करिब डेढ दशक नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीका लागि खेलेका र थुप्रै सफलता दिलाएका विराज महर्जनलाई ‘अब म अन्तर्राष्ट्रिय फुटबल खेल्ने छैन’ भनेर घोषणा गर्न भने कम्ता सकस परेन। कप्तान भए पनि बेन्चमा सीमित हुन थालेपछि र पछिल्लो समय राष्ट्रिय टोलीमा समेत अटाउन छाडेपछि सामाजिक सञ्जालहरुमा उनी ‘अन्तिम मौका’को अपिल गरिरहन्थे, घुमाउरो पारामा। त्यो मौका भर्खरै घरेलु मैदानमा सम्पन्न त्रिदेशीय आमन्त्रण कप फुटबलमा टिम छनोट समितlले उनलाई जुराइदियो।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु लगातार स्थगित भइरहेका समयमा अखिल नेपाल फुटबल संघ-एन्फाले विश्वकप छनोट तयारी खेलका रुपमा किर्गिस्तानको यू-२३ राष्ट्रिय टोली र बंगलादेशको सिनियर राष्ट्रिय टोलीलाई बोलाएर यो प्रतियोगिता आयोजना गरेको थियो। विराज उत्साही देखिन्थे, सामाजिक सञ्जालहरुमा। सायद कुनै खेल खेलेर, त्यो पनि घरेलु मैदानमै, सन्न्यास घोषणा गर्नुको महत्व उनले बुझेका थिए। त्यसबारे एन्फा र छनोट समिति अनविज्ञ हुने कुरै भएन।
विराजले घोषणै गरे- यो प्रतियोगितामा नेपालको जुन खेल अन्तिम हुन्छ, त्यसैबाट सन्यास घोषणा गर्छु। लिग चरणमा दुवै खेल बराबरी खेलेपछि नेपाल फाइनल पुग्यो। ती दुवै खेलमा विराजलाई मैदान उतारिएन। फाइनलको प्रतिद्वन्द्वी बंगलादेश थियो। नेपाल २-१ गोलले अगाडि रहेको अवस्थामा खेल सकिन केही मिनेट मात्र बाँकी थियो, विराजलाई मौका दिइयो। नियमित कप्तान किरण चेम्जोङले लगाइरहेको कप्तानको ब्याण्ड फुकालेर विराजलाई दिए, उपकप्तान रोहित चन्दमार्फत। मैदान छिरेलगत्तै अघिल्ला खेलहरुमा झैँ उनी छरिता देखिए, रक्षापंक्तिबाट। नेपाल अग्रता जोगाउन सफल भयो र आमन्त्रण प्रतियोगिताको विजेता बन्यो। अर्थात ३० वर्षीय विराजको बिदाइ अन्तर्राष्ट्रिय खेल सुखद् बन्यो। त्यसमा पनि घरेलु मैदानमै, विराजका लागि सुनमा सुगन्ध भयो। उनी लगत्तै घरेलु प्रतियोगिता आहा गोल्डकप खेल्न पोखरा पुगेका छन्।
…
एक सातापछि नेपालमा त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुँदै छ।
घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्स र मलेसियासँग खेल्दै छ। अन्तर्राष्ट्रिय प्रतियोगिता त्यसमा पनि घरेलु दर्शकसामु खेल्न पाउनु हरेक खेलाडीका लागि एक हदको रहर हुन्छ शायद। नेपाली क्रिकेटले पछिल्लो एक दशकमा प्राप्त गरेको ठूलो सफलताका सहयात्री बसन्त रेग्मी भने बिहीबार राति अमेरिका उडेका छन्।

वसन्त रेग्मी
करिब २ वर्ष हुन लाग्यो, बसन्त रेग्मीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन्। यसबीचमा नेपालले खेलेका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु बसन्तले गुमाए। घरेलु मैदानमै भएका अन्तर्राष्ट्रिय खेलहरुमा दर्शकमा सीमित थिए।
डिभिजन फाइभबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि टीट्वेन्टी विश्वकपसम्म नेपालले तय गरेको यात्राका अभिन्न सारथी हुन् बसन्त। पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकरले जस्तै उनले पनि नेपाली क्रिकेटका लागि धेरै थोक त्यागेका छन्। शून्यतामा पनि सम्भावना देख्ने उनीहरुको अठोटकै कारण नेपाली क्रिकेट आज यहाँसम्म आइपुगेको छ। पक्कैपनि त्यसमा ठूलो मिहेनत छ। करिब दुई दशकसम्म अनवरत लागिरहेको यो पुस्ताबारे नेपाली क्रिकेटमा लामो समयसम्म पढिने छ। पछिल्लो समय आयोजना भइरहेका फ्रेन्चाइज क्रिकेट, अन्य व्यावशायिक प्रतियोगिताहरु, खेलाडीको सेन्ट्रल कन्ट्र्याक्टजस्ता खेलाडीका आर्थिक पक्षलाई सुधार गर्ने आधारहरु केही वर्ष अगाडिसम्म कहाँ थियो र !
