
झापा – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् शुक्रबार बिस्तार गरेका छन्।
मुख्यमन्त्री राईले नेकपा माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका छन् ।
त्यस्तै सामाजिक विकास मन्त्रीमा खोटाङकी उषाकला राईलाई नियुक्त गरिएको छ। यस अघि उक्त मन्त्रालयका मन्त्री जीवन घिमिरेले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए।
नवनियुक्त मन्त्री राई नेकपा एमालेको माधव नेपाल समूह छाडेर ओली समूहमा आएकी हुन् ।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र इलामका राम राना कृषि मन्त्रीमा नियुक्त गरिएको छ।
उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् ।
झापाका हिक्मत कार्की आन्तरिक मामिला तथा कानून मन्त्रीमा कायम छन् भने जगदीश कुशियत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कायम रहेका छन् ।
मुख्यमन्त्री राईसँग रहेका अन्य दुई मन्त्रालयमा पनि चाँडै मन्त्री नियुक्तिको तयारी छ।