेजो एउटा यस्तो अङ्ग हो, जसको सबैभन्दा धेरै कामहरु हुन्छ। त्यसले आफ्नो कामहरु गर्न छोडिसकेपछि शरीरमा समस्या देखिन थाल्छन्।
सिरोसिस विभन्न कारणले हुने गर्छ। धेरैजसो भने रक्सी, हेपाटाइटिस बी, सीको कारणले हुने गर्छ। त्यो बाहेक फ्याट्टी लिभर, कहिलेकाहिँ क्यान्सर, रगतमा हुने तत्वका कारणले पनि हुन सक्छ। यो ठूला व्यक्तिहरुमा लागु हुने गर्छ।
यस्तै सानो बच्चाहरुको हकमा भने धेरै जसो जन्मजात रोगहरु हुन्छन्, त्यसको कारणले कलेजो बिग्रन सक्छ। कसैको जन्मिँदै कलेजोको बनावट बिग्रेको वा रगतका विभिन्न तत्व सम्बन्धित मेटाबोलिक डिजिजका कारणले बिग्रने हुन्छ।
कहिलेकाहिँ भने ‘एक्यूट’ भन्छौँ, जसमा सामान्य मान्छेको कलेजो एक्कासी बिग्रने हुन्छ।
कस्ता व्यक्तिले कलेजो प्रत्यारोपण गर्न मिल्ने वा नमिल्ने भनेर कुनै ‘क्राइटेरिया’ हुन्छ?
प्रत्यारोपण कहिले गर्नुपर्छ भनेर बिरामीको रोग प्रकृति र बिरामीको ‘ओभरल’ स्वास्थ्य स्थिति हेछौँ। सबैभन्दा पहिलो कलेजो बिग्रेको हो वा होइन। कलेजो बिग्रेकै कारण समस्या आएको हो भनेर पत्ता लगाउँछौँ। कलेजो बिग्रेकै हो भने प्रत्यारोपण गर्नुपर्ने स्थितिमा पुगेको छ, छैन त्यो कुरा हेर्छौँ। यी सबै कुरा हेरिसकेपछि प्रत्यारोपण गर्नुपर्ने स्थिति छ भने फेरि बिरामीले प्रत्यारोपण सर्जरी सहन सक्छ कि सक्दैन? हामी समग्र मूल्याङ्कन गछौँ।
यो सबै कुरा मिलेपछि मात्र बिरामीले कलेजो प्रत्यारोपण गर्न मिल्ने भयो भन्ने हुन्छ। सामान्यतया साना बच्चादेखि लिएर ७० वर्षसम्मको व्यक्तिमा प्रत्यारोपण गरिएको छ। तर हामीले भने ६५ वर्षसम्मका व्यक्तिलाई ‘टार्गेट’ बनाएका छौँ। त्योभन्दा माथिको व्यक्तिमा प्रत्यारोपण गर्न नसक्ने भन्ने होइन। तर ६५ वर्ष माथिको उमेरका व्यक्तिहरुमा अन्य रोगहरु पनि बढिसकेका हुन्छन्। मुटु, छाती, फोक्सो सम्बनधी रोग उनीहरुमा देखिन थालिसकेका हुन्छ। अनि अर्को कुरा उनीहरुले सर्जरी सहन नसक्लान् भन्ने हुन्छ। यो सर्जरी जटिल हुने भएका कारण धेरै उमेर भएकाहरुले सहन नसक्लान् वा धान्न नसक्लान् भनेर ६५ वर्षसम्मको व्यक्तिलाई लक्षित गरेका छौँ।
प्रत्यारोपण गर्दा विरामी धेरै सानो उमेरको भयो वा पाको उमेरको व्यक्तिहरुमा जटिलता देखिने हो?
जटिलता त सबैलाई नै हुन सक्ने भयो। जति उमेर बढ्दै गयो, त्यति धेरै अन्य कुराहरु पनि वृद्धि हुँदै जान्छन्। त्यसले गर्दा जटिलता बढी हुन सक्ने कुरा थपिन्छ।
त्यस्तै सानो बच्चाहरुमा पनि हुन्छ, तर उनीहरुमा फरक खालको जटिलता हुन सक्छन्। सानो बच्चालाई शल्यक्रिया नै ठूलो ‘स्ट्रेस’ हो। जटिलता सबैलाई नै हुने भयो तर ‘टेक्निकल्ली’ सानो बच्चामा अझ सानो ठाउँ। नसाहरु साना–साना हुने भएका कारण अझ अलि गाह्रो हुन सक्छ।
नत्र सबैलाई उस्तै नै हो।
प्रत्यारोपणपछि विरामीको हेरविचार कसरी गरिन्छ? वा कस्तो हुनु पर्छ?
