
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट(बत्ती) हस्तान्तरण गरेको छ।
बैंकले निर्माण गरेको सो ट्राफिक लाइट सुन्धरा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमबीच सञ्चालनमा ल्याइएको छ।
नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका–२१ का वडाध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा कामपा–२१ का वडाध्यक्ष चिनकाजी महर्जनले उपत्यकामा बढ्दै गएको ट्राफिक जाम व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्य गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए।
प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमनमा सहजता आउनुका साथै सडक अनुशासन कायम भई दुर्घटना न्यूनीकरणमा समेत सघाउ पुग्ने बताए।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०७८ सालको लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात् बैंकको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. विष्टले दुबै संस्थाको विश्वास र इमेज बढेर जाने बताए। उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्वय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापालगायत दुवै संस्थाका कर्मचारीको उपस्थिति थियो।