यही कारण विगतका ५/६ वर्षहरुमा थुप्रै नयाँ प्रतिभावान क्रिकेटरहरु जन्मिएका छन्। उनीहरु भन्दैछन्- अब पुरानो पुस्ताले धानेको नेपाली क्रिकेटलाई अगाडि बढाउन हामी सक्षम छौँ। खासगरी बलरहरु त्यसमा पनि स्पीनरहरुमा तीव्र प्रतिस्पर्धा देखिएको छ। सन्दीप लामिछाने, सुसन भारी, ललितनारायण राजबंशी, सागर ढकाल, पवन सर्राफजस्ता स्पीनरहरु हावी भइरहेका छन्। जतिसुकै क्षमतावान् र अनुभवी किन नहोस्, ऊ एकदिन राष्ट्रिय टोलीबाट बाहिरिनुपर्छ, खेल्न छाड्नुपर्छ। नयाँ पुस्ता र पुराना पुस्ताबीच हुने क्षमताको लडाइँले यो क्रम चलिरहन्छ।
नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर खेलेको पहिलो शृंखलापछि शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अर्को साता आयोजना हुने त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि शरद भेषावकरसमेत बन्द प्रशिक्षणका लागि अँटाएका छैनन्।
…
साँझ अमेरिका उड्नुअघि बिहीबार दिनभर बसन्त व्यस्त देखिन्थे। तर पनि उनले कुराकानीका लागि आफू बसिरहेको तिलगंगास्थित काठमाडौँ इन होटलमा समय उपलब्ध गराए।
‘अमेरिकामा एउटा क्रिकेट प्रतियोगिता हुँदै छ। त्यसमा खेल्न जाँदै छु। सायद त्यहाँ एक महिना बस्छु होला’, ३६ वर्षीय बसन्त भन्दै थिए। उनी र पृथु बास्कोटालाई अमेरिकाबाटै बोलाइएको रहेछ। त्यसबारे उनले नेपाल क्रिकेट संघ-क्यान, राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तानलगायतलाई जानकारी पनि दिएका थिए।
शायद आसन्न शृंखलाका लागि आफू टोलीमा पर्न नसक्ने उनलाई थाहा थियो। ‘राष्ट्रिय टोलीका लागि खेल्न पाउनु सौभाग्यको कुरा हुन्छ, क्लब क्रिकेटभन्दा। त्यो चाहीँ अहिले खेल्न पाइएन, क्याम्पमा पनि परिएन’, अमेरिका उड्नुअघि बसन्त भन्दै थिए।
गएका केही महिनाभित्र नेपालमा दुई वटा घरेलु क्रिकेट प्रतियोगिता भएका थिए, एकदिवशीय स्वरुपका पीएम कप र मेयर कप। दुवै प्रतियोगितामा बसन्त आबद्ध एपीएफ फाइनल पुग्यो। बसन्तले पीएम कपमा ४ खेलमा ३२ ओभर बलिङ गर्दै ५ विकेट लिए, २.०९ रनको बलिङ इकोनोमीमा। मेयर कपमा उनले पाँच खेलमा ४५ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए, ३.७७ रनको बलिङ इकोनोमीमा।
