
काठमाडौँ– उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिस छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन्।
कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरूको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ।
यिनै नेपाली युवालाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक हो– ‘सनैया’ ।
‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारलाई भेटेर फर्कन्थेँ, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथेँ। बन्द गरेका आँखावरिपरि उनीहरू झल्झली घुमिरहन्थे। ती झझल्कोहरूलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो।’
कार्की एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरूको रिपोर्टिङमा संलग्न छन्।
त्यस क्रममा चार वर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ। कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुबेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए।
यो किताब उनले खाडी क्षेत्रमा कार्यरत ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो।
‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीहरूको कथा भन्न सकिन्छ।
आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो यो पुस्तक।
देश बनाउन परदेश हिँड्ने श्रमजीवीको कथा हो ‘सनैया’।
जसले अरबका चोक–चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेका जीवनको कथा पनि हो, ‘सनैया’ ।
किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबारबाट बजारमा उपलब्ध छ।
यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ।
यसमा पाठकले पिडा र समस्या, आँसु र पसिनामात्र हैन, खुसी, प्रेम र सफलताका असामान्य घटनाहरू पनि पढ्न पाइनेछ।
१८ अध्यायमा विभाजित यो पुस्तक पढ्दा लाग्छ, हामी कुनै आख्यानको दुनियाँमा प्रवेश गर्दै छौँ तर ‘सनैया’ले जब तपाईलाई नेपाली समाजको कठोर यथार्थमा पु र्याउँछ, जो–कोहीलाई एकपटक सोच्न बाध्य बनाउँछ।