प्रत्यारोपणपछि विरामीलाई सामान्यतया हामी आइसीयूमा १० दिन जति राख्छौँ। १० दिन पछि बिरामीले राम्रोसँग खानसक्ने, हिँड्डुल गर्न सक्ने भएपछि हामी उसलाई वार्डमा सार्छौँ। वार्डमै बाँकी दुईदेखि तीन हप्ता हेर्छौँ। सबै ठिक छ भन्ने भएपछि बिरामीलाई डिस्चार्ज गर्छौँ।
सुरुका दिनहरुमा विरामीले धेरै औषधी सेवन गर्नु पर्ने हुन्छ। जुन औषधिले ‘इम्यूनोसप्सेसन’ गरेको हुन्छ, त्यही इम्यूनोस्पेसनका कारण विरामीलाई ‘इन्फेक्सन’ हुन सक्ने समस्या हुन्छ। एक महिना जति बिरामी आफैँ हिँडडुल गर्न सक्छ। तर अरु बिरामीहरुभन्दा खतरा भने रहिरहन्छ। उनीहरुमा समस्या आउन सक्ने भएकाले परिवार अलि बढी साबधान भने भइरहनुपर्छ।
प्रत्यारोपण गरेका व्यक्तिहरुले जथाभावि औषधिको सेवन गर्न मिल्दैन। झुक्केर पनि रक्सी सेवन गर्न हुँदैन। आफ्ना सेवन गर्नु पर्ने औषधी दैनिक सेवन गरिरहनुपर्छ।
र निरन्तर फलोअपमा अस्पताल पुग्नुपर्ने हुन्छ। यो सबै कुराका लागि घरका कुनै पनि व्यक्तिहरुले ध्यान दिन जरुरी हुन्छ।
प्रत्यारोपण गरेको पहिलो एक महिना एकदमै धेरै सावधान हुनुपर्छ। त्यसपछि त्यसको ६ महिनासम्म हुनुपर्यो। त्यसपछि बिरामी बिस्तारै–बिस्तारै सामान्य जनजीवनमा फिर्ता हुँदै जान्छन्। तर प्रत्यारोपण गरेको व्यक्तिले आफ्नो विशेष ख्याल राखिरहनुपर्छ।
प्रत्यारोपण गरेको व्यक्ति कति लामो समयसम्म ‘सर्भाइभ’ गर्न सक्छन्?
प्रत्यारोपण गरेका व्यक्ति सामान्य मान्छे जस्तै हुन सक्छ। हुन त विरामीमा धेरै कुराले महत्व राख्छ। पहिलो कुरा त कत्रो उमेरको मानिसको गरियो? केको लागि गरियो? विरामीको पोस्ट ओपरेटिभ केयर कस्तो भयो? औषधी सेवन राम्रोसँग गर्यो कि गरेन? अरु रोग केही लाग्यो वा लागेन? यी सबै कुरामा भर पर्छ।
जस्तो केही दिन अगाडि हामीले ११ महिनाको बच्चाको गर्यौँ। अब उसको पछि गएर सामान्य पनि हुन सक्छ। उसले सामान्य जीवन नै बिताउन सक्छ। तर धेरै जसो ४० देखि ५० वर्ष उमेरको व्यक्तिहरुमा प्रत्यारोपण भयो भने उनीहरुको उमेर बढ्दै जाँदा अन्य रोगहरु पनि लागेर दुःख दिन सक्छ। अन्यथा विरामीहरु १०/१५ वर्ष बाँच्न सक्छन्। कोही २० वर्ष पनि बाँचेका छन्।
कतिपय सानो बच्चाहरुले सामान्य जीवन बिताइरहेका छन्। अस्ति भर्खर एउटा समाचार आएको थियो। भारतमा सानो बच्चा हुँदा प्रत्यारोपण गरेको अहिले एमबीबीएस डाक्टर भइसक्यो भनेर।
कलेजो कस्ता व्यक्तिले दिन मिल्छ र कसलाई दिन मिल्छ?