‘वास्तवमा यो प्रदर्शनले म अझै पनि राष्ट्रिय टोलीमा कमब्याक गर्न सक्छु भन्ने आत्मविश्वास जगाएको छ’, बसन्त भन्छन्। बलरको लागि विकेटको जति महत्व हुन्छ, त्यत्तिकै महत्व हुन्छ कम रन खर्चनु पनि। त्यसैले बसन्तको आत्मविश्वास बलियो बनाएको छ। त्यसैले त उनले अमेरिकाको यस प्रतियोगिता खेल्ने निर्णय लिए। उनलाई थाहा छ, त्यहाँ टेस्ट राष्ट्रका खेलाडीहरु पनि आउनेछन्।
‘ त्यहाँ मैले राम्रो प्रदर्शन गर्न सँके भने त्यसले मलाई मात्र होइन, नेपाल क्रिकेटलाई पनि फाइदा पुर्याउने छ’, बसन्त भन्छन्। राष्ट्रिय टोलीमा नरहँदा आफुभन्दा माथिल्लोस्तरका खेलाडीविरुद्ध खेल्ने अवसर कम जुर्ने गर्छ, नेपालजस्तो क्रिकेटमा पाइला बढाइरहेको देशमा। बसन्तलाई लाग्छ, नखेलिकन आफुले सुधार गर्नुपर्ने ठाउँ थाहा पाइदैन।
…
सन् २००० मा नेपाल आईसिसी यू-१९ वर्ल्ड कप खेल्दै थियो। नेपाल प्रतियोगिताको सुपर लिगमा पुग्यो। त्यतिबेला बसन्त यू-१७ राष्ट्रिय टोलीमा आउन प्रयासरत थिए। उनी लेफ्ट आर्म फास्ट बलर थिए र घरेलु प्रतियोगितामा ओपनिङ ब्याट्सम्यानका रुपमा क्रिजमा आउने गर्थे । औँलामा चोट लागेपछि उनी स्पीनर बन्नु परेको थियो, राम्रो बलर हुने सपना पुरा गर्न।
त्यतिबेला क्रिकेटको वातावरण नै त्यस्तै थियो। ‘ जसरी पनि नेपालका लागि विश्वकप खेल्ने भन्ने सपना थियो’, बसन्त भन्छन्। उनले त्यसै वर्ष यू-१७ राष्ट्रिय टोलीमा ठाउँ बनाए। दुई वर्षपछि उनले यू-१९ विश्वकप खेले। तर सिनियर टोलीमा आउन उनलाई लामो समय लाग्यो। श्रीलंकामा आयोजित सन् २००६ को यू-१९ विश्वकपको प्लेट च्याम्पियनसिपमा बसन्तले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध प्राप्त २ रनको जितमा ३ विकेट लिएका थिए।
फाइनलमा उनले न्युजिल्यान्डविरुद्ध ३ विकेट लिनुका साथै ६६ रन बनाएर प्लेयर अफ दी म्याच भए, नेपाल प्लेट च्याम्पियन भयो। प्रतियोगितामा उनले १२ विकेट लिनुका साथै एक सय ४१ रन बनाएका थिए। त्यसै वर्ष उनी सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भए।
