
बुटवल–संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले स्थानीय सरोकारवाला पक्षसँग छलफल गरेर यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी तयारी गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए।
उनका अनुसार संघ सरकारको निर्णयलाई आधार मानेर रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी भएको हो। जिल्लाका सरोकारवाला पक्ष, स्थानीय तह, व्यवसायीहरु, सञ्चारकर्मीलगायतसँगको छलफल र सुझावका आधारमा निषेधाज्ञा लगाउने निर्णय हुने उनले बताए। प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसहितले उनीहरुसँग चरणबद्ध रुपमा छलफल गरिरहेका छन्।
पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौँ उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी संघ सरकारले अधिकार दिएको छ। संघ सरकारले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन भनेको छ।
काठमाडौँमा वैशाख १६ देखि निषेधाज्ञा लगाउने निर्णय भएकाले १६ गतेसम्म रुपन्देही आउने र अन्य जिल्लामा जानका लागि रुपन्देही आउनेहरुलाई अन्य जिल्ला प्रवेश दिएर निषेधाज्ञा लगाउने तयारी रुपन्देही प्रशासनले गरेको हो।
रुपन्देहीमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ। सोमबार २ सय ६३ जना थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको हो। जसमध्ये सबैभन्दा धेरै बुटवलमा छन्। रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ।