
बुटवल– लुम्बिनी प्रदेशमा माओवादीले सरकारको साथ छाडेपछि सरकार टिकाइराख्न मन्त्रालय थप भएका छन्। सरकारले ग्रामीण तथा सहरी विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप गरेको हो।
यस्तै अरू केही मन्त्रालयका शक्ति बाँडफाँड हेरफेर गरिएको छ।
एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले एमालेका मन्त्रीहरूलाई शक्तिशाली मन्त्रालय दिँदै गर्दा जसपालाई दिएका मन्त्रालयको शक्ति घटाएका छन्।
एमालेका बैजनाथ चौधरी र लिला गिरीले दुई–दुई मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्रीले आफू मातहतमै राखेको आर्थिक मामिला तथा योजना मन्त्रालयसहित थप एक मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।
जसपालाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिँदै गर्दा त्यसभित्रै रहेको ग्रामीण तथा सहरी विकास क्षेत्रलाई छुट्टै मन्त्रालय बनाएर त्योसहित आर्थिक मामिला तथा योजना मन्त्रालयसमेतको जिम्मेवारी बैजनाथ चौधरीलाई दिएका छन्। उनी यसअघि भौतिक पूर्वाधार विकास मन्त्री थिए।
यसअघि उद्योगमन्त्री रहेका लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषिमन्त्री रहेकी आरती पौड्याललाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ।
जसपाका विजयबहादुर यादव भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् भने जसपाकै कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री भएकी छिन्। यो मन्त्रालय मातहतमै रहेको स्वास्थ्य र जनसंख्याको क्षेत्रलाई निकालेर छुट्टै मन्त्रालय बनेको छ।
यस्तै जसपाकै सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्। उनीहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।