
काठमाडौँ- विभाजनको सन्निकटमा पुगेको नेकपा एमालेलाई बचाउन नेताहरुले दौडधुप सुरु गरेका छन्।
यो पार्टीका नेता खासगरी असन्तुष्ट पक्षका नेता भनेर चिनिएका तर अन्तिममा संस्थापन पक्षतर्फ जाने अड्कलबाजीमा परेका नेता योगेश भट्टराई बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताबद्ध बनाउन आग्रहसहित बालुवाटार पुगेका छन्।
उनले ओलीलाई एमाले बचाउनुको विकल्प नभएको सुनाएका थिए। स्रोतका अनुसार भट्टराईले ओलीलाई पार्टी एकताबद्ध बनाउने मामिलामा लचिलो बन्न आग्रह गरेका छन्।
तर ओलीले असन्तुष्ट पक्ष नै पार्टी विभाजनमा लागेको आरोप लगाएको स्रोतको भनाइ छ। ओलीले मंगलबार भट्टराई पनि स्पष्टीकरण सोधेका थिए।
ओलीले उनीसँगै संघ र प्रदेश गरी ३२ जना सांसदलाई विधान विपरीत पार्टी र सरकारको विरुद्धमा लागेको आरोप लगाउँदै अन्तिम मौकासहित स्पष्टकरण सोधेका थिए।
स्पष्टकरणको जवाफ कसरी दिने भन्ने विषयमा असन्तुष्ट समूहले छलफल तीव्र पारेको छ।