
विर्तामोड- झापामा पक्राउ परेका ८ जना यातायात व्यवसायीमाथि केन्द्रको निर्देशन अनुसार मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीका अनुसार उनीहरुलाई गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुरुप पक्राउ गरिएको हो।
प्रहरी उपरीक्षक केसीले भने, ‘यातायात बन्द गराएकोमा उनीहरुलाई पक्राउ गरिएको हो।’ उनीहरुलाई झापाको सीमावर्ती बजार काँकरभिट्टाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेहरुमा यातायात व्यवसायीहरु मोहनप्रसाद उप्रेती, भूपाल ओली, बुद्ध तिवारी, राजकुमार पाण्डे, श्याम थापा, कृशव गिरी, कृष्ण काफ्ले र खगेन्द्र उप्रेती रहेका छन्।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ। नेपाल यातायात राष्ट्रिय व्यवसायीले आह्वान गरेको बन्दको समर्थन गर्दै झापाका यातायात व्यवसायीले पनि गाडी थन्क्याएका हुन् ।
विहानैबाट यातायात सेवा अवरुद्ध हुँदा गन्तव्यसम्म निस्किएका यात्रु भने अलपत्र परेका छन्। फाट्ट–फुट्ट रुपमा केही सवारी सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
यातायात सेवा ठप्प हुँदा महत्वपूर्ण काममा हिंडेका यात्रुले भने सास्ती भोग्नुपरेको छ। बन्दको विरोध गर्ने यातायात व्यवसायीले नै बन्द गरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।
पूर्वमा यातायात सञ्चालन नहुँदा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा भोजपुर लगायत देशभरको जनजीवन विहानैबाट प्रभावित भएको छ ।