
काठमाडौँ – नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ।
नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विज्ञप्ति जारी गरी अक्सिजनको आपूर्ति र आवश्यक अस्पताल बेडको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौं उपत्यकाका कतिपय अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का बिरामीको उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
कोभिड–१९ को उपचारमा सरकार देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको उनको आरोप छ।
‘अक्सिजन अभावको गम्भीर समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न र आवश्यकताअनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिन्डरको आपूर्ति गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।