सन् २०१२ को वर्ल्ड क्रिकेट लिग डिभिजन-४ फाइनलमा अमेरिकाविरुद्ध ५ विकेटसहित कुल २१ विकेट लिएर प्लेयर अफ दी सिरिज घोषित भएका थिए। सन् २०१४ मा आयोजित वर्ल्ड क्रिकेट लिग डिभिजन-३ मा उनी १४ विकेटसहित बेस्ट बलर घोषित भए। त्यसै वर्ष आयोजित टीट्वेन्टी विश्वकपका तीनवटै खेलमा बसन्तले विकेट लिए। उनी आईसिसी वर्ल्ड क्रिकेट लिगमा सय विकेट लिने विश्वकै पहिलो बलर हुन्। गत मेयर कपको फाइनलमा उनी टोलीका लागि सबैभन्दा बढी रन जोड्ने ब्याट्सम्यान थिए, २२ रनसहित। बसन्त ठुला प्रहारका लागि पनि परिचित छन्।
बसन्तले अब राष्ट्रिय टोलीमा ठाउँ बनाउन सक्दैन, बुढो भयो जस्ता टिप्पणीहरु सुन्छन् उनी। बसन्तलाई त्यस्तो पटक्कै लाग्दैन। ‘खेलाडी परिपक्व हुने उमेर भनेको ३० देखि ४० वर्षबीच हो। यो समय उसको उर्जावान हुन्छ। खेलाडीले अझ बढी गर्न सक्छ’, उनलाई लाग्छ। त्यसैले सन्याश लिनेबारे उनले सोचेकै छैनन्। ‘जबसम्म दिमागले र शरिरले तँ गर्छ सक्छस् भन्छ त्यतिबेलासम्म किन हिम्मत हार्नु ? हो, म अहिले शारिरक र मानसिक दुवैरुपमा बलियो छु’, बसन्त भन्छन्। ‘अन्य देशमा खेलाडीले राष्ट्रिय टोलीबाट सन्याश लिएपनि उ लामो समयसम्म खेलिरहन्छ नी’, उनी भन्छन्। यतिबेला उनले भैरहवामा वेस्टर्न क्रिकेट एकेडेमी पनि सुरु गरिसकेका छन् जहाँ उनको लक्ष्य छ- नयाँ खेलाडीहरु उत्पादन गर्ने। उनले भविस्यका लागि कोरेको यो एउटा आफु हिँड्ने बाटो हुन सक्छ !
…
एउटा खेलाडीका लागि उ टिममा नपर्नु जत्तिको पिडा र छटपटी अर्को सायदै हुन सक्छ। जुन टोलीबाट उनले लामो समय खेले, त्यो टोली देश-विदेशमा पुगेर खेलिरहँदा बसन्तलाई पनि लाग्छ- म त्यहाँ भईदिएको भए, यसो गर्थेँ, उसो गर्थेँ।
‘सिनियर खेलाडीलाई एउटा सँधै डर देखिन्छ-आफूले सिकाउँदा नयाँ खेलाडीले पो पछाडि पार्ने हो कि! तर ममा त्यस्तो कहिल्यै आएन। म आफुसँग भएको सबै कुरा जुनियर भाइहरुलाई भन्छु। मलाई के लाग्छ भने, उनिहरुले केही गर्न सकुन् र नेपालले सफलता प्राप्त गर्न सकोस्’, बसन्त भन्छन्।
उनि नेपालले खेलेका सबै खेलहरु हेर्ने प्रयाश गर्छन् र जुनियर भाइहरुलाई सुझाव दिन्छन्। बसन्तकै शब्दमा, अब नेपाली क्रिकेट उनले खेलाडीका रुपमा पुरा गर्न कुनै सपना बाँकी छैन। तरपनि राष्ट्रिय टोलीबाट खेल्ने उनको धित् अझै मरेको छैन।
‘ त्यहाँ छुट्टै मज्जा र आनन्द छ। राष्ट्रिय जर्सी लगाउँदा, जित्दा, राष्ट्रिय धुन बज्दा त्यसले दिने खुसी नै बेग्लै हुन्छ’, उनको अनुभव छ।
यसपटक उनले अमेरिकाबाट यी क्षणहरु ‘मिस’ गर्नेछन्।
भिडियो हेर्नुहोस्: