
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लिन लागेको विश्वासको मत असफल भएमा पुनः प्रतिनिधिसभा भंग गर्नेबारे तयारी गरेको आशंकामा विपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्नेबारे छलफल तीब्र पारेका छन्।
विश्वासको मत सफल पार्न हाल आफूसँग असन्तुष्ट नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षलाई मनाउन सबै तहबाट प्रयास गरिरहेका ओलीले नेपाल पक्षले विश्वासको मत नदिएको खण्डमा आफ्नो बहिर्गमन निश्चित भएकाले त्यसबाट बच्न प्रतिनिधिसभा भंग गर्ने तयारी गरेको बुझिन्छ।
शनिबार पाँच बजे उनले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यो बैठकले कि प्रतिनिभिसभा भंगको सिफारिस गर्ने कि दुई दिन पछि निर्धारित संसद बैठक पर धकल्न सिफारिस गर्ने अड्कलबाजी तीब्र बनेको छ।
के शनिबारको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्छ? या संसद बैठक पर धकल्छ? जबाफमा केहीबेर अघि ओली सरकारका एक मन्त्रीले देशसञ्चारसँग भनेका छन्,‘मन्त्रिपरिषद् बैठकमा पनि सबै विकल्पबारे छलफल हुनेछ। हामीलाई संकटमा पारिएको छ। संकटबाट माथि उठ्न हामी सबै विकल्पबारे छलफल गछौँ र उचित निर्णय लिन्छौँ।’
ओलीले विश्वासको मत असफल हुने देखेमा संसद विघटन गर्ने आशंकामा परेपछि काँग्रेस र माओवादीले एकआपसमा र आन्तरिक छलफललाई तिब्रता दिएका छन्।
अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा छन् भने काँग्रेसको संसदीय दलको बैठक बसिरहेको छ।
शुक्रबार साँझ प्रचण्डले सभाुमख अग्नि सापकोटालाई ४० मिनेट भेटेर सिधै बुढानिलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न पुगेका थिए।
माओवादी उच्च स्रोतका अनुसार देउवा र प्रचण्डले २७ गतेसम्म चाल्न सक्ने प्रतिनिधिसभा पुनः विघटन, संसद अधिवेशन पर धकल्ने, दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने वा नेपाल पक्ष र जसपाको एउटा समूहलाई आफ्नो हातमा लिएर विश्वासको मत जित्ने जस्ता सबै सम्भावनाबारे गम्भीर छलफल गरेका थिए।
ओलीले आफ्नो सत्ता निरन्तरताका लागि यी मध्ये कुनै कदम चाल्नुपूर्व नै आफूहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्नेमा प्रचण्डले जोड दिएका थिए। देउवाले आफ्नो संसदीय दलको बैठकमा यसबारे गहन छलफल गरेपछि मात्रै निर्णय लिने कुरा प्रचण्डलाई बताएका थिए।

कांग्रेस संसदीय दल बैठक।
नेपाल पक्षका गरी एमालेका १२१ र जसपाका महन्थ ठाकुर पक्षका १४ जना सांसदले साथ पाए ओलीले विश्वासको मत जित्ने छन्।
नत्र उनको सत्ता बहिर्गमन हुनेछ। ओलीले नेपाल पक्षलाई मनाउने पछिल्लो चार दिन सबै किसिमको उपाय लगाएका छन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दोस्रो तहका नेताहरुलाई नेपाल पक्षलाई फकाउन खटाएका छन्। नेपाल पक्षका दोस्रो तहका नेताहरु पनि ओलीसँग सहमति भए एमाले बच्ने झिनो आशका साथ ओली पक्षसँग वार्ता गरिरहेका छन्।
तर यो समाचार तयार पर्दासम्म ओली र नेपालबीचको निर्णायक वार्ता निश्चित भएको छैन। र आगामी दिनमा ओलीसँग नेपालको सहमति हुने सम्भावना पनि निकै कम छ।
नेपाल पक्षका एक विश्वासनीय स्रोतले देशसञ्चारलाई भनेको छ,‘ओलीले हामीलाई अल्मल्याउने कोशिस मात्रै गरेका छन्। हाम्रा माग र अडान पुरा गर्न उनी इच्छुक छैनन्। यस्तो अवस्थामा उनलाई हामीले साथ दिन मिल्दैन। हाम्रा पछाडि तमाम नेता तथा कार्यकर्ताहरु उभिएका छन्। उनीहरुलाई हामीले धोका दिन मिल्दैन।’
ओलीविरुद्ध काँग्रेस र माओवादी मिलेर ल्याउने अविश्वासको प्रस्तावमा जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले साथ दिने निश्चित छ।