यसका लागि नेपालमा निश्चित मापदण्डहरु छन्। जसले पनि जोलाई पनि दिन मिल्दैन। प्रत्यारोपण गर्दा दुई वटा कुरा हेर्छौँ। एउटा स्वास्थ्यको हिंसाले र शारीरिक कुरा हेर्नुपर्ने हुन्छ। जसमा दिने मानिस १८ वर्षदेखि ५५ वर्षको भन्छौँ। त्यसमा पनि स्वस्थ मानिस हुनु पर्छ। लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु नभएको, मानसिक रुपमा स्थिर, पेटको शल्यक्रिया नगरेका त्यस्ता व्यक्तिलाई डोनर भन्छौँ र उनीहरुले सजिलै बिरामीलाई कलेजो दिन सक्छन्।
फेरि कलेजो दिन मिलेर मात्रै पनि हुँदैन। बिरामी र डोनरको ‘ब्लड ग्रुप’ मिल्नुपर्छ। अन्य विभिन्न प्रकारका गरिने जाँचहरु पनि मिल्नु पर्छ। बिरामीलाई दिन मिल्ने र बिरामीले लिनसक्ने हुनु पर्छ। यी सबै कुराहरु मिल्नु पर्छ।
यो बाहेक कानुनी रुपमा मिल्नु पर्छ। कानुन अनुसार यहाँ नाता पर्ने हुनु पर्छ। पहिलो साँघुरो थियो, अहिले अलि फराकिलो भएको छ। त्यसको लामो लिस्ट छ। त्यही भित्र पर्नुपर्छ। आफ्नो बुवा–आमा, दिदी–बहिनी, दाजु–भाइ बाहेक पनि अलिकति टाढाको नातेदारले पनि दिन पाउँछन्। तर प्रमाणित नाता भने हुनैपर्छ।
अहिले बिरामीको संख्या कस्तो छ?
हामीकहाँ ठ्याक्कै डाटा त छैन। तर मुख्य अस्पतालमा हेर्ने हो भने कलेजोका दुई–तीन जना विरामी आइरहेका हुन्छन्। त्यही अनुसार नेपालभरि हेर्ने हो भने वर्षमा डेढ सयसम्म जना हुन्छन् जसलाई प्रत्यारोपण चाहिएको छ। यो मेरो अन्दाज हो।
फेरि प्रत्यारोपण चाहिने भन्दैमा सबैलाई प्रत्यारोपण गरिहाल्नु पर्छ भन्ने हुँदैन। कसैलाई एक महिना भित्र कसैको, कसैको दुई महिना, कसैको ६ महिना, कसैको एक वर्षसम्म कुर्न सक्ने समय हुन्छ।
बिरामीको कलेजो बिग्रियो भने त्यसले चरण अनुसार हुन्छ। बिग्रियो भन्दैमा त्यसले काम गर्न छोडिहाल्ने भन्ने हुदैन। त्यसका मापदण्ड हुन्छन्। जो व्यक्तिको कलेजो धेरै बिग्रियो र कलेजोले धान्नै सक्दैन भन्ने हुन्छ। त्यस्ता व्यक्तिको तुरुन्तै प्रत्यारोपण गर्नतिर लाग्नुपर्छ। कुनै व्यक्तिको कलेजो बिग्रे पनि स्थिर भएर बसिरहन्छ। त्यसता व्यक्तिलाई भने पछि चाहिन सक्छ, तर ठ्याककै अहिले नै चाहिन्छ भन्ने हुँदैन।
त्यसैले प्रत्यारोपण कलेजो रोगको चरणमा भर पर्छ।
बिरामीलाई कति प्रतिशत कलेजो प्रत्यारोपण गरिन्छ?
यसमा यति प्रतिशत भन्दा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको पुरै कलेजो प्रत्यारोपण गर्ने हो। तर जीवित व्यक्तिले आफ्नो नातेदारलाई कलेजो दिँदा पहिला नै हामी मूल्याङ्कन गर्छौँ। बिरामीलाई न्यूनतम कति चाहिने हो। र दिने व्यक्तिबाट कति निकाल्न सक्छौँ। बाँकी रहेको कलेजोले कलेजो दिने व्यक्तिलाई धान्न सक्न वा सक्दैन, सबै हेर्छौँ।
सामान्यतया भन्नु पर्दा हामीले ५० देखि ६० प्रतिशतसम्म लिन सक्छौँ। यति लिँदा कलेजो दिएको व्यक्तिलाई पनि असर नगर्ने भयो र लिएको व्यक्तिलाई पनि प्रत्यारोपण गरेको कलेजोले पुग्ने भयो।
डोनेट गरेको लिभर आकारको हिसाबले ६/७ हप्तामा सामान्य अवस्थामा फर्किन्छ। र, लिएको व्यक्तिमा पनि कलेजो बढ्न थाल्छ।