
काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ वटा प्रश्न गर्दै विधान उल्लंघनको निष्कर्ष निकाल्दै स्पष्टीकरण पत्र लेखेका छन्।
बिहीबार साँझ ओलीलाई पठाएको पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जबाफ दिनुपर्ने आवश्यक रहेकाले स्पष्टीकरण पत्र लेख्नु परेको उल्लेख गरिएको छ।
पत्रमा नेपालले ओलीलाई प्रश्न गरेका छन्, ‘केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनु भएन? यसरी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने तपाईं को गलत मनसाय रहेको छ किन नभन्ने ?’
नेपालले कार्यकर्ताको पार्टी एक हुनुपर्ने चाहना भएपनि त्यसलाई ओलीले बेवास्ता गरेको पत्रमा उल्लेख गरेका छन्। उनले ओलीलाई प्रश्न गरेका छन,‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो?’
नेपालका ओलीलाई थप प्रश्न छ, ‘फागुन २८ को निर्णय बदर किन चाहनुभएन? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने?’
नेपालले ओलीलाई ‘फागुन २८ गते प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना गुटका मानिसहरुको भेला बोलाई त्यसलाई कथित केन्द्रीय कमिटीको बैठकको संज्ञा दिँदै पार्टीको विधान र प्रक्रिया विपरित नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधान संशोधन गर्नेजस्ता निर्णय गरिएको भनि सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नु भयो?’ भन्ने प्रश्न गरेका छन्।
यस्तै नेपालको प्रश्न छ, ‘पार्टी विधान विपरित गरिएको बैठकका अवैध निर्णयहरुको आधारमा नेकपा (एमाले)बारे कुनैपनि सूचना अद्यावधिक नगरियोस् भनि म समेतले निर्वाचन आयोगमा मिति २०७७/१२/१ मा निवेदनसमेत गरेको तपाईंलाई जानकारी छ कि छैन?’
यस्तै नेपालले ओलीलाई एमालेको नवौं राष्ट्रिय महाअधिवेशनद्वारा पारित विधानका धारा १३, १४, ४३, ५८ उल्लंघन गरको आरोपसमेत लगाएका छन्।
नेपालको ओलीलाई प्रश्न छ, ‘पार्टीको विधान संशोधनजस्तो संगठन सञ्चालनको आधारलाई स्वेछाचारी किसिमले भत्काउने अधिकार तपाईंले विधानको कुन धाराबाट प्राप्त गर्नुभयो?’
यस्तै नेपालले एमालेका सदस्य नै नरहेका व्यक्तिलाई केन्द्रीय कमिटी सदस्यको पदमा नियुक्त गर्ने ओलीको निर्णयलाई लिएर आपत्ति जनाएका छन्।
नेपालको प्रश्न छ, ‘पार्टी विधान विपरित मनपरी किसिमले पार्टी विधानमा संशोधन गरिएको कुरा गरा गर्दै नेकपा एमाले सदस्य नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्यको पद रिक्त नै नरहेको अवस्थामा केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरिएको भनि तपाईंले कसरी भन्न सक्नुभयो?’
उनको थप प्रश्न छ, ‘यस्तो स्वेछाचारी काम गर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन?’
फागुन २३ गते विवादै विवादले विभाजनको संघारमा पुगेको नेकपालाई भंग गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँताएपछि नेपाल पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको राजनीतिक सहयात्रा त्यागेर ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने घोषणा गर्दै एमालेमै फर्किएका थिए।
तर फागुन २८ गते ओलीले आफूलाई खबरै नगरी कथित विशेष बैठकको नाममा आफू निकट पदाधिकारीको जिम्मेवारी हेरफेर, एमाले सदस्य नरहेकालाई केन्द्रीय सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको र ती निर्णयहरु आफूहरुलाई मान्य नहुने भन्दै नेपाल संघर्षमा उत्रिएको छ।
ओलीले आफ्नो निर्देशन र पार्टी विधान विपरित कार्य गरेको आरोपसहित चैत ९ गते नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई तीन दिनभित्र जबाफ पठाउन निर्देशनसहित महासचिव ईश्वर पोखरेलमार्फत स्पष्टीकरण पत्र पठाएका थिए। जबाफ पठाउने म्याद बुधबार सकिएको थियो। नेपालले बिहीबार आफ्नो ‘काउण्टर स्पष्टीकरण’ बालुवाटार पठाएका हुन्।
नेपालले ओलीलाई लेखेको स्पष्टीकरण पत्रः