
बागलुङ – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ। उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ।
संक्रमित भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए।
गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो।
बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यति धेरै जनामा संक्रमण देखिनु स्थानीयको हेलचेक्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए।
गाउँपालिकामा संक्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनुपर्ने कँडेलको भनाइ छ।
गाउँभर संक्रमण फैलिएपछि रोकथामका लागि आफूहरू लागिरहेको उनको भनाइ छ।
गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविक रूपमा संक्रमणको दर बढेको कँडेल बताउँछन्।
जलजला गाउँसँगै अन्य गाउँमा पनि संक्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरु गरेको बताए।
संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेसन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ।
विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए।
उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायत कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए।
‘अहिले संक्रमित भएकाहरू अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरूसँग सम्पर्कमा छन्’, उनले भने, ‘पछिल्लो समय गाउँमा भीडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरू पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ।’
गाउँ कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ। संक्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेसनमै राखिएको अध्यक्ष मगरको भनाइ छ। गाउँमा संक्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ।
अहिले संक्रमितलाई ज्वरो आउने तथा रुघा खोकीलगायत लक्षण देखिएको छ।
केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिस सहभागी भएको बताइएको छ।
उक्त विवाहमा करिब ४ सय सहभागी भएको स्थानीयको भनाइ छ। विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ।