
काठमाडौँ – सूर्य नेपाल प्रालिले काठमाडौँका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ।
कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर प्रदान गरेको हो।
यी स्वास्थ्य सामग्री सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकलाई हस्तान्तरण गरिएको हो।
स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकको प्रतिनिधित्वसहित काठमाडौँस्थित एउटा गैरनाफामूलक संस्था ईजीबीओएसएले सहजीकरण गरेको थियो ।
विद्यमान कोभिड १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडीमा विभिन्न क्रियाकलापसमेत सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यस वर्षको सुरुमै कम्पनीले प्रत्येक प्रदेशलाई १ करोड रुपैयाँका दरले ७ वटै प्रदेशमा स्थापनमा गरिएको ‘कोभिड १९ उपचार तथा नियन्त्रण कोष’ मा योगदान गरेको थियो।