
काठमाडौँ- नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप लागिरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग छलफल गरेका छन्।
सोमबार साँझ देउवाले आफ्नो निवास बुढानिलखण्ठमा यादव र भट्टराई बोलाएर छलफल गरेका हुन्। बुढानिलखण्ठ स्रोतका अनुसार देउवाले यादव र भट्टराईलाई नयाँ सरकार गठनमा आफूहरुलाई साथ दिन र उनीहरुको पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो खेमालाई पनि सहमत गराउन आग्रह गरेका थिए।
ठाकुर र महतोको खेमाले काँग्रेसले आफूहरुसँग सल्लाह नै नगरी केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको भन्दै सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन्।