
बुटवल– रूपन्देहीका विभिन्न उद्योगमा रहेका ५३८ वटा अक्सिजनका सिलिन्डर जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएर अस्पतालमा दिएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले १२ वटा स्टिल उद्योगमध्ये ८ वटा स्टिल उद्योगबाट ५ सय ३८ वटा अक्सिजन सिलिन्डर संकलन गरेर अस्पताललाई दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।
उनका अनुसार संकलितमध्ये केही खाली छन्। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसलाई एक सय वटा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ६८ वटा र भीम अस्पताल भैरहवालाई १५ वटा उपलब्ध गराइएको उनले बताए।
बाँकी अन्य सिलिन्डर अक्सिजन भर्न पठाइएको प्रजिअ तामाङले जानकारी दिए। रुपन्देहीमा संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन सिलिन्डरको अभाव छ।