
भद्रपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय जान नपाएका सबै बालबालिकालाई खोजी खोजी विद्यालयमा ल्याउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। मंगलबार झापाको भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै ओलीले कुनै पनि बाल बालिका विद्यालय जानबाट बञ्चित हुन नपाउन् भनेर आफूले उक्त अभियान चलाएको बताए।
उनले जनप्रतिनिधिहरुलाई निर्देशन दिँदै भने, ‘तपाईं गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्।’ प्रधानमन्त्री ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुने बताए।
उनले अपांगता भएका बालबालिकालाई पनि सरकारले विशेष व्यवस्था गरेर शिक्षा लिने व्यवस्था मिलाउने बताए। ‘अब पनि बालबालिका विद्यालय जान पाएनन् भन्ने कुरा सुन्नु लाजमर्दो हो,’ ओलीले भने, ‘जनप्रतिनिधिहरु, तपाईंहरु यो महिनाभर गाउँ गाउँ जानुहोस्। सबै बालबालिकालाई विद्यालयमा ल्याउनुहोस्।’
उन्नति प्रगतिका लागि पहिलो खुड्किलो शिक्षा भएका कारण शिक्षा लिनबाट बञ्चित भए देशले उन्नति नगर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, ‘मैले आफैंले कर्णाली पुगेर यो अभियान शुरु गरेको हुँ। यो अभियानमा तपाईंहरुको पनि साथको आवश्यक्ता छ।’
प्रधानमन्त्री ओलीले भूमिहीनका नाममा जताततै जग्गा हडप्नेलाई सरकारले नछोड्ने बताए। त्यस्ता संरचनालाई सरकारले भत्काउने उनको भनाइ थियो। उनले भने, ‘बस्न पाइन भन्दै जताततै अतिक्रमण गर्ने दिन गए।’