
झापा – पछिल्लो केही दिन यता झापामा कोरोना संक्रमित फेरि देखिन थालेका छन्।
झापाको बिर्तामोड नगरपालिका वडा नं. १ की मारवाडी समुदायकी ३१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उनी चार दिनअघि भारतबाट घर फर्केकी थिइन्।
मंगलबार गरिएको पिसिआर परीक्षणमा ती महिलालाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए। दोस्रो चरणमा बिर्तामोडमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि पहिलो चरणमा बिर्तामोडमा ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको ज्यान गएको थियो। पछिल्लो समय कोरोना संक्रमण छिमेकी राष्ट्र भारतमा बढेकोले सीमा नाकाहरूमा कडाइ र सतर्कता नअपनाइएको कारण झापामा पनि कोरोना संक्रमितहरूको सँख्या बढ्न थालेको छ।
गत साता भारतबाट फर्किएकी कनकाई नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। १० दिनअघि मात्र ती महिला भारतमा रहेकी छोरीको घर गएकी थिइन्।
दोस्रो चरणमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसबाट जोगिनका लागि बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ।
बिर्तामोड नगरपालिकाले बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको हो। नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने बैठकले निर्णय गरेको छ।
२५ जनाभन्दा बढी भीडभाड हुने खालका कार्यक्रम, बैठक, सेमिनार, गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णयसमेत भएको फोकल पर्सन खड्काले जानकारी दिए।