
काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा २० पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
सोमबार बालुवाटारमा भएको उनी पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले पेश गरेको राजनीति प्रतिवेदनमा पार्टी एकीकरण, संकट र एकीकरण अन्त्यका तीन वर्ष, फागुन २३ को फैसला र नेकपा एमालेको पुनर्स्थापना, प्रतिनिधिसभा विघटन, अदालतको फैसला र प्रतिनिधिसभा पुनर्स्थापनालगायत सरकारका काम कारवाहीबारे धारणा र अनुभव प्रस्तुत गरेका छन्।
त्यसक्रममा उनले प्रतिनिधिसभा विघटन आफ्नो बाध्यात्मक छनौट भएको दाबी प्रस्तुत गरेका छन्।
संसद व्यूँताउने फैसला गरेर सर्वोच्च अदालतले संविधानको मूल मर्म को सही व्याख्या गर्न नसकेको अनुभूति भएको उनले उल्लेख गरेका छन्। प्रतिनिधिसभा पुनर्स्थापना भएर पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त नगरेको र वर्तमान राजनीतिक समस्या समाधान हुने अवस्था एकदमै कम रहेको उनले निष्कर्ष निकालेका छन्।
उनले केही गलत प्रवृति र पात्रहरुका कारण नेकपा असफल भएकोमा जोड दिएका छन्। ओलीले प्रतिवेदनमा मुलुकको परिस्थिति हेर्दा चाँडै निर्वाचनमा जानुपर्ने अवस्था रहेकोले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।
ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा आफ्ना पार्टीका माधवकुमार नेपाल पक्षलाई इंगित गर्दै भनेका छन्, ‘नेकपा एमालेका कतिपय नेताहरु आफ्नै पार्टीको नेतृत्वलाई कमजोर गर्न प्रचण्डका अस्वाभाविक महत्वकांक्षालाई मलजल गर्ने र नाजायज मागलाई प्रोत्साहन गर्ने काममा संलग्न हुनुभयो।’