
काठमाडौँ – एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले संयुक्त राष्ट्रसंघीय स्वयंसेवी नियोगसँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सम्पन्न गरेको छ।
‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघीय स्वयंसेवी नियोग थाइल्यान्ड क्षेत्रीय प्रबन्धक विद् डिमित्री फ्राइस्चिन तथा पीस क्रप्स नेपालका राष्ट्रिय निर्देशक म्याट टुल्लीले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए।
संयुक्त राष्ट्रसंघीय स्वयंसेवी नियोग थाइल्यान्डका क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिनले लामो जीवनयात्रा निर्धारण गर्न स्वयंसेवाले कसरी सहयोग गर्छ भन्ने विषयमा स्पष्ट पारेका थिए।
संयुक्त राष्ट्रसंघीय स्वयंसेवी नियोगको अंग कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गराउँदै उनले महामारीको अवधिमा स्वयंसेवकलाई संस्थाले कसरी प्रोत्साहन गरिरहेको छ भन्ने जानकारी दिएका थिए।
पिस क्रप्स नेपालका कार्यवाहक राष्ट्रिय निर्देशक म्याट टुल्लीले स्वयंसेवाको महत्त्वबारे प्रकाश पार्दै पछिल्ला केही दशकमा पिस क्रप्स नामक संस्थाद्वारा अमेरिकी नागरिकलाई समेत सिकाइको अवसर हुने गरी नेपाललाई कसरी योगदान गरिरहेको छ भन्ने विषयमा चर्चा गरेका थिए।
उनले नेपालका स्थानीय समुदायले पनि वर्तमान संकटका बेला योगदान गरिरहेको बताए।
एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले स्वयंसेवाका क्षेत्रमा युवा वर्गलाई प्रोत्साहन गर्दै फ्राइस्चिन र टुल्लीले व्यक्त गरेको चासो, समर्पण तथा प्रदान गरेको समयप्रति कृतज्ञता व्यक्त गरे।
उनले यस किसिमका अवसरले उद्यमशीलता तथा सीपमूलक शिक्षालाई प्रवद्र्धन गर्ने पनि बताए।
एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले यो अन्तरसञ्जाल सम्मेलनको प्रमुख उद्देश्य युवा वर्गलाई स्वयंसेवाप्रति प्रोत्साहन गर्नु मात्र नभई यस किसिमका सार्थक क्रियाकलापमार्फत उनीहरूको जीवनवृत्तिलाई प्रवद्र्धन गर्नु रहेको बताए।
उनले स्वयंसेवाप्रति अभिरुचि भएकालाई उक्त अन्तरसञ्जाल सम्मेलनको प्रमुख खण्डको अभिलेखीकृत सामग्री पछि उपलब्ध गराइने प्रतिज्ञासमेत गरे।
प्रयोगशालामा सञ्चालन हुने अनुसन्धानमा आधारित नवीन प्रकृतिका प्रत्यक्ष परियोजनाका माध्यमबाट एड्भान्स्ड कलेजले बहुआयामिक विद्यार्थीकेन्द्रित क्रियाकलापलाई विस्तृतीकरण गर्दै आएको बताएको छ।
उक्त अन्तरसञ्जाल सम्मेलनको सञ्चालन एड्भान्सड कलेजको रिसर्च एन्ड इनोभेसन एकाइकी सदस्य तथा नेपालकी प्रसिद्ध युवा वैज्ञानिक डा. प्रतिभा पाण्डेले गरेकी थिइन्। उनले नेतृत्व, आत्मविश्वास र समूह कार्यको सीप विकासद्वारा कसरी युवा वर्गको जीवनवृत्तिमा लाभ प्रदान गर्छ भन्ने विषयमा प्रस्ट पारेकी थिइन्।